कोहलपुर (बाँके) ।
देशभरका विभिन्न भूगोलमा परम्परा र संस्कृति अनुसार मनाइने र कर्णाली क्षेत्रमा विशेष उल्लासका साथ मनाइने साउने संक्रान्ति राँको बाल्दै लुतो फालेर मनाइएको छ । कर्णाली क्षेत्रमा छुट्टै मौलिक पहिचान भएको साउने संक्रान्तिलाई कर्णालीमा ‘लुतो फाल्ने दिन’का रूपमा विशेष उत्साहका साथ मनाउने गरिन्छ । साउन महिनाको पहिलो दिन पर्ने साउने संक्रान्ति कर्णालीका खस समुदायको सबैभन्दा मौलिक सांस्कृतिक पर्वमध्ये एक हो ।
यो दिन वर्षायामको बीचमा स्वास्थ्य, सुख, समृद्धि र रोग–व्याधिबाट मुक्तिको कामना गर्दै विभिन्न परम्परागत संस्कार गरिन्छ । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको कर्णालीको खस सभ्यता, लोकविश्वास र सामुदायिक जीवनलाई आजसम्म जीवन्त राखेका छन् । साउने संक्रान्तिको मुख्य आकर्षण ‘राँको बाल्ने’ र ‘लुतो फाल्ने’ परम्परा हो । स्थानीय विश्वासअनुसार वर्षायाममा लुतो, छालाका रोग, कीटाणु र विभिन्न रोगव्याधि बढ्ने भएकाले साउने संक्रान्तिका दिन ती सबै गाउँ र घरबाट टाढा जाऊन् भन्ने कामनासहित यो संस्कार गरिन्छ ।
साँझपख घर–घरमा दाउराको झरोबाट राँको तयार गरिन्छ । कतिपय गाउँमा घरको छतमाथि लामै लाइनमा राँको बालेर उज्यालो पारिन्छ । त्यसपछि सबै गाउँले बालबालिका, युवा र बुढापाका एकसाथ राँको बोकेर गाउँबाहिर, डाँडा वा खोल्सातर्फ लाग्छन् । राँको घुमाउँदै रोग, दुःख र अशुभ शक्ति हटोस् भन्ने कामना गरिन्छ ।
जुम्लाका युवा आकाश सुनार साउने संक्रान्तिमा राँको बाल्ने र लुतो फाल्ने परम्परा विगतदेखि हुँदै आएको बताउँछन् । उनका अनुसार जुन कर्णालीको विशुद्ध मौलिक परम्परासँग जोडिएको छ ।
‘आजको दिन हाम्रोमा विशेष रूपमा मनाइन्छ । राँको बाल्ने दियालो खोज्न जंगलतिर जाने चलन रहेको छ । त्यसलाई चिरेर राँको बालिन्छ । लुतो फाल्नेसमेत यस दिनको मुख्य आर्कषण हो । यहाँका नागरिकहरूले निकै उल्लासका साथ मनाउने गर्दछन्,’ उनले भने । जुम्लामै अर्का युवा तथा पत्रकार एलपी देवकोटाका अनुसार कर्णालीका धेरै गाउँमा साउने संक्रान्तिसँग जोडिएको अर्को विशेष संस्कार ‘छुन्चेली काट्ने’ हो ।
‘घरको चारै कुनाको चुलोबाट खरानी संकलन गरिन्छ । त्यस खरानीलाई सानो कपडामा बाँधेर काँडाको डालो (हाँगो) को टुप्पोमा बाँधिन्छ । केही दिनसम्म त्यसलाई राखेपछि शनिबारको दिन त्यस काँडालाई एकै झट्टकामा काट्ने चलन छ,’ देवकोटा भन्छन् । स्थानीय जनविश्वासअनुसार यसरी गरेमा घरभित्र रहेका रोग, भोग, दुःख, विपत्ति र अशुभ शक्ति पनि त्यसैसँगै हटेर जाने विश्वास गरिन्छ । यो परम्पराले प्रकृति, घरपरिवार र आध्यात्मिक विश्वासलाई एकैसाथ जोडेको देवकोटाले बताए ।
घरको छाना, ओटाली, आँगन तथा जस्तापाता भएका घरका वरिपरि राँको बालेर पूरै गाउँलाई उज्यालो बनाइन्छ । रातिको अन्धकारमा बलिरहेका ती राँकाहरूले हनुमानले लंका दहन गरेको दृश्यको झल्को दिन्छन् । स्थानीय जनविश्वासअनुसार यही विजयको स्मरणमा यो पर्व मनाउने चलन बसेको हो । यस दिनको अर्को विशेषता भनेको गाउँ–गाउँबीच हुने रमाइलो ठट्टा हो । एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई हाँसो–ठट्टाको शैलीमा गाली गर्ने पुरानो परम्परा अझै कायम छ ।
संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्यले राँकोको कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने मौलिक परम्परालाई नागरिकले निरन्तरता दिएको बताए । उनले भने, ‘मैले पनि भर्खरै राँको बालेर र लुतो फालेर सकाए । यो हाम्रो मौलिक परम्परा हो । साउने संक्रान्ति धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व हो ।’ खस सभ्यतासँग जोडिएको कर्णालीको मौलिक पहिचानका रूपमा सदैव जीवित रहने उनले विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्