बाँके– २ मा नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर !



फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट २० जना उम्मेदवार छन् । यसमा मुख्य दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र साना दलका प्रतिनिधिहरू समेत मैदानमा छन् । यसपालि मैदानमा रहेका प्रमुख पार्टीका उम्मेदवारहरूमा गजबको समानता छ । त्यो भनेको अधिकांश युवा अनि नयाँ छन् । यो क्षेत्रबाट राष्ट्रिय उचाइमा आफूलाई उभ्याएकामध्ये एक नेताले यसपालिको चुनावी मैदान छाडिसकेका छन् ।

तुला अधिकारी । बाँके ।

निर्वाचनलाई नेपालगन्जको स्थानीय लवजमा ‘चुनाउ’ भनिन्छ । २ वर्षअघि नै अकस्मात आइलागेको फागुन २१ गतेको चुनाउमा यसपालि पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जले कसलाई चुनेर पठाउला ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । नेपालगन्ज बाँकेको २ नम्बर क्षेत्रमा पर्छ । बाँकेका डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नम्बर २ मा पर्छन् ।

५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कूल एक लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् । नेपालगन्जको चुनाउ राष्ट्रिय राजनीतिको चासोमा पनि छ । नेपालगन्ज मुलुकको ठूलो र सबैभन्दा पुरानो दल नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको चुनाउ क्षेत्र हो ।

पश्चिम नेपालको प्रमुख हव नेपालगन्जले समग्र पश्चिम क्षेत्रमा एउटा सन्देश दिन सक्छ । बहुभाषा, बहुसंस्कृति र बहुसमुदाय भएको नेपालगन्जको मतपरिणामले आफैँमा एकभन्दा बढी निर्वाचन क्षेत्रको प्रतिनिधित्वको सन्देश दिने ओज राख्छ । यद्यपि नेपालगन्जले सुशील कोइराला जत्तिको उचाइ छुने नेता पाउने सम्भावना तत्काल देखिन्न । कुनै पनि पार्टीको मैदानमा यति लामो रेसका घोडा देखिएका छैनन्, जसले त्यो उचाइ लिनसक्ने विश्वास जगाउन सकुन् ।

त्यो तहको राजनीतिक छवी, सुझवुझ र नेटवर्क भएको व्यक्ति कुनै पार्टीमा देखिएको छैन । नेपालगन्जमा व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका सवाल छन् । भारतसँगको खुलासीमा क्षेत्रका बासिन्दाहरूले सुरक्षा, चोरी, तस्करी, सडक, बिजुली, सिँचाइ र पूर्वाधारजस्ता विषयमा नेताहरूसँग सुधार अपेक्षा गर्छन् । उपमहानगर भनिए पनि अधिकांश वडामा न्यूनतम सुविधा पुगेको छैन । युवा वर्गका मतदाताहरूले रोजगारी, उद्यम तथा व्यापारमा नीतिगत सुधारको प्राथमिकता खोजेका छन् ।

हरेक चुनाउपछि बदलावको आशा राखे पनि ती एजेण्डा नफेरिएको उनीहरूको गुनासो छ । फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रबाट २० जना उम्मेदवार छन् । यसमा मुख्य दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र साना दलका प्रतिनिधिहरू समेत मैदानमा छन् । यसपालि मैदानमा रहेका प्रमुख पार्टीका उम्मेदवारहरूमा गजबको समानता छ । त्यो भनेको अधिकांश युवा अनि नयाँ छन् ।

यो क्षेत्रबाट राष्ट्रिय उचाइमा आफूलाई उभ्याएकामध्ये एक नेताले यसपालिको चुनावी मैदान छाडिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेर राणा चुनावमा उठेनन् । सुशील कोइरालाको निधनपछि यो क्षेत्रमा हेभिवेट नेता छैनन् ।भएकामध्ये अलिमाथि पुगेका धवल र इस्तियाक राई हुन् । धवलले यसपालि चुनावी मैदान छाडेपछि जिल्ला बाहिरसम्म उचाइ र अनुभव भएका इस्तियाक बाँकी छन् । उनी २ पटक सांसद र २ पटक मन्त्री भैसकेका छन् ।

