शुभाकार विश्वकर्मा। कोहलपुर (बाँके) ।
जनक केसी–फुटबलका फ्यान, खेलाडी र प्रशिक्षक । उनको नाम एक छ, तर परिचय अनेक छ । जसको नसा–नसामा फुटबल बग्छ । फुटबल धड्किन्छ । यस्तो लाग्छ, उनी फुटबलकै लागि जन्मिएका हुन् । फुटबलकै लागि बाँचिरहेका छन् । फुटबलको विकासकै लागि उनी दुई दशकदेखि अनवरत रूपमा लागिपरेका छन् । केसीले १५ वर्ष खेलाडीका रूपमा फुटबल खेले । एक दशकदेखि उनी विभिन्न क्लबहरूको प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।
यसैगरी, खेलकुद क्षेत्रको नीतिगत तहमा समेत केसीले काम गरिरहेका छन् । बाँकेको कोहलपुर– ११ का जनक केसी लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य छन् । पछिल्लो समय ‘कोहलपुर गोल्डकप’ कोहलपुरको पहिचान बनेको छ । यो एउटा फुटबल प्रतियोगिता मात्रै होइन । यो त कोहलपुरलाई चिनाउने चिनारी हो । जसले फुटबलका माध्यमबाट फुटबलप्रेमीहरूलाई एउटै थलोमा उभ्याएको छ ।
कोहलपुरमा फुटबलको संस्कृति विकास गरिरहेको छ । विगतका तीन संस्करण भव्य रूपमा सम्पन्न भए । चौथो संस्करणसमेत समापनको संघारमा आइपुग्दा विगतका भन्दा अझ पृथक रूपमा सञ्चालन भइरहेको छ । पश्चिम नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोहलपुर गोल्डकप’ कसरी जन्मियो ? कोहलपुर गोल्डकपको पृष्ठभूमि खोतल्दा छुटाउनै नहुने नाम हो, जनक केसी । उनै केसी नै हुन्, कोहलपुर गोल्डकपका प्रस्तावक र परिकल्पनाकार ।
आखिर कोहलपुर गोल्डकप कसरी जन्मियो त ? यस प्रश्नको उत्तर खोज्न फर्किनुपर्छ, वि.स.२०७९ सालतिर । कोहलपुर रेसिङ साहारा क्लबको नेतृत्वमा चक्र चिमला क्षेत्री भर्खँरै आएका थिए । शसस्त्र प्रहरीको वरिष्ठ हवल्दारबाट उनी सेवा निवृत्त भएर फुटबल विकासका लागि जोडिएका थिए, क्लबमा । शसस्त्र प्रहरीमा जागिरे हुँदा क्षेत्री फुटबल खेल्थे । अवकाशपछि कोहलपुरको फुटबल विकासका लागि केही गरौँ भन्ने योजनासहित क्लबको नेतृत्वमै आए ।
एकदिन केसी र क्षेत्रीबीच कोहलपुरको फुटबलका लागि केही गर्न सकिन्छ की विषयमा छलफल भयो । केसीले अध्यक्ष क्षेत्रीसँग कोहलपुर गोल्डकप सञ्चालनको प्रस्ताव गरे । दुवैजना सहमत भए । फुटबल आयोजना गर्ने त भनियो ? त्यसको लागि पैसा चाहिन्थ्यो । दुवैजनाले स्थानीय सरकारसँग सल्लाह गर्ने निधो गरे । कोहलपुर गोल्डकपकै विषयमा पहिलोपटक केसी र क्षेत्री, पुकार शाहसहित जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीसँग काठमाडौँमा बैठक बस्यो ।
दुवैजनाले स्थानीय सरकारका पदाधिकारीहरूसँग कोहलपुरमा फुटबल प्रतियोगिता बजेट माग गरे ।केसी सम्झन्छन्, ‘हामीले सबै कुरा बताएपछि नगरप्रमुख सहयोग गर्न तयार हुनुभयो । उहाँहरूले नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने वचन दिनुभयो ।’ नगरपालिकाले आर्थिक सहायता गर्ने भनेपछि उनीहरू हौसिए । कुरा हुँदै जाँदा नगरप्रमुख आचार्यले ६ लाख रूपैयाँँ नगरपालिकाले दिन्छ ? भनेको अहिलेपनि उनी अहिलेपनि सम्झिन्छन् ।
उनी भन्छन्, ‘गोल्डकप सञ्चालन गर्न अघि बढी पैसा चाहिन्थ्यो । नगरप्रमुखले ६ लाख दिने भन्नुभयो । मैले र चक्रले मुखामुख ग¥र्यौ ।’ उनीहरूले नगरप्रमुख र उपप्रमुखलाई थप कन्भिन्स गरे । अन्ततः नगरपालिकाले दश लाख रूपैयाँँ कोहलपुर गोल्डकप सञ्चालनका लागि छुट्याइदिने भयो । त्यसपछि उनीहरू लागे कोहलपुर गोल्डकप सञ्चालन गर्ने योजनातिर । नगरपालिकाले सहयोग गर्ने त भन्यो ? आयोजना गर्नेपनि भनियो ? उनीहरू कोहलपुर गोल्डकपको आर्थिक प्रस्तावना तयार गर्न लागे ।
प्रस्तावना लेखनको कार्य गरे नेपाली सेनाका सेनानी पुकार शाहले । अन्य क्षेत्रबाट समेत केही आर्थिक सहायता जुटाएर अन्ततः कोहलपुर गोल्डकपको पहिलो संस्करण सम्पन्न भयो, २०७९ चैत ४ गतेदेखि ११ गतेसम्म । केसी भन्छन्, ‘पहिलो गोल्डकप हामीले सोचे भन्दापनि सफल भयो । पहिलो संस्करणमा अन्दाजी १५ हजार दर्शक कोहलपुर गोल्डकप अवलोकन गर्न आएको केसी दाबी गर्छन् । पहिलो संस्करण नै अभूतपूर्व रूपमा सफल भएपछि अहिलेसम्म निरन्तर कोहलपुर गोल्डकप सञ्चालन भइरहेको उनले बताए ।
पहिलो कोहलपुर गोल्डकप सफल बनाउन क्लबका पदाधिकारीसहित शंकर खड्का, रामबहादुर मल्लसहितका व्यक्तिहरूको अहम भूमिका रहेको केसीले सुनाए । दोस्रो र तेस्रो संस्करणमा मुख्यमन्त्री कोहलपुर गोल्डकपको नाममा सम्पन्न गरियो । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’ र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’ मा प्रदेश सरकार जोडियो । कोहलपुर गोल्डकपलाई अहिलेको अवस्थासम्म पु¥याउन लुम्बिनी प्रदेश सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्यका रूपमा प्रदेशलाई कोहलपुर गोल्डकपका लागि लगानी गर्न निर्णायक भूमिका केसीले नै खेले । कोहलपुर नगरपालिकाले दोस्रो संस्करणको कोहलपुर गोल्डकप सञ्चालन गर्न २२ लाख रूपैयाँँ सहयोग गरेको थियो । ‘दोस्रो र तेस्रो गोेल्डकपसम्म आइपुग्दा फुटबललाई माया गर्नेहरू हामीसँग जोडिनुभयो । सबैको साथ र सहयोगका कारण कोहलपुर गोल्डकप अहिलेको अवस्थामा पुगेको छ । यसलाई कोहलपुरको पहिचान बनाउन सबैको हातेमालो आवश्यक छ,’ केसी भन्छन् ।
दोस्रो संस्करणमा सह–संयोजकको रूपमा कर्ण बस्नेत जोडिए । तेस्रो र चौथो संस्करणको संयोजकको रूपमा उनले काम गरिरहेका छन् । कोहलपुर गोल्डकपलाई अहिलेको उचाईमा पु¥याउन बस्नेतको भूमिकासमेत उल्लेख्य रहेको उनको भनाइ छ । दिपक ओली, दयाराम सापकोटा, प्रदेश खेलकुद परिषद्का पुर्व सदस्य सचिव जय प्रकाश भट्टराई, लुम्बिनी प्रदेश खेलकुद परिषद्का हालका सदस्य सचिव किरन प्रसाद गौतम, काशी अधिकारी, सुरेश अधिकारी, देवेन्द्र कुवँर, प्रकाश खड्का, सन्जय मण्डल, विनय गिरी, नवकिरण शाह, पुकार शाह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश फुटबल संघका पूर्व उपाध्यक्ष सूर्यमणी अधिकारी लगायतको भूमिकालाई बिर्सनै नसकिने उनी बताउँछन् ।
‘जसले कोहलपुर गोल्डकपको प्रख्याती दर्साउँछ’
पहिलो कोहलपुर गोल्डकप सञ्चालन भएपछि केसी र क्षेत्री राष्ट्रिय खेलकुद परिषद्मा गएका थिए । पहिलो गोल्डकपमा मैदानमा दर्शक नअटाएर रूखमा बसेर खेल हेरेका थिए । ती सबै फोटोहरू सदस्य सचिव टंकलाल घिसिङलाई देखाउने उद्देश्य थियो । तर भेट हुन बित्तिकै घिसिङले रूखमा बसेर दर्शकले खेल हेरेको कुरा आफूले सामाजिक सञ्जालमा देखेको बताए । उनले मोफसलमा त्यत्तिको प्रतियोगिता सफल बनाएकोमा धन्यवाद दिए ।
परिषद्ले प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । दोस्रो संस्करणमा परिषद्ले पाँच लाख रूपैयाँँ आर्थिक सहयोग गरेको केसी बताउँछन् । कुराकानीको क्रममा उनले अर्को रोचक संयोग सुनाए । एकपटक लुम्बिनी प्रदेश सदस्य बसन्ती अधिकारी काठमाडौँको एक कार्यक्रममा गएकी रहिछन् । कार्यक्रममा परिचय दिँदा आफ्नो घर बाँकेको कोहलपुरमा भएको बताइन् ।
उक्त कार्यक्रमका एक सहभागीले अधिकारीलाई कोहलपुर गोल्डकप सञ्चालन हुने स्थानदेखि कहाँ पर्छ तपार्इँको घर भनेर सोधेछन् ? केसी भन्छन्, ‘माननीय ज्यूले मलाईँ सुनाउनु भएको थियो । उहाँले गोल्डकपले कोहलपुरलाई चिनाएको बताउनुभयो ।’ पहिलो संस्करण सफल भएपछि कोहलपुरका नगरप्रमुखले आयोजकलाई बोलाएर खेलकुद्को विकासमा गोल्डकपले राम्रो भूमिका खेल्ने सम्भावना देखिएको भन्दै स्थानीय सरकारले सहयोग गर्ने वचन दिएका थिए ।
अहिले संघीय सरकार र स्थानीय सरकारको बजेटमा सात करोड रूपैयाँँ लागतमा कोहलपर फुटबल रंगशाला निर्माण भइरहेको छ । जसमा कोहलपुर नगरपालिकाले पनि लगानी गरेको छ । कोहलपुर फुटबल रंगशालाका लागि २२ करोडको डीपीआरसमेत तयार भएको छ । उनी खुसी हुँदै भन्छन्, ‘अहिले रंगशाला निर्माण भइरहेको छ । यो कोहलपुरको गर्वको कुरा हो । यदि हामीले गोल्डकप नगरेको भए रंगशाला बन्ने थिएन ।’
कोहलपुरमा राष्ट्रिय जर्सीमा खेलाडी खेलाउने योजना
देशभर वर्षभरि धेरै गोल्डकपहरू आयोजना हुन्छन् । देशभरा दर्जनौँ गोल्डकपमध्ये कोहलपुर गोल्डकपको आफ्नै छुट्टै महत्व छ । झापा गोल्डकपपछि देशभर दर्शक उपस्थितिका दृष्टिले दोस्रो सफल गोल्डकप भएको केसीको दाबी छ । चार संस्करणसम्म आइपुग्दा ५०औँ हजारले कोहलपुर गोल्डकप अवलोकन गरिसकेका छन् । अत्याधुनिक रंगशाला निर्माणका लागि २२ करोडको डीपीआर बनेको छ । यसलाई पूरा गर्नको लागि आफूहरू दिनरात नभनि लागिपरेको उनले बताए ।
उनी अबको योजना सुनाउँदै भन्छन्, ‘एकैपटक पाँच हजार दर्शक अटाउने प्याराफिट निर्माण गर्ने योजना छ । यो रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउनुछ । हाम्रो योजना नेपालको राष्ट्रिय जर्सी लगाएर खेलाडीलाई खेल खेलाउने योजना रहेको छ । त्यो योजना सफल पार्न जस्तो सुकै त्याग गर्न हामी तयार छौँ ।’ गोल्डकप कोहलपुर चिनाउने माध्यम बनेको छ ।
जनक केसी ः खेलाडी औषत, अब्बल प्रशिक्षक
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का स्थायी बासिन्दा जनक केसी खेलाडी र प्रशिक्षक दुवै हुन् । उनले आफ्नो फुटबल करिअर वि.सं २०५१ सालबाट सुरु गरेका थिए । उनले आफ्नो फुटबल करिअरभर सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै खेले । २०५४ सालमा सुदूरपश्चिमबाट १६ अन्डरको काकारभिट्टामा खेल खेलेका थिए । केसीले त्यसपछि सुदूरपश्चिमबाटै चौथो राष्ट्रिय खेलकुद खेले । त्यतिबेलाको निकै चर्चित खुकुरी कपपनि उनले खेलेका थिए ।
खेलाडीका रूपमा उनले १५ वर्ष खेले । अहिलेसम्मसम्म उनले प्रशिक्षकका रूपमा दर्जनौँ क्लबको प्रतिनिधित्व गरिसकेका छन् । ए.एफ.सी. वी लाइसेन्स र एन.आइ.एस लाइलेन्स प्राप्त गरिसकेका छन् । २०८२ मा केसी कै प्रशिक्षणमा पश्चिम नेपालको पहिलो क्लबको क्लबको रूपमा इतिहास रच्दै बाँकेको नेपालगन्ज ११ लाई सी क्वालिफायर बन्यो । उक्त टिमको मुख्य प्रशिक्षक बनेको ६ महिनामै उनले उक्त इतिहास रच्न सफल भएका थिए । नेपाल सुपर लिग तेस्रो संस्करणमा उनी पोखरा थन्डर्स पोखराको सहायक प्रशिक्षक बनिसकेका छन् ।
तेस्रो संस्करणमा उक्त टिम उपविजेता बनेको थियो । हेटौँडामा सम्पन्न एन्फा प्रिसिडेन्ड कप २०८२ मा केसीले चित्लाङ एफसी काठमाडौँ सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाले । उनको टिम उपविजेता बनेको थियो । उपविजेता चित्लाङले नेशनल लिगको क्वालीफायर खेलेको थियो ।
केसीले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशको महिला टिमको मुख्य प्रशिक्षक भएर सहभागिता जनाएका थिए ।
सात प्रदेश सम्मिलित सुदूरपश्चिमको धनगढीमा भएको प्रदेश स्तरीय प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन बनेको थियो । हाल उनी ए डिभिजन क्लब संकटा क्लबको सहायक प्रशिक्षक छन् । चौथो संस्करणको कोहलपुर गोल्डकप–२०८३ मा आयोजक कोहलपुर रेसिङ साहारा क्लब केसीकै मुख्य प्रशिक्षणमा आज नेपाल पुलिस क्लबसँग फाइनल खेल्दैछ ।









प्रतिक्रिया दिनुहोस्