इरानका बन्दरगाह वरपर अमेरिकाले लागू गरेको नाकाबन्दीप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ कदमका रूपमा व्याख्या गरेको छ, जसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्धविरामलाई कमजोर पार्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजहरूलाई लक्षित गर्दै कडा सैन्य कारबाहीको चेतावनी दिएपछि बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो ।

विशेषगरी, त्यस्ता जहाजहरूलाई डुबाउनेसम्मको चेतावनी दिइएको सन्दर्भले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ । शान्ति वार्ता सप्ताहन्तमा निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले खाडी क्षेत्रमा इरानी बन्दरगाह र तटीय मार्गहरूमा आवतजावत गर्ने जहाजहरूलाई अवरुद्ध गर्ने निर्णय गरेको थियो । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराममा सहमति भए पनि सोमबार १४०० जिएमटीदेखि उक्त नाकाबन्दी कार्यान्वयनमा आएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै लक्षित नाकाबन्दी लागू गर्नुले तनाव कम गर्नुको सट्टा झन् बढाउने धारणा व्यक्त गरे । उनले यस्तो कदमले पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई कमजोर बनाउने मात्र नभई होर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायातको सुरक्षामा समेत गम्भीर जोखिम उत्पन्न गर्ने बताएका छन् ।
उनका अनुसार, यस्तो व्यवहारले अन्तर्राष्ट्रिय स्थिरता र शान्ति प्रयासलाई क्षति पुर्याउने भएकाले यसलाई जिम्मेवार कदम मान्न नसकिने स्पष्ट भएको छ ।यसअघि इरानले पनि होर्मुज जलडमरूमध्यलाई रणनीतिक रूपमा नियन्त्रणमा लिँदै आफू अनुकूल ठानेका मुलुकका जहाजहरूलाई मात्र आवतजावतको अनुमति दिएको थियो । यसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गरेको छ ।









प्रतिक्रिया दिनुहोस्