विगतका चुनावको समीक्षा गर्ने हो भने सुरुमा जिल्लाभर एउटै पार्टीले झण्डा गाडेको देखिन्छ । २०४८ सालको आम चुनावमा बाँकेका तीनै सिटमा काँग्रेसले जित्यो । २०५१ मा जिल्लाका तीनै सीटमा राप्रपाले जित्यो । फेरि २०५६ मा काँग्रेसले तीनै सिटमा जित निकाल्यो ।लोकतन्त्रपछि भने बाँकेमा मिश्रित परिणाम आइरहेको छ । एक क्षेत्र थपिएको २०६४ सालको पहिलो संविधानसभाको चुनावमा २ सिटमा माओवादी र २ सिटमा मधेसी जनअधिकार फोरमले जित्यो ।

२०७० को दोस्रो संविधानसभा चुनावमा १ ठाउँमा काँग्रेस र ३ ठाउँमा एमालेले जित्यो । फेरि तीन क्षेत्रमा सीमित गरिएको २०७४ को संघीय संसद्को चुनावमा एमाले, माओवादी र संघीय समाजवादी फोरमले १÷१ सिटमा जिते । पछिल्लो २०७९ को चुनावमा काँग्रेस, एमाले र राप्रपाले १÷१ सिट बाँडे । यी पुराना ट्रेन्डले पुष्टि गर्छन् कि बाँकेको २ नम्बर क्षेत्रका मतदाता परम्परागत दल मात्र होइन, व्यक्तिकेन्द्रित नेतृत्व र स्थानीय प्रभावलाई समेत निर्णायक मान्ने गर्दछन् ।

सुशील कोइराला जत्तिका इमान र सादगी नेताको इतिहासले काँग्रेसलाई सुरुवाती समर्थन दिएको भए पनि त्यसले हरपल सुनिश्चित विजय दिन सकेन । २ पटक मेयर हाँकेका धवललाई एक पटक केन्द्र सांसदमा पठाए । मुस्लिम समुदायका इस्तियाकलाई २ पटक सांसद जिताए ।अघिल्लोपालि समेत २ पटक हराइ पनि दिए । यसपालिको चुनावमा उठेका २० जनामध्ये आधा दर्जनसम्मले समानजनक भोट पाउन सक्छन् ।

२÷२ पटक सांसद र मन्त्री भएका इस्तियाक अघिल्लो पुस्ताको प्रतिनिधिका रूपमा मैदानमा छन् । उनीसँग प्रतिप्रस्र्धामा उत्रेका प्रमुख पार्टीका उम्मेदवारहरू पहिलोपल्ट संसदीय चुनावमा आएका युवा छन् । काँग्रेसबाट सुधांशु कोइराला, नेकपाबाट दिपेन्द्र विष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र स्वतन्त्रबाट विवेककुमार श्रेष्ठ उठेका छन् । इस्तियाकले एक हातमा चुनावको टिकट अनि अर्को हातमा नेकपा एमालेको सदस्यता समाएर मैदान टेके । उनी नेपालगन्जका बलिया राजनीतिक खेलाडी भए पनि उनको राजनीतिक यात्रा अस्थिर छ ।

राप्रपाबाट राजनीति सुरु गरेका उनले मधेसी जनअधिकार फोरम हुँदै जसपाको यात्रा तय गरे । हालै टिकट पक्का गरेर एमालेमा छिरे । स्थानीय एमाले कार्यकर्ताहरू उनी एमाले प्रवेश गरेको आफूहरूलाई विश्वास नभएको बताउँछन् । यसले उनको राजनीतिक र वैचारिक धरातल अस्थिर र अविश्वसनीय बनाएको छ । अघिल्लो निर्वाचनमा जितेका धवलका निकटतम प्रतिद्वन्द्वी इस्तियाक नै थिए ।

स्थानीय रूपमा धवल राजाका नामले चिनिने राणा मैदानमा नरहेपछि यसपालिको चुनावी चेस खेलमा मन्त्री (इस्तियाक)को सामना नयाँ खेलाडीहरूसँग हुनेछ । अनुभवले पाकेका इस्तियाक पनि उमेरले काँग्रेस, नेकपा, राप्रपा र स्वतन्त्रजस्ता पार्टीले उतारेका युवा छावँलकै हुन् । जेनजी आन्दोलनपछिको माहोल नयाँ अनुहारको खोजीमा रहेकाले उनलाई नयाँ युवाहरू भारी पर्ने अवस्था देखिन्छ ।

प्रतिनिधिमुलक मतदाताहरूसँगको अनौपचारिक सम्वादका आधारमा यस्तै छनक देखिन्छ । इस्तियाकले छोडेको पार्टी जनता समाजवादीका कमरुद्दिन राई पनि चुनावमा उठेका छन् । उनी छँदाखाँदाको नेपालगन्ज उपमहानगरको उपप्रमुख पद छाडेर मैदानमा आएका हुन् । एउटै समुदायको भएकाले कमरुद्दिनले काट्न सक्ने भोटको सङ्ख्याले पनि इस्तियाकलाई धर्मराउन सक्छ । कमरुद्दिन तल्लो तहका मुस्लिम समुदायमा पकड भएका मानिन्छन् ।

विकासका कतिपय योजना भित्र्याउन इस्तियाकले भूमिका खेलेको मतदाताहरू सम्झन्छन् । तर, उनको स्वाद नेपालगन्जवासीले चाखिसकेका छन् । सकभर नयाँ स्वाद खोज्ने मतदाताको स्वभाव हो । यस मानेमा इस्तियाकका लागि यो चुनाव सजिलो छैन । अघिल्लोपल्ट पनि आफ्नो पार्टीको चुनाउ चिन्हमा भोट हाल्न नपाएको एमालेभित्रको एउटा पङ्ती यसपालि मनोनयनको समयमा पाहुना आएका नेताले टिकट बोकेर ल्याएपछि झन् निराश र आक्रोशित छ ।

गोप्य मतदानमा यो पङ्तीको सूर कता चल्छ भन्न सकिने अवस्था छैन । नेपालगन्जका राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य पनि इस्तियाक पुरानो दल छोडेको र नयाँ दलमा पनि मज्जाले नजोडिएजस्तो अवस्थामा देखिएको बताउँछन् । फेरिएको समय र बदलिएको मतदाताको सोच समेट्ने लय समाउनु उनका लागि सहज छैन ।

नेपाली काँग्रेसबाट युवा अनुहारका सुधांशु कोइराला उठेका छन् । उनी नेपाली काँग्रेसका बाँके जिल्ला सचिव हुन् । काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिज पनि हुन् उनी । सुधांशु नेपाली काँग्रेसबाट उम्मेदवार भएकाले कोइराला परिवारको विरासत र नामले उनलाई परम्परागत मतदाता आकर्षित गर्न मद्दत पु¥याउन सक्छ । यसै पनि यो क्षेत्रमा काँग्रेसको संगठन बलियो नै छ ।

सुधांशु सरल र मिलनसार मानिन्छन् । आफ्नो पार्टी र इतर पार्टीमा पनि मित्रवत सम्बन्ध बनाएको मानिन्छ । कोइराला परिवारको लिगेसी र बलियो ग्रासरुट सम्बन्ध अनि माथिसम्मको पहुँच बलियो पक्ष हो । माओवादी उम्मेदवार दिपेन्द्र विष्ट व्यवसायी हुन् । उनी खेल क्षेत्रका अगुवा पनि हुन् । उनको मुख्य भर पार्टी संगठन हो । यस क्षेत्रमा तत्कालीन माओवादी र हालको नेकपाको पार्टी संगठन ठिकै छ । सम्भवतः विष्ट कान्छा उम्मेदवार पनि हुन् ।

