मिथिलामा जानकी नवमीको उल्लास



जनकपुर ।

जानकी नवमी आदर्श नारीको प्रतीक माता जानकी (सीता)को पृथ्वीमा अवतरण भएको दिनका रूपमा श्रद्धा र भक्तिका साथ मनाइदै छ ।मिथिलावासीका लागि यो दिन अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

धार्मिक विश्वासअनुसार त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा लामो समयसम्म परेको अनिकाल हटाउने उद्देश्यले तत्कालीन मिथिलाका नरेश राजर्षि जनकले हलो जोत्दा भूमिबाट सीताको प्रकट भएको उल्लेख पाइन्छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै श्रद्धालु भक्तजनहरूको ठूलो भिड लागेको छ । जानकी मन्दिरका छोटो महन्थ रामरोशन दासले यसदिन मन्दिरमा विशेष पूजा आयोजना गरिने जानकारी दिँदै सम्पूर्ण मिथिलावासीलाई घरघरमै पूजा गर्न तथा बेलुका दीपावलीझैँ दीप प्रज्वलन गर्न आग्रह गरे ।

जानकी नवमीका दिन मिथिलामा व्रत बस्ने परम्परा पनि रहेको छ । धार्मिक विश्वासअनुसार यस व्रतले पुत्र प्राप्ति हुने, साथै घरपरिवारमा सुख, समृद्धि र धनको वृद्धि हुने मान्यता छ । माता सीतालाई लक्ष्मीको अवतारको रूपमा पनि पूजिन्छ ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार ‘सीता’ नाम हलोको डोब (संस्कृतमा ‘सीत’)बाट उत्पन्न भएकाले राखिएको हो । वाल्मीकि रामायणमा समेत राजर्षि जनकले खेत जोत्ने क्रममा सीता प्राप्त गरेको प्रसंग उल्लेख गरिएको छ ।

रामायणका कथालाई लिएर विभिन्न कालखण्डमा सयौँ ग्रन्थहरूको रचना भएका छन् । कतिपय वैकल्पिक ग्रन्थहरूमा सीताको जन्मबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरिएका छन् । उदाहरणका रूपमा ‘अद्भूत रामायण’मा सीताको उत्पत्तिबारे भिन्न कथा पाइए पनि वाल्मीकि रामायणलाई सबैभन्दा प्रमाणिक स्रोत मानिन्छ, जहाँ यस्तो प्रसंग उल्लेख गरिएको छैन ।  रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार