क्याफे कवितामा रसिक र विद्याको दमदार प्रस्तुति



नेपालगन्ज ।

जबदेखि बयरको दाना सिट्ठीभित्र पसेको छ
प्रत्येक सासको निष्काशनमा निकै चर्काेगरी रुन्छ कोही
भन्नेहरूका अनुसार
रुवाइको त्यो कारुणिक आवाज
सिट्ठीको होइन
बयरको दानाको पनि होइन
त्यो त्यही बालकको हो
जसले बाँचुञ्जेल भोक लाग्यो भनेर बोल्नै सकेन

कवि रसिक राजले सिट्ठीको आवाजलाई भोको बालकको चिच्याहटमा प्रतिविम्बित गरेर भोकको भयानकता दर्शाउँदै रचेको ‘बयरको दाना’ शीर्षकको कविता सुनाउँदा कोहलपुरको एउटा सभाहल तालिले गुञ्जियो । स्रोताहरूको मुखबाट निस्कियो, ‘वाह कविता’ । पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘क्याफे कविता’को अंक ३ मा अर्की कवि विद्याश्री सिंहसँगै कविता लिएर मञ्चमा प्रस्तुत भएका थिए कवि रसिक । नेपालगन्ज निवासी कवि रसिक काठमाडौँमा बसेर कलाकर्ममा अभ्यस्त छन् ।

ललितकलामा स्नातकोत्तर गरेका कवि रसिकले पहिलोपटक गृहजिल्लामा विशेष कविता वाचनको मञ्चमा कविता प्रस्तुत गरेका हुन् ।व्यवसायिक चित्रकलामा रहेका कवि रसिक आफ्ना कवितामा पनि दृश्यविम्ब प्रयोग गर्न रुचाउने गरेको बताउँछन् । उनले क्याफे कवितामा सुनाएका कवितामा त्यसको झल्को देखिएको थियो । उनले वाचन गरेका कवितामा भोक, अभाव र अन्यायले सिर्जित आघातको अनुभूति प्रधान भएर आएको थियो ।

यसैगरी कार्यक्रममा कवि विद्याश्रीले नारीवादी दृष्टिकोणप्रधान कविता वाचन गरेकी थिइन् । उनले छाडा आइमाई शीर्षकको कवितामा भनिन्,
सधैँ निहुरीरहने परेला
कहिल्यै ठाडो भएर उभिन नजानेको गर्धन
मेरो आदर्श होइन
मलाई आँखाहरूको संवाद मन पर्छ

जाजरकोट निवासी कवि सिंहका कविताले पनि कार्यक्रममा सहभागीहरूलाई प्रभावित गरेको प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी कवि कुशल न्यौपानेले लामो समयपछि मञ्चमा शक्तिशाली कविता सुन्न पाएको भन्दै खुसी व्यक्त गरे । पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले क्याफे कविता युवा पुस्ताका कविहरूलाई लक्षित गरेर आयोजना हुँदै आएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।क्याफे कविताको पहिलो अंकमा कविद्वय दोस्ताज र प्रतिभा, दोस्रो अंकमा कविद्वय हेमप्रकाश मन्जिल र कल्पना पलकले कविता वाचन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार