झापामा अन्तर्राष्ट्रिय महिला फुटबल हुँदै



झापा ।

शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा बिजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गरिने गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

उनले महिला फुटबल प्रतियोगिताको इतिहासमा यो पुरस्कार नेपालमै सर्वाधिक राशिको भएको दाबी गरे । प्रतियोगिताको उपविजेतालाई नगद रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने उनले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही नगद रु २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा नेपाल, भारत र भूटानका आठ वटा महिला फुटबल टोलीको सहभागिता रहने जनाइएको छ । नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुङ्गो लागि सकेको उनले बताए ।

भारतको एउटा टोली र भूटानको अर्को टोलीले प्रतियोगितामा भाग लिनेछन् भने नेपालका ‘ए’ डिभिजनका तीन वटा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । महिला खेलाडीलाई प्रोत्साहन गर्दै महिला खेलाडी उत्पादनमा टेवा पु¥याउने र उनीहरूका लागि निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउन पहल गर्ने आयोजकको उद्देश्य रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार