सुदूरपश्चिममा घट्दैछ धान रोपाइँ



शेरबहादुर ऐर । कैलाली ।

असार लाग्नासाथ गाउँघरमा हलो जोत्ने, खेत हिल्याउने, रोपाहारको गीत घन्किने र हरियालीले फाँट ढाकिने दृश्य नेपाली ग्रामीण जीवनको पहिचान मानिन्छ । तर, यस वर्ष सुदूरपश्चिमका धेरै फाँटमा त्यो दृश्य देखिएको छैन । असार मध्यतिर पुग्दासमेत धेरै खेत सुक्खा छन्, कतै बीउ उम्रेसँगै पानीको प्रतीक्षा भइरहेको छ भने कतै किसानले रोपाइँ नै सुरु गर्न सकेका छैनन् ।

कृषिप्रधान मानिने सुदूरपश्चिम प्रदेशमा धान रोपाइँको गति सुस्त हुनु केवल मौसमी समस्या मात्र होइन । यसले प्रदेशको खाद्य सुरक्षा, कृषकको आम्दानी, श्रम व्यवस्थापन र समग्र ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पार्ने संकेत दिएको छ । प्रदेशको कूल खेतीयोग्य क्षेत्रफल तीन लाख ५९ हजार पाँच सय ११ हेक्टर रहेको छ । यसमध्ये एक लाख ७० हजार ६ सय ५० हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य राखिएको छ । तर असारको पहिलो सातासम्म प्रदेशभर जम्मा १५ हजार ८ सय हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ भएको तथ्यांकले अपेक्षाभन्दा निकै पछाडि रहेको अवस्था देखाउँछ ।

प्रदेशका नौवटै जिल्लामध्ये कुनै पनि जिल्लामा कूल रोपाइँ क्षेत्रफलको आधाभन्दा बढी काम हुन सकेको छैन । यसले यस वर्षको कृषि उत्पादनप्रति चिन्ता थपेको छ । सुदूरपश्चिमको अन्नभण्डारका रूपमा चिनिने कैलाली र कञ्चनपुरमै धान रोपाइँ अत्यन्त सुस्त छ । कैलालीमा ६६ हजार आठ सय २० हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म ४५० हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको छ । प्रदेशकै सबैभन्दा ठूलो धान उत्पादन क्षेत्र मानिने जिल्लामा यस्तो अवस्था आउनु असामान्य मानिएको छ ।

यस्तै कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर लक्ष्य रहेकामा ४ हजार आठ सय ४९ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ । तराईका यी दुई जिल्लामा समयमै पर्याप्त वर्षा नहुनु, नहर प्रणाली प्रभावकारी नहुनु तथा सिँचाइका वैकल्पिक स्रोत सीमित हुनु मुख्य कारणका रूपमा हेरिएको छ । अधिकांश किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले वर्षा ढिलो हुँदा रोपाइँ पनि पछि धकेलिएको हो ।

तराईभन्दा पहाडी जिल्लामा भने अवस्था केही राम्रो देखिएको छ । सबैभन्दा बढी प्रगति बझाङमा भएको छ । त्यहाँ १० हजार तीन सय हेक्टर लक्ष्य रहेकोमा ३ हजार दुई सय ९६ हेक्टर क्षेत्रमा धान रोपाइँ भइसकेको छ । अछाममा १५ हजार ७८० हेक्टर लक्ष्यमध्ये ३ हजार १५६ हेक्टर, दार्चुलामा ४ हजार २८० हेक्टर लक्ष्यमध्ये १ हजार १२५ हेक्टर, डडेल्धुरामा ६ हजार १२० हेक्टर लक्ष्यमध्ये १ हजार हेक्टर, बाजुरामा ८७६ हेक्टर, बैतडीमा ७६८ हेक्टर तथा डोटीमा २२५ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ ।

पहाडी क्षेत्रमा केही स्थानमा समयमै वर्षा हुनु, साना सिँचाइ प्रणालीको प्रयोग र स्थानीय कृषि प्रणालीका कारण रोपाइँ तुलनात्मक रूपमा अघि बढेको कृषि अधिकारीहरू बताउँछन् । यस वर्षको सुस्त रोपाइँ अर्को गम्भीर तथ्यसँग पनि जोडिएको छ । सुदूरपश्चिममा धान खेती हुने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ । आर्थिक वर्ष २०७९–०८० मा एक लाख ६२ हजार हेक्टर क्षेत्रमा धान खेती भएको थियो । त्यसपछि आर्थिक वर्ष २०८०–०८१ मा यो घटेर एक लाख ५६ हजार हेक्टरमा पुग्यो ।

आर्थिक वर्ष २०८१–०८२ मा एक लाख ५४ हजार हेक्टर र २०८२–०८३ मा एक लाख ५२ हजार हेक्टरमा सीमित भएको अनुमान गरिएको छ । चार वर्षको अवधिमा करिब १० हजार हेक्टर क्षेत्रफलमा धान खेती घट्नु सामान्य परिवर्तन होइन । यसले कृषि क्षेत्र क्रमशः संकुचित भइरहेको संकेत गर्छ । धान खेतीको क्षेत्रफल घट्नुका पछाडि धेरै कारणहरू देखिन्छन् । सबैभन्दा ठूलो कारण हो युवाशक्ति विदेश पलायन । गाउँका सक्रिय श्रमिक वैदेशिक रोजगारी वा सहरतर्फ गएकाले खेती गर्ने जनशक्ति अभाव हुन थालेको छ ।

अर्कोतर्फ खेतीको लागत लगातार बढिरहेको छ । बीउ, मल, विषादी, मजदुरी र मेसिन प्रयोगको खर्च बढ्दा किसानले पर्याप्त नाफा लिन सकेका छैनन् । जलवायु परिवर्तनले पनि समस्या थपेको छ । वर्षाको समय अनिश्चित बन्दै गएको छ । कहिले अत्यधिक वर्षा त कहिले लामो खडेरीका कारण किसानले खेतीको निश्चित तालिका बनाउन सकिरहेका छैनन् । कतिपय स्थानमा खेतीयोग्य जमिन घडेरी, सडक, उद्योग तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुन थालेको छ । यसले पनि कृषि भूमि घटाउने काम गरिरहेको छ ।

आर्थिक वर्ष २०८२–०८३ को चैत मसान्तसम्म प्रदेशमा एक लाख ५२ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको अनुमान गरिएको छ । यसबाट करिब ६ लाख २० हजार मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । निर्देशनालयका कृषि अर्थ निर्देशक तथा सूचना अधिकारी ज्ञानराज कँडेलले यस वर्ष समयमै वर्षात न हुँदा धान रोपाइँ तीव्र बन्न नसकेको बताए । उनले भने, ‘उन्नत बीउ, आधुनिक प्रविधि र उत्पादनशीलता बढेकाले अहिले उत्पादन टिकिरहेको छ । तर खेतीयोग्य जमिन नै घट्दै गए भविष्यमा उत्पादन कायम राख्न कठिन हुने देखिन्छ ।’

सुदूरपश्चिमको अधिकांश खेती अझै पनि वर्षामै निर्भर छ । पर्याप्त सिँचाइ सुविधा भएका क्षेत्रमा वर्षा ढिलो भए पनि खेती गर्न सकिन्छ । तर अधिकांश किसानसँग त्यस्तो विकल्प छैन । कैलाली र कञ्चनपुरजस्ता उर्वर जिल्लामा समेत धेरै किसान नहरमा पानी नआउँदा वा भूमिगत सिँचाइ सुविधा नहुँदा रोपाइँ रोक्न बाध्य भएका छन् । उनले भने, ‘दीर्घकालीन समाधानका लागि साना तथा ठूला सिँचाइ आयोजना विस्तार, भूमिगत सिँचाइ प्रणाली, जलाशय निर्माण र वर्षाको पानी संकलनमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ ।’

धान खेती जोगाउन सरकारले अनुदान दिने, आधुनिक कृषि उपकरण उपलब्ध गराउने र किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता देखिएको छ । कृषि बीमाको पहुँच विस्तार, मल–बीउको सहज उपलब्धता, बजार व्यवस्थापन र यान्त्रिकीकरणलाई गाउँसम्म पु¥याउन सके खेतीप्रति किसानको आकर्षण बढ्न सक्ने उनको भनाइ छ ।

नेपालमा अधिकांश धान रोपाइँ असारको अन्तिम सातासम्म सम्पन्न हुने भएकाले आगामी केही साताको वर्षाले यस वर्षको उत्पादन निर्धारण गर्नेछ । समयमै पर्याप्त वर्षा भयो भने रोपाइँले गति लिन सक्छ । तर पानी अझै ढिलो भए धान उत्पादनमा प्रत्यक्ष असर पर्ने निश्चित देखिन्छ । सुदूरपश्चिमका हरिया फाँट अहिले आकाशतिर हेरेर पानीको प्रतीक्षामा छन् । किसानका आँखा बादलतर्फ छन् । खेतमा पानी पुग्यो भने रोपाहारका गीत फेरि गुञ्जनेछन्, तर वर्षा अझै ढिलो भयो भने यस वर्षको धान उत्पादन मात्र होइन, प्रदेशको कृषि अर्थतन्त्रसमेत थप दबाबमा पर्नेछ । अहिलेको सुस्त रोपाइँले यही चेतावनी दिइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार