शिवु खनाल । दाङ ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीकै अति व्यस्त सहर हो लमही । यहाँका सडकमा दोहोरो सवारीसाधनको ताँती हुन्छन् ।यस्तो व्यस्त सहरको व्यस्त बजार मानिएको नयाँ सडकको छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारीसाधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढंगले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।
पार्किङको सुविधा नहुँदा सवारी चालकसमेत मारमा पर्ने गरेका छन् । पार्किङको समुचित संरचना निर्माणमा सरोकारवालाले चासो नदिँदा यो समस्या क्रमशः भयावह हुँदै गएको छ । पैदलयात्रीलाई हिँड्न निषेधजस्तै गरेर नगरपालिकाले दुई पाङ्ग्रे सवारीसाधनलाई व्यस्त सहरको साँघुरा बजार क्षेत्रमा पार्किङको स्वीकृति दिएको छ । कतिपय सरकारी कार्यालयमा आवश्यक सवारी पार्किङको व्यवस्थासमेत गरिएको पाइँदैन । लमहीको बैंक रोड, शाहामार्ग, कान्छी रोड, पिसिओ रोड, कोइलाबास रोड, बसपार्क क्षेत्र, धमिलाबोटमा पार्किङको समस्या छ ।
यातायात कार्यालयमा दर्ता भएका अधिकांश सवारीसाधन पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै लमहीको बजार क्षेत्रका विभिन्न व्यस्त सडकमा गुड्छन्। आवश्यक परेको बेलामा सार्वजनिक सवारी नपाइने भएकाले पनि अधिकांश नागरिकले निजी सवारी र त्यसमा पनि दुई पाङ्ग्रे किन्नेतर्फ आकर्षित देखिएका छन् । तर, पार्किङको भरपर्दो व्यवस्थापन गरेको देखिँदैन । सडक किनारका घरधनीले पनि पार्किङ क्षेत्र राखेर घर बनाएको देखिँदैन । सटर वा घर भाडामा लिएर व्यवसाय गर्ने र सामान खरिद गर्न जाने उपभोक्ताहरूको पार्किङस्थल सडकनै बन्न पुगेको छ ।
पार्किङ निषेधित क्षेत्र तोकिएका स्थानमा समेत दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गरिएको पाइन्छ । सवारीसाधन किन्नेको चाप बर्सेनि बढ्दै गएको छ तर पार्किङको समस्या समाधान गर्नेतर्फ सम्बन्धित निकायको चासो नै देखिँदैन । निजी सवारीको चाप बढ्दा घण्टौँ ट्राफिक जाममा बस्नुपर्ने बाध्यता अर्कोतिर छ । यता, सडकमार्गमा सवारी जाम बढ्नाले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको लमहीमा सवारीसाधन पार्किङको अभाव रहेको र यसलाई व्यवस्थापन गर्न निकै कठिनाइ भएको अस्थायी ट्राफिक पोष्ट लमहीका ट्राफिक प्रमुख माधव रावत बताउँछन् ।
‘जबसम्म पार्किङको दिगो व्यवस्थापन गर्न सकिँदैन् तबसम्म यो समस्या बल्झिरहन्छ,’ उनले भने, ‘लमहीको ट्राफिक व्यवस्था तत्काल सुधार्न सक्ने स्थिति नरहेको सरोकारवाला सबै पक्षले अनौपचारिक रूपमा बताउँदै आएका छन् ।’ अधिकांश सवारी सडकमै पार्किङ गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको उनले बताए । यात्रुवाहक सवारीले यात्रु झार्नेदेखि चढाउने र भारवाहन सवारीले सरसामान लोडअनलोड गर्ने काम सडकमै गर्ने भएकाले पनि समस्या देखिएको उनको भनाइ छ । यतिमात्र नभएर कतिपय पसलले सडकमै सरसामान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले लमही क्षेत्रमा सवारीसाधन चलाउन निकै समस्या भइरहेको छ ।
यसैगरी बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडक र भित्री सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालकहरू बताउँछन् । देउखुरीकै प्रमुख व्यापारिक केन्द्र लमही बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले हाल चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालि लमही काउन्टर इन्चार्ज कृष्ण रसाइलीले जानकारी दिए ।
पार्किङ व्यवस्थित गरिँदै
लमही नगरपालिकाले चाडपर्वलाई मध्यनजर गर्दै बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ । साँघुरो सडकमा सवारीसाधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँदा त्यसलाई मध्यनजर गरेर पार्किङ व्यवस्थापन गर्न थालेको लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले जानकारी दिए ।
‘चाडपर्वमा बजार क्षेत्रमा सामान किनमेल गर्नेको भीडभाड बढ्ने, जथाभावी रोकेर सवारीसाधन राख्दा दुर्घटनाको डर बढ्यो, बजारमा जनघनत्व दैनिक बढिरहेको हँुदा पार्किङ व्यवस्थापनको योजनालाई अगाडी बढाएका हाँै,’ नगरप्रमुख चौधरीले भने, ‘नियमविपरीत कार्य कसैले गरेमा ट्राफिक कारबाही हुनेछ ।’
घर अगाडिको सडकमा सवारीसाधन तथा पैदलयात्रुको आवतजावतमा समेत प्रभाव पार्ने गरी निर्माणजन्य सामग्री, पसलका सामान, पसलको बोर्ड, फोहोर डष्टबिन नराख्न देउखुरी उद्योग वाणिज्य संघ लमहीले अनुरोध गरेको छ । लमही नगरपालिकाले विभिन्न स्थानमा जानकारीका लागि सूचना बोर्ड राख्न आवश्यक रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताए ।
अस्तव्यस्त सवारीसाधन पार्किङले दुर्घटनाको जोखिम र बजारको सौन्दर्य नै नराम्रो बनाएको उनको भनाइ छ । ‘बजार बिस्तार हुँदै जाँदा दैनिक भीडभाड बढेको छ, सवारीसाधनका सङ्ख्या पनि उत्तिकै बढेकै छन्, जथाभावीरूपमा गाडी रोकेर राख्नेलाई कारबाही पनि छैन्, यसमा स्थानीय सरकार, प्रहरी र प्रशासनले कडाइ गर्नुपर्छ ।’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्