कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ को समूह चरण समीकरण पूरा भएको छ । वैशाख १९ गतेदेखि सुरु भएको गोल्डकपमा सुरुवाती चार खेल सम्पन्न भएका छन् । समूह चरणका चार खेल सकिँदा चार टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने विजेता चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले १–० गोल अन्तरले पञ्चकोशी युथ क्लब सुदूरपश्चिमलाई पराजित गरेको थियो । दोस्रो खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेश विदेशी क्लब जस्ट जोन एफसी नाइजेरियासँग ४–२ गोल अन्तरले पराजित भयो। तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुुराँस एसोसियसन क्लब पोखरा विजयी भएको हो ।
चौथो तथा समूह चरणको अन्तिम खेलमा कोहलपुर गोल्डकपको साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासी विभागीय टिम नेपाल पुलिस क्लबसामु २–० गोल अन्तरले स्तब्ध बन्यो । पुलिसलाई जिताउन खेलको २६औँ र ९१औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारूले गोल गरे । आफ्नो टिम जिताउन दुई वटा खेल गरेका थारू नै म्यान अफ द म्याच घोषित भए ।
उनलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी, नेपाली सेनाका सेनानी पुकार शाह र उद्घोषक तथा गायक कोष खड्काले संयुक्त रूपमा ट्रफी र नगद पाँच हजार रूपैयाँँ प्रदान गरेका थिए । योसँगै कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् भने पञ्चकोशी युथ क्लब सुदूरपश्चिम, रोयल फुटबल क्लब कर्णाली प्रदेश, सातादोबाटो युथ क्लब काठमाडौँ र राइविङ स्टार क्लब सुनवल नवलपरासी प्रतियोगिताबाट बाहिरिएका छन् ।
सेमिफाइनल संस्करणमा दुुई खेल हुने छन् । जित्ने दुई टोली फाइलन प्रवेश गर्नेछन् भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछन् । म्याच कमिस्नार दयाराम सापकोटाका अनुसार वैशाख २३ गते पहिलो र २४ गते दोस्रो सेमिफाइनल खेल हुनेछन् । फाइनल पुग्ने टिमबीच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने आयोजकले जनाएको छ । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्