बुटवल ।
बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी आज दिउँसो औपचारिक रूपमा समापन हुने भएको छ । पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेकोमा समापनको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने निश्चित भएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।
आज अपरान्ह्र १ः१५ बजे हुने समापन समारोहमा प्रदर्शनी अवधिमा विभिन्न क्षेत्रका उत्कृष्टहरूलाई सम्मान गरिने उनले जानकारी दिए । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु गरिएको यो प्रदर्शनीमा नेपालमा मात्रै उत्पादन भएका वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो । ५ सय स्टलको तयारी गरिए पनि अन्तिम समयमा नेपालमा उत्पादन नभएका सामग्रीसमेत बेच्ने उद्देश्यले स्टल दर्ता गरेका व्यवसायीलाई स्थान नदिइएको वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता समितिका संयोजक जीवकान्त काफ्लेले बताए ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन ख्यातिप्रप्त राष्ट्रिय तथा यस क्षेत्रका कलाकारहरू, लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायत समेटिएको सांस्कृतिक समितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।
संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले प्रदर्शनी अन्तिम समयतिर धेरै अवलोकनकर्ताको घुइँचो लागेको जानकारी दिए । उपाध्यक्ष युवराज आचार्यका अनुसार प्रदर्शनीमा अवलोकनसँगै कारोबार पनि उस्तै बढेको छ । सुरक्षा उपसमिति संयोजक रहेका उनले प्रदर्शनी अवधिभर कुनै अप्रिय घटना नभएको जानकारी दिए ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तक्र्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तक्र्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिएको सचिव अशोक कुँवरले बताए ।
प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरूमा ३९ जिल्लाबाट सहभागिता रहेको र यी सबै स्वदेशी उद्योगहरू मात्रै रहेको प्रबन्धक यादव भण्डारीले जानकारी दिए । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएकोमा अन्तिम दिनसम्म त्यो लक्ष्यमा पुग्न सकिने अपेक्षा राखेको कोषाध्यक्ष विशाल वेलबासे जानकारी दिए ।
प्रदर्शनीको प्रचारप्रसार संयोजक किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूबाट सार्वजनिक गरिरहेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्