कोहलपुर ।
कोहलपुरमा खानेपानीको दीर्घकालीन समस्या समाधानमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । दिनप्रतिदिन खानेपानीको समस्या बढ्दै गएकाले दीर्घकालीनरूपमा समस्या समाधानमा गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् । शनिबार कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाको १०औँ वार्षिक साधारणसभामा बोल्ने प्रायः सबैले खानेपानीको समस्या बढ्दै गएकाले दीर्घकालीनरूपमा समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पछिल्लो समय जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको समस्या पनि बढ्दै गएको बताए । पछिल्लो समय सबैभन्दा धेरै र ठूलो दीर्घकालीन समस्या भनेकै खानेपानी रहेको उनको भनाइ थियो । उनले जथाभावी मोटर र पम्पहरू गाढ्ने प्रवृत्तिले पनि भूमिगत पानीको अभाव हुँदै गएको बताए । दीर्घकालीनरूपमा खानेपानीको समस्या समाधान गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ निर्वाचित समिति निर्वाचित भएर आएबाट राम्रो काम गर्दै आएको र अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । अहिले पनि खानेपानीका सामान्य समस्या भए पनि पहिलाको जसरी विकराल अवस्था भने नरहेको उनको भनाइ थियो । स्थानीय सरकारको तर्फबाट सक्ने र क्षमताले भ्याएसम्म संस्थालाई सहयोग गर्दै आएको उनले बताए । उपभोक्ता संस्था नागरिकसँग प्रत्यक्ष जोडिएको संस्था रहेकाले अझ प्रभावकारीरूपमा अघि बढ्नु पर्ने कुरामा उनले जोड दिए ।
पूर्वनगरप्रमुख तथा संस्थाका संस्थापक लुटबहादुर रावतले बाँकेको पहिलो खानेपानी संस्था कोहलपुर बृहत् शहरी खानेपानी रहेको उल्लेख गर्दै विगत सम्झँदै उनले अनेकौँ आरोहअवरोह पार गर्दै संस्था स्थापना गरेर यहाँसम्म पुगेको बताए । अहिले पनि कोहलपुर बजार क्षेत्रमा समेत पानी अभाव रहेकाले यसको समाधान र १५ वटा वडामा खानोपानी पुग्नेगरी दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने कुरामा उनको जोड थियो ।
अहिले धारा जडान भएका घरमा पनि केही समय मात्रै खानेपानी उपलब्ध हुने गरेकाले २४ घण्टै उपलब्ध गराउने गरी काम गर्न आग्रह गरे ।निर्वाचित भएर आएको २ वर्षमा विगतमा भएका समस्याहरू क्रमशः समाधान गर्दै आएको कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले बताए । संस्थाको आर्थिक अवस्था निकै कमजोर रहेकोमा अहिले आर्थिक स्रोत बढाएर खर्च घटाउँदै लगिएको पनि उनले जानकारी दिए ।
नेपाल सरकारको खानेपानीप्रतिको विभेदकारी नीतिले खानेपानी संस्थाको विकास हुन नसकेको दुखेसो पोख्दै उनले अहिले भएको स्रोत र साधनबाट उपभोक्ताहरूलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन लागिपरेको बताए । कोहलपुरमा बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै खानेपानीको समस्या बढ्दै गएकाले त्यसको समाधानका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनको भनाइ थियो । तीनै तहको सरकारसँग सहकार्य र सहयोगमा त्यसतर्फ अघि बढ्ने उनले बताए ।
उपभोक्ता संस्थाको १०औँ वार्षिक साधारणसभामा बोल्ने सबै वक्ताहरूले खानेपानीको समस्या बढ्दो रहेकाले दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिएका थिए । उनीहरूले कोहलपुर नगरपालिकाभित्र छरिएर रहेका खानेपानी एकद्वार प्रणालीबाट वितरण गर्न आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्