कोर सिटी एरियाका व्यवसायी भएकाले शहरमा उनी परिचित छन् । ग्रामीण वस्तीसम्म उनको पहुँच कम रहेकोले तल्लो तहका मतदाताका लागि उनी नचिनिएको अनुहार लाग्न सक्छन् । नेपालगन्जमा ठिकठाक संगठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमहामन्त्री ऋषिराज देवकोटालाई उम्मेदवार तोकेको छ । उनका महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेरले हात उठाएपछि उनीले मौका पाए । उनी निरन्तर राप्रपामा सक्रिय छन् । शहर र तल्लो तहसम्म उनी भिजेका पनि छन् ।

राजा फर्काउने अभियानका ऋषिका लागि पार्टीका अघिल्ला उम्मेदवारको विरासत जोगाउने चुनौती छ । निवर्तमान सांसद धवलको व्यक्तित्वको बल र संगठनको बल यसपालि आकलन हुनेछ । यद्यपि धवलले एमालेसँग चुनावी तालमेल गरेका थिए । ऋषि अहिले संगठन र आफ्नो व्यक्तिगत सम्बन्धका बलमा मात्र मैदानमा छन् । यस्तै व्यवसायी विवेककुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको छ ।

जेनजी आन्दोलनपछि यो पार्टीको पक्षमा देशभर लहरजस्तो देखिएको छ । त्यो लहरले उनलाई पार लाए हो नत्र उनको व्यक्तिगत प्रभाव र मतदातासम्म पहुँच खास छैन । नयाँ पार्टी संगठन भएकाले चुस्त भए पनि ग्रामीण मतदातासम्म यो पार्टीको भरपर्दो सम्बन्ध विकास हुन अझै बाँकी छ । मानिसहरूको मुखमा लहरको घण्टी सुनिएको त छ तर मतपत्रको ब्यालेटसम्म पुग्दा त्यसको झंकार कति बाँकी रहन्छ भन्न अहिले नै हतार हुनेछ । व्यक्तिगत प्रभावले संगठन बाहिरको मत तान्न विवेकलाई गाह्रो देखिन्छ ।

इस्तियाक र सुधांशुले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेको र दिपेन्द्र, ऋषि र विवेकले स्नातकसम्म पढेको उनीहरूको उम्मेदवार फर्ममा उल्लेख गरेका छन् । यी उम्मेदवारहरूले हालसम्म चुनावी घोषणापत्र जारी गरिसकेका छैनन् । त्यसैले उनीहरूको मिसन, भिजन र गोल थाहा छैन । नेपालगन्जको चुनाव जित्न विकासका एजेण्डा वा सुशासन र भ्रष्टाचारको विरोध गरेर मात्र पुग्ने छैन ।

मधेसी र पहाडी समुदायबीचको सन्तुलन अनि हिन्दू र मुशलमान धर्मावलम्बीहरूको भाइचारा र अन्य विभिन्न समुदायबीचको सेतु जोड्न सक्नु पर्नेछ ।  अनि स्वभाविक रूपमा परिवर्तनको पक्षमा देखिएको आम चाहना सम्बोधन गर्न मतदातासमक्ष विश्वसनीय र परिपक्व प्रतिबद्धता जनाउनु पर्नेछ । इस्तियाकले आफ्नो मुशलमान समुदायको भोट कति होल्ड गर्न सक्छन् अनि एमालेको मत सतप्रशित पाउन सक्छन् कि सक्दैनन् त्यसैमा उनको भाग्य तय हुनेछ ।

विष्ट र श्रेष्ठ नयाँ मात्र होइन तल्लो तहका मतदातासम्म परिचित छैनन् । उनीहरूसँग संगठनको बल मात्र छ । विष्टको व्यवसायिक र खेल साइनोले थोरबहुत फाइदा गर्ला । श्रेष्ठको पनि व्यवसायिक सम्पर्क छ । यी दुई नयाँका तुलनामा सुधांशु राजनीतिक पृष्ठभूमिका र तल्लो तहसम्म पहुँच बनाएका उम्मेदवार हुन् । सुशील कोइरालाको भतिज मात्रै होइनन् उनका बुवा डा. अरुण र आमा किरण दुवै काँग्रेस बाँकेका पार्टी सभापति भैसकेका हुन् ।

