सामाजिक परीक्षण तथा सल्लाहकार समितिको बैठक सम्पन्न



पहल केसी । नेपालगन्ज ।

साइनिङ अस्पताल आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षता र विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको हो । कुष्ठरोग निवारणमा विभिन्न सेवा दिँदै आएको साइनिङ अस्पताल आइएनएफ नेपाल बाँकेका प्रमुख मंगलबहादुर थारुले गत आवमा भए गरेका काम तथा प्रगतिको प्रतिबेदन बैठकमा प्रस्तुत गरेका थिए ।

अस्पताल प्रमुख थारुले नेपाल कुष्ठरोग निवारण भइसक्दा पनि यो रोग नेपालमा उच्च जोखिममा रहेको बताए । नेपालको सन्दर्भमा बाँके उच्च जोखिममा रहेको उनले बताए । सो अवसरमा थारुले सम्बद्ध सरोकारवाला निकायसमक्ष सबै एक भएर जुट्न आग्रह गरे । गत आवमा अस्पतालले आफ्नो बहिरंग सेवामार्फत १८ हजार ९ सय ८ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने अन्तरंग सेवामार्फत अस्पतालले विभिन्न जिल्लाका १ सय ६४ जनालाई भर्ना गरी निःशुल्क सेवा दिएको छ । अस्पतालमा आएका बिरामी कुष्ठरोग निदान सम्बन्धित परीक्षण स्लिट स्किन स्मिएर जाँच ११ सय ५ वटा र अन्य प्रयोगशाला परीक्षण २९ हजार एक सय १८ वटा गरिएको छ ।

१ सय ७४ जना नयाँ कुष्ठरोगी निदान गरिएको थियो । जसमा अधिकांश बाँके जिल्लाका रहेका छन् । अस्पतालले बिरामीको अपांगता रोकथाम तथा उपचारको लागि विशेष ध्यान दिँदै नियमित रुपमा नशाको कार्य क्षमताको जाँच गर्ने गरेको छ । ३७ जना बिरामीहरुको स्वयम् हेरचाहसम्बन्धी तालिम प्रदान गर्दै १ सय ८८ जना बिरामीहरुलाई निःशुल्क जुत्ता उपलब्ध गराएको छ ।

अस्पतालले शंकास्पद बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरी लक्षण देखिएका बिरामीहरुलाई थप उपचार तथा परीक्षणको लागि साइनिङ अस्पतालमा ल्याइएको छ । दूरदराजमा रहेका नागरिक यो रोगबाट जोगिन समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविरसमेत सञ्चालन गरिएको थियो । आइएनएफ नेपालले अस्पतालमा सम्बद्ध स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरेको छ ।

अस्पतालले प्रस्तुत गरेको प्रगति प्रतिबेदनअनुसार लक्ष्यभन्दा प्रगति धेरै भएको छ । आम्दानीमा अनुदानस्वरुप प्राप्त आम्दानी, स्थानीय कारोबार आम्दानी गरी कूल ४ करोड ५२ लाख ५७ हजार ४९ रुपैयाँ आम्दानी रहेको छ । यस्तै प्रगति ७ करोड ३४ लाख ६२ हजार ५ सय ७५ रहेको छ । त्यस्तै आम्दानीको खर्चतर्फ ४ करोड ५५ लाख ५ हजार ७ सय ८८ रुपैयाँ छ भने प्रगतितर्फ ६ करोड २३ लाख ९१ हजार ४ सय ८८ रुपैयाँ रहेको छ ।

बिरामीहरुको उपचार तथा हेरचाहको लागि अनुमान गरिएको भन्दा बढी खर्च हुने गरेको अस्पताल प्रमुख थारुले जानकारी दिए । बैठकमा लामो समयसम्म अस्पतालमा भर्ना भई कुष्ठरोगबाट ग्रसित बिरामीहरुको अनुभव र भोगाइ स्वयम् बिरामीहरुले नै सुनाएका थिए । बैठकमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले परम्परागत रुपमा यो रोगले आफ्नो परिवार पूर्ण परिचित भएको बतााउँदै आगामी दिनमा कुष्ठरोग निवारणको लागि आफूले सबै खालका काम गर्न तयार भएको बताए ।

उनले पालिकाका ८ वटै वडामा कुष्ठरोग निवारण र सचेतनाका लागि विभिन्न शिविर सञ्चाल गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला समन्वय समिति प्रमुख चौधरीले जिल्लामा कुष्ठरोग निवारण र निदान भएका बिरामीहरुका लागि जुनसुकै सहयोग तथा सहकार्य समन्वय गर्न तयार रहेको बताए । बैठकमा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार