पश्चिम नेपालको मुख्य आर्थिक गतिविधिका केन्द्र बाँकेका दुई सहरहरू नेपालगन्ज र कोहलपुरमा फस्टाइरहेको व्यावसायिक क्षेत्र पर्यटन पनि हो । पर्यटन उद्योगमा होटल व्यवसायका अलावा क्यासिनो र स्पासम्म फस्टाइरहँदा अर्र्बाैँ लगानी लगाइएका फन पार्कहरू भने संकटको समय सामना गरिरहेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।
पश्चिम नेपालको मुख्य आर्थिक गतिविधिका केन्द्र बाँकेका दुई सहरहरू नेपालगन्ज र कोहलपुरमा फस्टाइरहेको व्यावसायिक क्षेत्र पर्यटन पनि हो । पर्यटन उद्योगमा होटल व्यवसायका अलावा क्यासिनो र स्पासम्म फस्टाइरहँदा अर्र्बाैँ लगानी लगाइएका फन पार्कहरू भने संकटको समय सामना गरिरहेका छन् । करिब ७ वर्ष पहिले बाँकेको पर्यटन उद्योगका लागि नयाँ व्यवसायको रूपमै फन पार्कमा लगानीकर्ताहरूको प्रवेश भएको थियो ।
त्यसको सुरुवात भएको थियो नेपालगन्ज वडा नम्बर १४ बालेगाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिले वाटर फन पार्कको अवधारणमा थालेको कामबाट । जसको सञ्चालक थियो राजनीतिकर्मी पशुपतिदयाल मिश्रको परिवार । पशुपतिका छोरा ओमप्रकाश मिश्रको अगुवाइमा वाटरपार्कसहित, रेष्टुरेन्ट र केही साहसिक मनोरञ्जनका साधनसहित सञ्चालनमा ल्याएको उक्त पार्कमा पहिलो चरणमै करिब ४० करोड लागत लगाइएको बताइएको थियो । उक्त पार्क सञ्चालनमा आएको सुरुवाती वर्षहरूमा धेरैको ध्यानाकर्षण ग¥यो ।
कुनैबेला पार्क घुम्नका लागि टिकटको लाइनमा तछाडमछाड भइरहेको दृष्यले उक्त फन पार्कको व्यावसायिक भविष्य सुन्दर रहेको संकेत गरिरहेको थियो । तर, अहिले उक्त पार्कमा सन्नाटा छ । ठूलो लगानी गरेर निर्माण गरिएको उक्त पार्कमा अहिले सन्नाटा छाउनुका पछाडि मुख्य कारण सञ्चालक मिश्रको परिवारमाथि लागेको बैंक ठगीको अभियोग भनिएको छ । पशुपतिदयाल मिश्र र ओमप्रकाश मिश्रमाथि कर्णाली विकास बैंकमा भएको बंैक अपचलन मुद्दामा संलग्न रहेको आरोपसहित अहिले मदालतमा मुद्दा विचाराधीन छ ।
पशुपति पुर्पक्षका लागि थुनामा छन् भने ओमप्रकाश फरार छन् । बैंकबाट अनधिकृत रूपमा कर्जा लिएर उक्त पार्कमा लगाइएको अदालतमा दायर मुद्दामा आरोप लगाइएको छ । पार्कमा खटिएका एक कर्मचारीले अहिले पार्कमा कुनैपनि गतिविधि नचलिरहेको बताए । साढे तीन बिघा क्षेत्रफलमा फैलिएको मेरो प्लानेट वाटर पार्कमा २५ हजार वर्गफुटभन्दा ठूलो पानी पोखरी छ । त्यहाँ रेष्टुरेन्ट र बालबालिकाहरू रमाउनका लागि विभिन्न साधनका साथै सभा सम्मेलनका लागि बनाइएको व्यवस्थित र सुविधासम्पन्न हलका साथै पर्याप्त खुला मैदान अनि रेष्टुरेन्टसमेत छ।
मानसरोवरको झल्को दिने प्रतीकसहितको पोखरीमा विभिन्न मनोरञ्जनात्मक गतिविधि गर्न सकिने साधनहरूको व्यवस्था छ । तर, ती सबै साधनहरू अहिले प्रयोगविहीन छन् । ‘मालिकले गर्मी मौसमबाट फेरि सुरु गर्ने भन्नुभएको छ,’ ती कर्मचारीले भने । मेरो प्लानेटले ल्याएको जस्तै अवधारणाबाट प्रेरित भएर कोहलपुरमा करिब ३५ करोड लगानी गरी सञ्चालनमा ल्याइएको अर्काे पार्क हो, ह्याप्पी वल्र्ड वाटर फन पार्क । पश्चिम नेपालमा सफल व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्ताहरूको समूह उक्त पार्कमा हौसिएर लगानी गरेको थियो ।
करिब ६ बिघा क्षेत्रफलमा निर्माण भएको उक्त पार्कमा पहिलो चरणमै ३५ करोड बढीको लगानी गरिएको दाबी गरिएको थियो । तर, अहिले उक्त पार्क पनि सञ्चालनको सकंटमा परेर ऋण तिर्न नसक्ने अवस्थामा पुगेको छ । पार्कका सञ्चालकमध्ये एक वासु भण्डारी अब पार्कलाई पुनः नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन् ।
‘मुख्य कुरा सही व्यवस्थापन नभएर समस्या सिर्जना भएको हो । पहिले पार्कमा लगानीकर्ताको टिम थियो । अब त्यसका पार्टनरहरूमध्ये व्यवस्थापन गर्न सक्नेले लिएर सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको छ । मैले पनि पार्कको एक जिम्मा दिन प्रस्ताव राखिरहेको छु,’ भण्डारीले भने । भण्डारी बाँकेजस्तो गर्मी बढी हुने र भारतको नजिक रहेको ठाउँमा वाटरपार्क नचल्नुका पछाडि मुख्य कारण व्यवस्थापनकै भएको बताउँछन् ।
‘पार्कलाई बाह्रै महिना कसरी चलायमान बनाउने भनेर योजना बन्न सकेन । कोरोनापछिको समयमा कसरी पार्कलाई फेरि चर्चामा ल्याउने भन्नेमा चुक्दा समस्या सिर्जना भएको हो भन्ने मेरो बुझाइ छ,’ भण्डारीले भने । उनले बीचमा बैंकहरूले बढाएको ब्याजदरले पनि ठूलो लगानीको उक्त व्यवसायलाई असर पारेको बताए । उनले नेपालगन्जमा भारतीय पर्यटकहरूलाई मात्रै ध्यानमा राखेर गतिविधिहरू सञ्चालन गर्ने हो भनेपनि पार्कहरू चल्न सक्ने दाबी गर्छन् ।
लगभग एकै समयमा अझ बढी मनोरञ्जनात्मक गतिविधि गर्न मिल्ने साधनसहित सञ्चालनमा आएको नेपालगन्ज कोहलपुर सडकको किनारमै जानकी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ‘वन्डरल्याण्ड वाटर पार्क’ अहिलेको समयमा अरु पार्कको तुलनामा बढी चलायमान छ । तर, उक्त वाटरपार्कमा पनि सञ्चालनमा आएको वर्षजस्तो मानिसहरूको आवागमन छैन । यद्यपि पार्कलाई चलायमान बनाउन र मानिसहरूको आवागमन बढाउन थप योजनाहरू पनि निर्माण भइरहेको पार्कमा खटिएका कर्मचारी विष्णु उपाध्यायले जानकारी दिए ।
