हरेक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइन्छ । यो दिन धान रोपाइँको उत्सव मात्र होइन, कृषि संस्कृति, किसानको श्रम र खाद्य सुरक्षाप्रतिको सम्मान व्यक्त गर्ने अवसर पनि हो । असारको हिलोमा पसिना बगाएर खेत रोप्ने किसानहरूको योगदानलाई सम्झिने दिनका रूपमा यसको विशेष महत्त्व रहेको छ । यसै दिन दही–च्युरा खाने परम्पराले नेपाली मौलिक संस्कृति र कृषि सभ्यतालाई अझ जीवन्त बनाएको छ । नेपाल कृषिप्रधान देश हो । अझै पनि ठूलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ । धान नेपालीहरूको मुख्य खाद्यान्न बाली हो । कूल कृषि उत्पादन, रोजगारी, ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामा धानको योगदान अत्यन्त महत्त्वपूर्ण छ । तर विडम्बना, धान उत्पादनमा आत्मनिर्भर हुनुपर्ने देश पछिल्ला वर्षहरूमा ठूलो परिमाणमा चामल आयात गर्न बाध्य भएको छ । यसले कृषि क्षेत्रका चुनौतीहरूलाई उजागर गरेको छ । मल, बीउ, सिँचाइ, आधुनिक प्रविधि, बजार व्यवस्थापन र उचित मूल्यको अभाव किसानका पुराना समस्या हुन् । हरेक वर्ष रोपाइँको समयमा मल नपाउने, बाढी वा खडेरीका कारण बाली नष्ट हुने र उत्पादनपछि उचित मूल्य नपाउने अवस्था दोहोरिइरहेको छ ।
यस्ता समस्याको दीर्घकालीन समाधानबिना कृषि क्षेत्रको दिगो विकास सम्भव छैन । जलवायु परिवर्तनले धान खेतीमा नयाँ चुनौती थपेको छ । किसानलाई केवल अनुदान दिने होइन, उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण चक्रलाई व्यवस्थित गर्न राज्यले स्पष्ट नीति अवलम्बन गर्नुपर्छ । असार १५ मा दही–च्युरा खाने परम्परा नेपाली समाजको मौलिक पहिचान हो । धानबाट बन्ने च्युरा र पशुपालनसँग जोडिएको दहीको संयोजनले कृषि र पशुपालनबीचको अन्तरसम्बन्धलाई पनि प्रतीकात्मक रूपमा देखाउँछ । पौष्टिक, सुपाच्य र स्वादिष्ट दही–च्युराले श्रमशील किसानहरूको जीवनशैलीसँग जोडिएको सन्देश दिन्छ । आधुनिक जीवनशैली र विदेशी खानाको प्रभाव बढिरहेका बेला यस्ता मौलिक परम्पराको संरक्षण गर्नु सांस्कृतिक दायित्व पनि हो । तर आज दही–च्युराको परम्परा मनाइरहँदा धानखेतीबाट युवापुस्ता टाढिँदै गएको यथार्थलाई पनि बेवास्ता गर्न सकिँदैन । वैदेशिक रोजगारीको आकर्षण, कृषि पेसामा सम्मान र आम्दानीको कमी तथा आधुनिक सुविधाको अभावले ग्रामीण क्षेत्रका खेतबारी बाँझिने क्रम बढ्दो छ । यदि यही अवस्था जारी रह्यो भने भविष्यमा हाम्रो खाद्य सुरक्षा र सांस्कृतिक पहिचान दुवै संकटमा पर्न सक्छन् ।
त्यसैले कृषि क्षेत्रलाई सम्मानित, आधुनिक र लाभदायी बनाउनु आजको प्रमुख आवश्यकता हो । कृषिमा प्रविधिको प्रयोग, सहकारी प्रणालीको सुदृढीकरण, उत्पादनमा आधारित अनुदान, सहज ऋण सुविधा र सुनिश्चित बजार व्यवस्थाले किसानलाई उत्साहित गर्न सक्छ । राष्ट्रिय धान दिवसको सार्थकता किसानको जीवनस्तर सुधारमा निहित छ । केवल औपचारिक कार्यक्रम, हिलो छ्यापाछ्याप र दही–च्युरा भोजमा सीमित हुँदा यसको उद्देश्य पूरा हुँदैन । किसानले उत्पादनको उचित मूल्य, आवश्यक स्रोत–साधन र राज्यको भरोसा प्राप्त गरे मात्र धान दिवसको वास्तविक सम्मान हुनेछ । असार १५ ले धानको महत्त्व, किसानको श्रम र हाम्रो सांस्कृतिक पहिचानलाई सम्झाउने अवसर प्रदान गरेको छ । दही–च्युराको मिठाससँगै किसानका समस्या समाधान गर्ने प्रतिबद्धता पनि जोडिनुपर्छ । कृषि समृद्ध भए मात्र देश समृद्ध बन्न सक्छ भन्ने सत्यलाई आत्मसात् गर्दै राष्ट्रिय धान दिवसलाई उत्पादन, सम्मान र आत्मनिर्भरताको अभियानका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।









प्रतिक्रिया दिनुहोस्