बैजनाथ गाउँपालिकाले बनायो तीन नयाँ कार्यविधि



कोहलपुर (बाँके) ।

जिल्लाको बैजनाथ गाउँपालिकाले नयाँ तीनवटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शिक्षासँग सम्बन्धित तीन वटा नयाँ कार्यविधि निर्माण गरेको हो । छात्रवृत्ति बैठक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि –२०८२, शिक्षक बैंक व्यवस्थापन कार्यविधि–२०८२ र बालविकास शिक्षक, विद्यालय सहायक र विद्यालय सहयोगी व्यवस्थापन कार्यविधि–२०८२ निर्माण गरिएको शाखाले जनाएको छ ।

शाखा प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत विष्णुुप्रसाद ढकालका अनुसार शिक्षा क्षेत्रमा रहेका विद्यमान समस्या समाधान र प्रोत्साहनका लागि नयाँ तीन वटा कार्यविधि एकैपटक निर्माण गरिएको हो । ‘यस वर्ष मात्रै शाखाले नयाँ तीन वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाको शिक्षा क्षेत्रमा रहेका समस्या समाधान र महत्वपूर्ण विषय समेटेर कार्यविधि निर्माण गरिएको छ,’ उनले भने ।

शाखाले कार्यविधि निर्माणका लागि गाउँपालिकाका विभिन्न सरोकारवाला निकायसँग छलफल, बहस, अन्तक्र्रिया र सुझाव संकलन गरेको थियो । सम्पूर्ण क्षेत्रको सल्लाह र सुझावका आधारमा शाखाले नयाँ कार्यविधि निर्माण गर्न सफल भएको उनको भनाइ छ । विद्यालयमा अध्ययनमा समस्या नहोस् र शैक्षिक विकासमा सघाउ पुगोस् भन्ने उद्देश्यले शिक्षक बैंक व्यवस्थापन कार्यविधि–२०८२ निर्माण गरिएको शाखा प्रमुख ढकालले बताए ।

‘शिक्षक बिरामी हुन्छन्, बिदामा बस्छन् । अन्य कारणले लामो समय बिदा बस्ने समस्या हुन्छ । पढाईमा समस्या नहोस् भनेर स्वयमसेवक शिक्षक राख्ने र पढाईमा समस्या नहोस् भनेर कार्यविधि निर्माण गरिएको हो,’ शाखा प्रमुख ढकालले मिसन टुडे दैनिकसँग भने । यस्तै गाउँपालिकामा रहेका विपन्न, आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई स्थानीय सरकार अभिभावक बन्ने र उनीहरूको पढाईमा सहजता ल्याउने उद्देश्यले छात्रवृत्ति बैठक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८२ निर्माण गरिएको हो ।

यस्तै, बालविकास शिक्षालाई प्रभावकारी बनाउने कार्यालय सहयोगी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले बालविकास शिक्षक, विद्यालय सहायक र विद्यालय सहयोगी व्यवस्थापन कार्यविधि–२०८२ निर्माण गरिएको उनको भनाइ छ । कार्यविधि निर्माण गरेर विधायन समितिमा पठाएको शाखाले जनाएको छ । विधायन समितिबाट कार्यविधि पास गर्न कार्यपालिका बैठकमा प्रस्तुत गरिनेछ । कार्यपालिकाले पास गरेपछि पुस महिनाकै अन्तिमदेखि तीन वटै कार्यविधि लागू हुने शाखा प्रमुख ढकालले बताए ।

यता, गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही चालू आर्थिक वर्षको अहिलेसम्म आधा दर्जन बढी कानुन निर्माण गरिएको बताए । उनका अनुसार गाउँपालिकाको विकास र आवश्यकतामा आधारमा कानुन, निर्देशिका र कार्यविधि निर्माण गरिएको छ । गाउँपालिकाले २०८२ सालमा मात्रै स्थानीय पूर्वाधार योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८२, गुनासो सम्बोधन तथा सुझाव व्यवस्थापन कार्यविधि–२०८२, उपभोक्ता समितिलाई निर्माण पूर्व र निर्माणपश्चात् अभिमुखीकरण सञ्चालन निर्देशिका–२०८२, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि–२०८२, स्थानीय अनुगमन तथा सुपरीक्षण कार्यविधि–२०८२ पूर्वाधार मर्मतसम्भार कोष तथा कार्य सञ्चालन कार्यविधि–२०८२, किसानसँग पालिका प्रमुख कृषि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बैजनाथ गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि–२०८२ निर्माण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार