बुटवल ।
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण रहेको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ । पुस ३ गतेदेखि सञ्चालन भएको प्रदर्शनीमा मंगलबार भएको फाइनलमा खस्यौलीले उपाधि जितेर ८८ हजार ८ सय ८८ रूपैयाँसहित प्रमाणपत्र पाएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार दोस्रोमा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रोमा दोहोरी गीत प्रतिष्ठान पाल्पा, सान्तवनामा दोहोरी गीत प्रतिष्ठान रुपन्देही बन्यो । दोस्रोले ४४ हजार ४ सय ४४, तेस्रोले २२ हजार २ सय २२ र सान्त्वनाले ११ हजार १ सय ११ रूपैयाँ रकम हात पारेका हुन ।
त्यसैगरी खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम पञ्चायन भजन मण्डली सैनामैना, दोस्रोमा कलौनी कान्तिपुर बोर्डिङ सैनामैना र राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान सुनवल, तेस्रोमा जनकल्याणकारी भजनकृतन समूह शुद्धोधन २ हिरापुर र देवदह भजनकृतन समूह रुपन्देही तथा सान्तवनातर्फ संगम प्रगति भजन समूह सैनामैना, कालमोचन शिवालय रामापुर सैनामैना, राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बुटवल, दुर्गा पञ्चायन मन्दिर भजन समूह कोटिहवा तिलोत्तमा, सिद्देश्वर शिवालय मन्दिर बुटवल ७ भएको संयोजक बस्यालले बताए ।
त्यसैगरी विद्यालयस्तरीय लोकनृत्यमा लुम्बिनी बोर्डिङ प्रथम, तिनाउ बोर्डिङ दोस्रो र अक्सफोर्ड बोर्डिङ तेस्रो भएका छन् । प्रदर्शनी आइडियलको भने बुधबार मात्रै टुंगो लाग्ने छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरू समेटिएको छ ।
संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा मंगलबार बिदाको दिन भएकाले बिहानैबाट थेगिनसक्नु भीड रहेको थियो । सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा अवलोकनसँगै आर्थिक कारोबार पनि उस्तै बढेको छ । उनले अन्य स्टलमा भन्दा महिला उद्यमीको स्टलमा धेरै भीड लागेको बताइन ।
घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरूलाई महिला उद्यमीहरूले प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिएको महासचिव सुमन बस्यालले बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले मंगलबार बिहानै देखिको शीतलहरको समस्या भए पनि निकै ठूलो सङ्ख्यामा अवलोकनकर्ताको भीड लागेको बताए । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरूमा ३९ जिल्लाबाट सहभागिता रहेको प्रबन्धक यादव भण्डारीले जानकारीले बताए ।









प्रतिक्रिया दिनुहोस्