डेढ वर्षमै टुक्रियो जसपा



आइतबार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित जसपा केन्द्रीय कार्यकारिणी समितिका ६ जना नेताले नेकपासँग समाहित हुने जानकारी पार्टी नेतृत्वलाई दिएका छन् । २०८१ वैशाखमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट फुटेर बनेको जसपा डेढ वर्षमै फुटेको छ ।

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । २०८१ वैशाखमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट फुटेर बनेको जसपा डेढ वर्षमै फुटेको हो । अशोक राईको नेतृत्वमा रहेको जसपाले पछिल्लोपटक पार्टीसँग विचार मिल्ने पार्टीसँग एकता र मोर्चाबन्दीको प्रयास गरेको थियो । सो पार्टीले खासगरी नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता र मधेशवादी दलसँग मोर्चाबन्दीको प्रयास गरेको थियो ।

तीन पूर्वप्रधानमन्त्रीसहित देशकै ठूलो कम्युनिस्ट घटक बनेको नेकपाका संयोजक पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताका लागि औपचारिक प्रस्ताव नै गरेको थियो । सो प्रस्तावपछि जसपा अध्यक्ष अशोक राईले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए । दुई दिनसम्म चलेको बैठकमा स्पष्ट रूपमा दुई धार देखिएको थियो । पूर्वकम्युनिस्ट धारबाट जसपा आएका नेताहरूले नेकपासँग एकता गर्न उपयुक्त हुने विचार राखेका थिए ।

मधेसवादी दलबाट विगतमा राजनीति गर्दै आएका नेताहरूले मधेसकेन्द्रित दलहरूसँग मिल्नुपर्ने अडान लिए । बैठकमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकताको पक्षमा देखिए । तर, महासचिव मो. इस्तियाक राई र उपमहासचिव प्रदीप यादव त्यसमा सहमत देखिएनन् । दुई समूहको असहमतिका बाबजुद जसपाको कार्यकारिणी समितिको बैठकले अन्य दलसँग संवाद गर्न कार्यदल गठन ग¥यो । कार्यदलका संयोजक राजेन्द्र श्रेष्ठ बने ।

श्रेष्ठ संयोजक रहेको समितिले नेकपासँग एकताका लागि दुई तीनपटक संवादसमेत गरेको थियो । समिति र नेकपाबीच एकताको लागि सहमतिसमेत भएको थियो । अर्कातिर महासचिव राईसहितका नेताले विरोधसमेत गरिरहेका थिए । नेकपाभन्दा मधेशवादी दलसँग एकता गर्नुपर्ने पक्षमा राई पक्ष थियो । पार्टी अध्यक्ष अशोक राईले पार्टीभित्रको दुई धारको व्यवस्थापन गर्न नसकेपछि अन्तत पार्टी नै फुटेको छ । आइतबार संवाद समितिका संयोजक श्रेष्ठसहित जसपा केन्द्रीय कार्यकारिणी समितिका ६ जना नेताले नेकपासँग समाहित हुने जानकारी पार्टी नेतृत्वलाई दिएका छन् ।

नेकपामा समाहित हुने नेताहरूमा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत, जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् । जेनजी आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा, तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएकोमा बैठक नै नबोलाएर अनिर्णित बनाइएको संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेताले हस्ताक्षर गरेको जानकारीपत्रमा उल्लेख छ ।

पार्टी औपचारिक रूपमा विभाजन भएपछि नेकपासँग समाहित हुने निर्णय गरेका श्रेष्ठले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै पार्टी छोडेको बताएका छन् । आफ्नो वैचारिक धार र देशको वर्तमान राजनीतिक आवश्यकताका कारण आफू नेकपामा समाहित हुन लागेको उनको भनाइ छ । नेता श्रेष्ठले आफूहरूको निर्णयलाई वैचारिक ध्रुवीकरणको प्राकृतिक कदम भएको दाबी गरेका छन् । योसँगै नेता श्रेष्ठले अशोक राईसँगको ४० वर्षे सहकार्यमा पूर्णविराम लगाएका छन् ।

यता जसपा महासचिव मोहम्मद इस्तियाक राईले बहुमत पु¥याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गएको टिप्पणी गरेका छन् । ‘बहुमत जुटाउन खोज्नुभएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको पत्र भन्ने पत्र बुझाएर जानुभएको छ,’ राईले भने । राईका अनुसार बृहत् धुव्रीकरणका लागि संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूबीच छलफल चलिरहेको छ ।

जसपा नेपाल विभाजन गरेर अशोक राईले २०८१ वैशाखमा नयाँ पार्टी बनाएका थिए । पार्टी विभाजनमा बहुमत प्रतिनिधिसभा सदस्य जसपातिर लागेका थिए । उपेन्द्र यादव पक्षमा पाँच सांसद रहँदा राईले ७ सांसदलाई आफ्नो पक्षमा ल्याएका थिए । ३१ जना केन्द्रीय सदस्य लिएर राईको नेतृत्वमा जसपा दर्ता गरिएको थियो ।

तीन दल जाँतो चिह्नमा चुनाव लड्ने

जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरूले नेकपामा समाहित हुने निर्णय गरेकै दिन जसपा अध्यक्ष अशोककुमार राईले राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् ।

तीन पार्टीबीच भएको सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौँ, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौँ ।’ विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेको उनीहरूले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार