काठमाडौँ ।
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे घोषणापत्र जारी भएको छ । साउन २५–२७ गतेसम्म काठमाडौँमा आयोजित सम्मेलनको घोषणापत्र जारी भएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आयोजित सम्मेलनले भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पत्रकार, अभियन्ता र सरोकारवालाबिच भएको छलफलबाट सम्मेलनले १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको फोनिजका महासचिव समीर बलामीले जानकारी दिए ।
सम्मेलनको उदघाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गरेकी थिइन् । त्यसैगरी सम्मेलनको समापन काठमाडौँ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले गरेकी थिइन् । फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार विभिन्न देशबाट आएका मातृभाषी पत्रकारसहित चारसय पत्रकारको सक्रिय सहभागितामा आयोजित सम्मेलनले मातृभाषाको संरक्षण, मातृभाषा पत्रकारिताको नीतिगत सम्बोधनमा विश्वव्यापी सन्देश प्रवाह गरेको छ ।
यस्तो छ १९ बुँदे घोषणापत्र
१. धर्मादित्य धर्माचार्यको सम्मान
नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको ऐतिहासिक योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्दै उहाँको नाममा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसको रूपमा निरन्तरता दिन माग गर्दछौँ ।
२. मातृभाषा सञ्चारको अधिकार
आफ्नो मातृभाषामा बोल्ने, लेख्ने, पढ्ने, सूचना प्राप्त गर्ने र सञ्चार गर्ने अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न विशेष मातृभाषा सञ्चार नीति निर्माण र कार्यान्वयन गर्न माग गर्दछौँ ।
३. मातृभाषा मिडियाको दिगोपन
मातृभाषामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन, अनुदान, सहुलियत, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराइ दिगो र आत्मनिर्भर बनाउन माग गर्दछौँ ।
४. मातृभाषी पत्रकारको अधिकार
मातृभाषी पत्रकारको श्रम, पारिश्रमिक, पेशागत सुरक्षा, सम्मान, पहिचान र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै विशेष प्रोत्साहन तथा क्षमता अभिवृद्धिको व्यवस्था गर्न माग गर्दछौँ ।
५. भाषा, लिपि र लेख्य परम्पराको संरक्षण
मातृभाषासँगै मौलिक लिपि, लेख्य परम्परा, साहित्य र सांस्कृतिक ज्ञानको संरक्षण तथा पुस्तान्तरण गर्दै डिजिटल युगमा यसको प्रयोग विस्तार गर्न आह्वान गर्दछौँ ।
६. शिक्षा र मातृभाषा
विद्यालयदेखि विश्वविद्यालयसम्म मातृभाषामा शिक्षा तथा मातृभाषाको अध्ययन–अध्यापन विस्तार गरी शिक्षा क्षेत्रलाई भाषा संरक्षण र पत्रकारिता विकासको आधार बनाउन माग गर्दछौँ ।
७. प्रविधि र डिजिटल समानता
कृत्रिम बुद्धिमत्ता (एआइ), डिजिटल प्रविधि र नयाँ सञ्चार माध्यममा सबै भाषाको समान पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्दै भाषिक डिजिटल विभेद अन्त्य गर्न विश्व समुदायमा आह्वान गर्दछौँ ।
८. भाषिक विविधता मानवताको सम्पदा
कुनै भाषा ठूलो वा सानो हुँदैन । प्रत्येक भाषा मानव सभ्यताको साझा ज्ञान, इतिहास र पहिचान भएकाले विश्वका सबै भाषाको सम्मान, संरक्षण र विकास सुनिश्चित गर्न आह्वान गर्दछौँ ।
९. आदिवासी ज्ञान र अधिकार
आदिवासी जनजातिका परम्परागत ज्ञान, सिप, संस्कृति, भूमि, जल, जंगल तथा प्राकृतिक स्रोतसम्बन्धी अधिकारको संरक्षण गर्दै उनीहरूको ज्ञान र स्वामित्वलाई सम्मान गर्न माग गर्दछौँ ।
१०. जलवायु न्याय र आदिबासी नेतृत्व