उनका अनुसार सञ्चालकहरूले अब रेष्टुरेन्ट पनि सञ्चालन गरेर मानिसहरूको आवागमन बढाउने योजना बनाइरहेको जानकारी पाएको बताए । वण्डरल्याण्ड पाटरपार्कमा पहिलो चरणमै ३० करोड बढी रूपैयाँ लगानी भएको दाबी गरिएको थियो । उक्त पार्कमा पानीका विभिन्न मनोरञ्जनात्मक गतिविधि गर्न मिल्ने ५० फिट उचाइको चिप्लेटी, १५ हजार वर्गफिट फराकिलो छाल पोखरी, २२ हजार वर्गफिटको स्प्लास पुल लगायतको पूर्वाधार छन् । मल्टी स्लाईड टु लेन, वडी वेभ स्लाईड, हाई स्पिड बडी स्लाईड, ओपेन बडी टर्निङ्ग स्लाईड, ओपन फल्ट स्लाईड, वेभ पूल, रेन डान्स, फाईभ प्लेटफर्म वाटर प्ले सिस्टमको व्यवस्था भएको एकमात्र फन पार्क हो ।
यस्तै सबै वाटर पार्कहरू भारतीय पर्यटकहरूलाई लक्षित गरेर निर्माण गरिएका थिए । यस्ता पार्कमा आउने पर्यटकहरूमध्ये आधाजति भारतीय पर्यटहरू हुने गरेका थिए । भारतको सीमावर्ती उत्तर प्रदेशका उपभोक्तालाई नियमित रूपमै नेपाल भ्रमणमा आकर्षित गर्न फन पार्कले भूमिका खेल्ने व्यवसायीहरूको अपेक्षा थियो । हुन पनि नेपालगन्जमा अहिले पनि पर्यटकहरूको ठूलो सङ्ख्या भारतीयहरूको छ । यहाँका क्यासिनोहरू भारतीयहरूकै लागि मात्रै खुला छन् ।
उनीहरूले नै चलाएका छन् । यसका साथै मानसरोवर पदयात्रामा जाने भारतीय पर्यटकको आगमनका कारण पर्यटकीय सिजनमा नेपालगन्जको होटलमा पर्यटक भरिभराउ हुन्छन् । यहाँको मल्टिप्लेक्स सिनेमा घरहरूमा पनि भारतीयहरूको ठूलो आवागमन भइरहेको छ । पर्यटन अभियन्ता श्रीराम सिग्देल फन पार्कहरूले स्वदेशी र विदेशी पर्यटकको नेपालगन्ज बसाइँ लम्ब्याउन टेवा पु¥याउने भएको यहाँको पर्यटन उद्योगका लागि जरुरी रहेको बताउँछन् ।
तर, अहिले भएको जति फनपार्क आवश्यक थिए कि थिएनन् भन्ने गहिरो अध्ययन नहुँदा व्यवसायले अपेक्षाकृत प्रगति गर्न नसकेको हुनसक्ने उनले बताए । ‘कोरोनाले पनि केही असर पक्कै पारेको होला । तर, मुख्य कुरा लगानी गर्दा कुन हदसम्मको सम्भाव्यता छ, यहाँका मानिसहरूको खर्च गर्ने बानी कस्तो छ भन्ने अध्ययन भएन कि अथवा व्यस्थापनमा केही कमजोरी भए कि भन्ने लाग्छ । नेपालगन्ज यस्ता खालका पर्यटन व्यवसायका लागि सम्भावना नभएको ठाउँ भने होइन ।’
व्यवसायी भण्डारी पनि फन पार्कजस्ता पूर्वाधारहरूले सहरको आर्थिक विकास र समृद्धिमा टेवा पु¥याउने पूर्वाधारहरू भएको बताउँछन् ।उनले अहिले भएको फन पार्कहरू चल्नसक्ने पर्याप्त सम्भावना रहेको पनि दाबी गरे । भण्डारीले भने, ‘हामीकहाँ भारतीय पर्यटकहरूको ठूलो लाभ लिन सकिने ठाउँ छ । यहाँ शनिबार र आइतबार गरी हप्तामा दुई दिन सप्ताह बिदाको लाभ लिन सकिन्छ । अनि वर्षैभरी विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न सकियो भने अहिले भएको सङ्ख्यामा पार्कहरू धान्नै नसकिने होइन भन्ने मलाई लाग्छ ।’








प्रतिक्रिया दिनुहोस्