साइकलको महाजात्रा ‘टुर डे पोखरा’



सतिश निरौला ।

साइकलमा रुचि बाल्यकालदेखि नै थियो । घरमै भएको साइकल होस् वा घरमा पाहुना आएकाहरूको साइकल वा छरछिमेकि कै किन नहोस् साइकल फेला प¥यो कि ‘कैची’ मार्दै पाइडल घुमाएर दुगुरिहालिन्थ्यो ।

बालापनमा साइकल कुँदाएका साइकल चलाउँदा पल्टिएर साइकल थिँचेको अनि चेन फुस्किएर असिनपसिन हुँदै चेन मिलाउँदा हातका औँला च्याँपिएको त्यस्ता थुप्रै सम्झनाहरू अलिअलि झलीको आइरहन्छ साइकल सम्झना साथ । सायद यिनै लगाव र प्रेम कै कारण अहिले साइकल अभियान र साइकल कुँदाउन औधी रुचि लाग्छ । फुर्सद हुनासाथ स्थानीय ठाँउहरू भ्रमणमा निस्किहाल्छु साइकल टिपेर । अब त बाँके र बर्दियाका बिरलै ठाउँहरू बचेका छन् सायद जहाँ म साइकल टिपेर पुगेको छैन ।

छिमेकी देश भारतको प्रसिद्ध पर्यटकीय ठाउँहरू श्रावस्ती, पुर्णागिरी, नैनीताल र कस्मीर साइकलमा डुल्दाका असंख्य रोमान्टिक सम्झनाहरू बटुल्न पाएको छु, नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य रारातालसम्म सुर्खेतबाट पाइडल मार्दै ५ दिन लगाएर साइकल र आफ्नो अगाडि लमतन्न रारा देख्दाको खुसी यति थियो कि सायद गीत वा कविता बुनेको भए त्यो उल्का हिट हुन्थ्यो होला ।

यसरी आफ्नो देशका थुप्रै सहर र ठाउँ पनि साइकलमा भ्याएसम्म डुलेको छु । अझै २०२४ मा त महाकालीको कुतियाकभरदेखि मेचीको केचनकवलसम्म १२ दिन लगाएर दुईजनाले चलाउन पर्ने ‘टेण्डम साइकल’ लिएर अर्का साइकलयात्री रमेश मल्लसँग साझेदारी गर्दै १११५ किलोमीटर लामो ‘महाकाली–मेची’ साइकलयात्रा त एउटा पुस्तक बराबर कै कथा र कहानीले भरिएको छ ।

पुसको कठ्याङ्ग्रिदो चिसो तराईमा बढेसँगै हिमालको फेँदमुसन रहेको नेपाल कै सुन्दर र अनुपम पर्यटकीय नगरी पोखराको साइकलयात्राको अवसर जु¥यो यही पुस ५ गते ‘साइकल सिटी पोखरा’ले आयोजना गरेको ‘टुर डे पोखरा’मा सहभागी बन्न । नेपालगन्जबाट मसहित अजय केसी, जीवनकुमार श्रेष्ठ, दिपेन्द्र बुढाथोकी र चिन्तामणि बुढाथोकी गरि ५ जनाको समूह नेपालगन्जको प्रतिनिधित्व गर्दै पुगियो पोखरा । पोखरालाई धेरै शब्दमा व्याख्या गर्नुभन्दा पनि नजिकैबाट देखिने हिमशृंखलाहरू अनि फेवातालसँगै सिङ्गो पोखरा घुमाई मनमस्तिष्कमा याद समेट्न नै पनि मुस्किल पर्ने छन् ।

शब्द त हाम्रो नेपालगन्ज कै गीतकार र गायक स्व. प्रेमप्रकास मल्ल मधुकरले गाउनुभएको नै छ– ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ । यस्तै यस्तै स्वर्गीय र सुखान्त अनुभूति गरियो २ रात र ३ दिने पोखरा बसाइँमा ।

साइकलको कार्यक्रममा देशभरका सबै सहर र ६३ जिल्लाबाट आएका झन्डै ५ सय साइकलयात्री सहभागी यो कार्यक्रम ‘साइकलको महाजात्रा’ नै देखिन्थ्यो । ७ वर्षको बच्चादेखि सबै उमेर समूहको युवायुवतीसँगै ७१ वर्षियसम्म अर्थात् नातिदेखि बाजे पुस्तासम्मको साइकलमा सहभागी अति नै अभूतपूर्व र अनुपम देखिन्थ्यो ।

पोखरा सभागृहमा जब पोखरामा छरिएर बसेका साइकलयात्रीहरू रातो ज्याकेट लगाएर एकाबिहानै पाइडल मार्दै लम्मेतानको लस्कर लाग्यो सायद पोखरा नै झस्कियो कि लौ कुन नयाँ क्रान्ति भयो पोखरामा ? हो साँच्चै यो क्रान्ति नै थियो साइकलको बिगुल फुक्दै थिए साइकलका पाइडल मार्दै पुष्कर शाह, छिमी गुरुङ, अजित बरालसँगै सयौँ बाल, किशोर, युवा, महिला र वृद्ध साइकलयात्रीहरू सफा र हरित सहरको, स्वस्थ र असल नेपालको, साइकल पर्यटनको थियो यो बिगुल, जसले सन्देश दिँदै थियो पर्यटनको एउटा सशक्त माध्यम नेपालका लागि साइकल पनि हो भन्दै । यसरी हामी दिनैभरी पोखरा सहर परिक्रमासँगै भुजुङ खोलासम्मको ५२ किलोमिटरको साइकलयात्रामा उकाली र ओराली गर्दै एकैदिन एकैपटक लाखौँ पाइडल मारियो पोखरामा ।

पोखरा प्रचारप्रसार गर्नै नपर्ने एक उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि साइकल सिटी पोखराले विगत ८ वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आइरहेको ‘टिर डे पोखरा आठौँ सस्करण’ले पोखराको पर्यटनलाई उचाइमा पु¥याउन एउटा इँटा थपेको छ ।

हिमालपारि मुस्ताङदेखि मेचीमहाकालीलाई एकैपटक साइकलको चेनमार्फत जोडिदियो यो साइकल इभेन्ट आयोजनाले । म पनि यो कार्यक्रम ८औँ संस्करण पुगिसक्दा पहिलोपटक सहभागी हुँदै अविस्मरणीय यादहरू बटुल्न त पाएँ नै, साथमा सयौँ साथीहरूसँग नयाँ सम्बन्ध बन्यो भने त्यति नै मात्रामा ‘सम्बन्धहरू नवीकरण’ पनि भए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार