14 June 2024  |   शुक्रबार, असार १, २०८१

कौसिल्या अस्पतालको भ्यानले लियो कोहलपुर नजिकै बृद्धाको ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ ८, २०७८  

कोहलपुर ।

कौसिल्या अस्पतालको गाडीले एक बृद्धाको ज्यान लिएको छ । बैजनाथ गाउँपालिका–५ रंगीलाचोकमा बिहीबार राति अस्पतालको गाडीले एक बृद्धाको ज्यान लिएको हो ।

अस्पतालको बा.प्र.०१–०२५च ११२६ नम्बरको गाडीले बृद्धाको ज्यान लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अस्पतालको गाडीको ठक्करबाट मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–७ घुँइयाबारी बस्ने ६० वर्षीया गोरी बुढा रहेकी छिन् । रंगीलाचोकमा हिँडिरहेको अवस्थामा बुढालाई ठक्कर दिएर अस्पतालको गाडी भागेको थियो ।

मान्छेको ज्यान लिएर भागेका गाडी र चालकलाई अनुसन्धानपश्चात शुक्रबार दिउँसो लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।

‘दुर्घटना गराएर फरार भएको गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘यसबारे हामीले थप अनुसन्धान अगाडि बढाइसकेको छौं ।’

दुर्घटना लगत्तै घाइतेलाई स्थानीयहरुले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरु ठक्कर दिएर उपचारको लागि लैजानु पर्नेमा अस्पतालकै गाडी भागेको भन्दै आक्रोशित भएका थिए ।

अस्पतालको गाडी चलाउने चालकले सामान्य मानवीयतासमेत नदेखाएको भन्दै कडा चालकलाई कारबाहीको माग गरेका छन् । मृतकका परिवार र कौसिल्या अस्पताल प्रशासनबीच क्षतिपूर्तिको विषयमा शुक्रबार दिनभर छलफल भएको थियो ।

कौसिल्या अस्पताल बाँकेको कोहलपुर र बर्दियाको बाँसगढीमा समेत सञ्चालित रहेका छन् । बेलाबेलामा यो अस्पताल विवादमा आउने गरेको छ ।

प्रकाशित मितिः शनिबार, माघ ८, २०७८     11:06:57 AM  |