जलवायु परिवर्तनबाट प्रभावित आदिबासी समुदायलाई पीडा मात्र नभइ ज्ञान, समाधान र नेतृत्वका साझेदारका रूपमा स्वीकार गर्दै जलवायु नीति, निर्णय, कोष र लाभांशमा न्यायोचित तथा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गर्दछौँ ।
११. वन र प्राकृतिक स्रोतमा पूर्वसहमति
वन नीति, संरक्षण, कार्बन व्यापार तथा प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता र पूर्व, स्वतन्त्र तथा सूचित सहमति अनिवार्य गर्न माग गर्दछौँ ।
१२. समावेशी सञ्चार र लोकतन्त्र
सञ्चार नीति निर्माण तथा सञ्चारमाध्यमका न्यूजरुम (समाचार कक्ष) र सामग्रीमा आदिवासी जनजाति तथा सबै भाषिक समुदायको समान र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दछौँ । स्वतन्त्र, समावेशी र बहुभाषिक मिडियालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्थापित गर्न आह्वान गर्दछौँ ।
१३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य
संयुक्त राष्ट्रसंघ, युनेस्को, सरकार, विकास साझेदार, गैरसरकारी संस्था, विश्वविद्यालय, सञ्चार संस्था र प्रविधि क्षेत्रलाई मातृभाषा पत्रकारिता तथा लोपोन्मुख भाषाको संरक्षणमा सहकार्य र लगानी बढाउन आह्वान गर्दछौँ ।
१४. विश्वव्यापी मातृभाषा पत्रकारिता सञ्जाल
विश्वभरका मातृभाषी पत्रकारलाई संगठित गर्दै अनुभव, ज्ञान, प्रविधि र सीप आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय सञ्जाल निर्माण तथा मातृभाषा पत्रकारिता सम्मेलनको निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गर्दै निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछौँ ।
१५. सत्यनारायणबहादुर श्रेष्ठको संस्थापक मान्यता
विसं २००८ वैशाख ९ गते स्थापित तत्कालीन नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा अविलम्ब मान्यता दिन सरकार र नेपाल पत्रकार महासंघसँग माग गर्दछौँ ।
१६. विश्व शान्ति र समानता
भाषिक, धार्मिक तथा सांस्कृतिक द्वन्द्व र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, स्वायत्तता तथा आदिबासी जनजातिको विशेष, संरक्षित र स्वायत्त अधिकार सुनिश्चित गर्न नेपाल सरकारसहित विश्व समुदायसँग आह्वान गर्दछौँ ।
१७. भाषा संरक्षणमा विश्वव्यापी अभियान
लोपोन्मुख भाषाको संरक्षणका लागि समुदाय, पत्रकार, सरकार, शिक्षण संस्था, प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाबिच विश्वव्यापी साझा अभियान सञ्चालन गर्न आह्वान गर्दछौँ ।
१८. नेपालबाट विश्वलाई सन्देश
नेपाल विविध भाषा, संस्कृति र पहिचानको साझा उर्वर भूमि भएकाले विश्वसामु ‘बहुभाषिकता मानवताको शक्ति हो, भाषा संरक्षण मानव सभ्यताको संरक्षण हो’ भन्ने सन्देश प्रस्तुत गर्दछौँ ।
१९. ऐक्यबद्धता तथा धन्यवाद
मातृभाषा, पत्रकारिता, आदिवासी अधिकार, जलवायु न्याय र विश्वशान्तिका लागि विश्वभरका मातृभाषी पत्रकार तथा सरोकारवालाबिच ऐक्यबद्धता र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दछौँ । सम्मेलन सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकार (संघ, प्रदेश र स्थानीय), जनप्रतिनिधिहरू, संवैधानिक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विज्ञ, पत्रकार, वक्ता, कार्यपत्र प्रस्तोता, प्यानलिस्ट, फोनिजका घटक संस्था, सम्मेलन सफल गर्न आर्थिक सहयोग गर्नुहुने सहयोगी संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।









प्रतिक्रिया दिनुहोस्