लामो समय नेपालगन्जमा चिकित्सा सेवा गरेका डा. अरुणको छवीले पनि छोरा सुधांशुलाई ठूलै मल मिल्ने आंकलन छ । उनी आफैँ पनि काँग्रेसका जिल्ला सचिव छन् । कोइराला परिवारका अन्य सदस्यको तुलनामा सुधांशुको जनसम्पर्क बलियो छ । आफ्नो पार्टीभित्र मात्र होइन अन्य पार्टीमा पनि उनको पहुँच मित्रवत भएकाले बाहिरको भोट पनि उनले तान्न सक्ने विश्लेषण गरिएको छ । पार्टी, व्यक्तित्व र विरासत बलियो भएका उम्मेदवारका रूपमा सुधांशु देखिएका छन् ।

नेपालगन्ज उपमहानगरको स्थानीय तहको चुनावमा ५ वटा वडाध्यक्षसहित नेपाली काँग्रेसले नगरप्रमुख जितेको थियो । अनि डुडुवामा पनि प्रमुख र उपप्रमुख काँग्रेसले नै जितेको थियो । यसपालि युवा पहलमा काँग्रेसको मत काँग्रेससँगै रोकिने देखिएको छ । अघिल्लोपटक काँग्रेस उम्मेदवार सुदिपनरसिंह राणा आफ्नो मत जोगाउन पनि असफल भएका थिए ।

यस क्षेत्रमा पछिल्लो समय धार्मिक मत एकीकृत हुने गरेको उदाहरण पनि छ । हिन्दु महासंघका नाममा होस् वा मुस्लिम संगठनका नाममा, धार्मिक मत एकठाउँ केन्द्रित हुने क्रम बढेको छ । कतिपय मतदाताहरू त्यसैअनुसार आआफ्नो आस्थाको समूहको पक्षमा उभिन सक्ने विश्लेषण डा. आचार्यको छ । अलग अलग चुनाव उठेकाले सबैको शक्ति यसपालि देखिनेवाला छ । किनभने पछिल्ला चुनावहरू गठबन्धनका नाममा भैरहेका थिए ।

काँग्रेसभित्रको गगन विश्वको विद्रोहले सबै पार्टीलाई आफ्नै खुट्टामा उभिन सिकाउने अबसर बन्दैछ यो चुनाउ । मधेसमा दुई प्रतिस्पर्धीबीच कुनै विषयमा कडा टक्कर हुने भयो भने त्यसलाई ‘काँटेका टक्कर’ भन्ने चलन छ । यसपालि बाँकेको २ नम्बर क्षेत्रमा तराई लवज जस्तै ‘काँटेका टक्कर’ भयो भने सुधांशु र इस्तियाकबीच हुने धेरैको अनुमान छ । पहिलोपटक उम्मेदवार बनेका काँग्रेसका सुधांशुले नयाँ पुस्ता र पाँचौँपटक उम्मेदवार बनेका एमालेको सूर्यबाट उठेका इस्तियाकले अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन् ।

यी दुईबीच सुधांशुलाई सहज अवस्था बन्न सक्ने डा. आचार्यको विश्लेषण छ । सुधांशुमा पार्टीको मत एक बनाउनु पर्ने चुनौती मात्र छ भने इस्तियाकलाई आफ्नो मुशलमान समुदायको मत जोगाउनु पर्ने र एमालेको मत एक ढिक्का पार्नु पर्ने दोहोरो चुनौती छ । जबकी इस्तियाक समेत ६ जना उम्मेदवार मुशलमान समुदायबाट उठेकाले उनीहरूको भोट बाँडिने सम्भावना बलियो छ ।

अनि काँग्रेसहरू चाँहि यसपालि नजिते कहिल्यै जितिदैन भन्दै लागेका छन् । कोइराला परिवारको विरासत र मतदातासम्म आफ्नै सम्बन्ध सुधांशुको बल हो भने राजनीतिक दाउपेच र छक्कापञ्जाको ज्ञान इस्तियाकसँग छ । बाजी यी दुईमध्ये एकले मार्छ कि तेस्रो कोही फुत्त आउँछ, त्यो थाहा पाउन फाल्गुन २१ पर्खनै पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार