नियमित विद्युत् आपूर्तिका लागि तीन साता कुर्नुपर्ने



हुम्ला ।

हुम्लाको सदरमुकाम सिमकोटसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित बनेको झन्डै एक महिना पुग्न लाग्यो । तर पनि तत्काल समस्या समाधान हुने अवस्था देखिएको छैन । विद्युत् उत्पादन गृहमा रहेको गभर्नर बिग्रिएपछि सीमित क्षमतामा मात्र विद्युत् वितरण हुँदै आएकोमा नयाँ गभर्नर खरिद गरी जडान गर्न अझै करिब तीन साता लाग्ने भएको हो । हिल्दुम विद्युत् वितरण केन्द्रका अनुसार नयाँ गभर्नर खरिद गरी जडानको काम सम्पन्न भएपछि मात्रै नियमित विद्युत् सेवा सञ्चालनमा आउनेछ ।अहिले सिमकोट बजार तथा सिमकोट गाउँपालिका–५ र ६ नम्बर वडाका उपभोक्ताले दैनिक बढीमा दुई घण्टा मात्रै विद्युत् प्रयोग गर्न पाएका छन् ।

सिमकोटका अन्य वडा, खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकामा भने विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द छ । विद्युत् आपूर्ति अनियमित भएपछि जिल्ला सदरमुकामसहित ग्रामीण क्षेत्रमा दैनिक जनजीवन प्रभावित भएको छ ।विद्युतमा निर्भर व्यवसाय, सञ्चार सेवा, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारणको नियमित कामसमेत प्रभावित भइरहेका छन् । उपकरणमा आएको खराबीका कारण उपलब्ध विद्युत् क्षमताअनुसार मात्र आपूर्ति व्यवस्थापन गर्नुपरेको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए ।उनका अनुसार नयाँ गभर्नर खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रले भदौ ३० गते कोटेसनमार्फत एक निजी निर्माण कम्पनीलाई कार्यादेश दिएको छ ।

कार्यादेशअनुसार २५ दिनभित्र नयाँ गभर्नर खरिद गरी हिल्दुम विद्युत् वितरण केन्द्रको पावर हाउसमा जडान गरिसक्ने लक्ष्य राखिएको छ । सोही समयसीमाका आधारमा असोज २३ गतेभित्र विद्युत् आपूर्ति पुरानै अवस्थामा फर्काउने तयारी गरिएको शाहले बताए । उनका अनुसार चीनबाट उपकरण अपेक्षाभन्दा छिटो ल्याउन सकिए निर्धारित समयभन्दा अगावै पनि विद्युत् आपूर्ति नियमित हुन सक्नेछ । विद्युत् संकटको प्रत्यक्ष असर सिमकोटबाहेक खार्पुनाथ र नाम्खा गाउँपालिकाका उपभोक्तामा समेत परेको छ ।

भदौ १६ गतेदेखि विद्युत् आपूर्ति प्रभावित हुँदै आएकोमा अहिले सिमकोटको केही क्षेत्रमा सीमित समयका लागि मात्र विद्युत् उपलब्ध गराइएको छ भने अन्य क्षेत्रमा आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ । वितरण केन्द्रले अहिलेको समस्या तत्काल वैकल्पिक व्यवस्थाबाट पूर्ण रूपमा समाधान गर्न नसकिने जनाएको छ । बिग्रिएको गभर्नरको स्थानमा नयाँ उपकरण जडान गर्नु नै विद्युत् आपूर्ति नियमित गर्ने मुख्य उपाय भएकाले खरिद प्रक्रियालाई प्राथमिकतामा राखिएको केन्द्रको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार