होटल पौवाले निःशुल्क प्रवेशसहित नयाँ वर्षको सांगीतिक उत्सव मनाउने



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा आफ्ना पाहुनाहरूलाई निःशुल्क सांगीतिक उत्सव मनाउने अवसर दिने भएको छ । होटेल तथा रेस्टुरेष्टहरूले नयाँ वर्षको अवसरलाई व्यावसायिक रूपले सःशुल्क प्रवेशसहितको सांगीतिक कार्यक्रम आयोजना गरिरहेकोमा होटेल पौवाले भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल आइडलका विजेता गायक निशान भट्टराईसहित गायक करण परियार, गायिका सदिक्षा कट्टेललगायत स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने व्यवस्था मिलाइएको होटेल पौवाका जनरल म्यानेजर गिरीराज पाण्डेले जानकारी दिए । कार्यक्रमको सञ्चालन गायक दीप परियारले गर्नेछन् । मंगलबार आयोजित पत्रकार भेटघाटमा होटेल पौवाले नयाँ वर्षको पूर्वसन्ध्यामा आज पुस १६ गते बेलुकी विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भन्दै पायक पर्ने सबैलाई होटलमा आउन आह्वान गरिएको जानकारी दिइएको थियो ।

जनरल म्यानेजर पाण्डेले निःशुल्क प्रवेश गर्न पाइने र न्यूनतम एक सय रूपैयाँको खर्चमा खानाका परिकारहरूको स्वाद पनि लिन पाइने जानकारी दिए । ‘नयाँ वर्षको अवसरलाई पारिवारिक वातावरणमा मनाउन चाहनेहरूलाई हामी स्वागत गर्छाैँ । न्यूनतम एक सय रूपैयाँमा तपाईँले विभिन्न परिकारहरू खान पाउनुहुन्छ । इच्छुकहरूलाई हामी सपरिवार आमन्त्रण गर्दछौँ,’ उनले भने ।

कार्यक्रममा कुर्सीहरूसमेतको व्यवस्था रहने, आगो ताप्ने तथा रेस्टुरेष्टमा बसेरसमेत खानाको आनन्द लिन सकिने गरी व्यवस्था गरिएको पाण्डेले बताए । उनले होटल पौवाले सबै पर्व तथा उत्सवहरूमा पाहुनाहरूलाई सहज उपस्थितिको व्यवस्थापन गर्ने होटलको नीतिअनुरुप पौवाका सबै शाखाहरूमा निःशुल्क सांगीतिक कार्यक्रम हुने जानकारी दिए ।

उनले कार्यक्रममा विभिन्न वर्ग समुदायका कलाकारहरूलाई ठाउँ दिने उद्देश्यले पनि कलाकारहरूको संयोजन मिलाइएको जानकारी दिए ।कार्यक्रममा सुरक्षाको व्यवस्था पनि संवेदनशीलताका साथ गरिएकोले ढुक्क भएर परिवारसहित कार्यक्रममा सहभागी हुन पाण्डेले आग्रह गरे । हाल स्तरोन्नतिको प्रक्रियामा रहेको होटल पौवा नेपालगन्ज शाखा पाँचतारे होटलको तयारीमा रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार