सुखड (कैलाली) ।
नवजीवन सहकारी संस्थाले कैलालीको सुख्खडस्थित शाखाका लागि नवनिर्मित भवन सञ्चालनमा ल्याएको छ । तीनतले आधुनिक भवनको उद्घाटन संस्थाका अध्यक्ष देवबहादुर बमले एक कार्यक्रमका बीच गरेका हुन् । करिब ९५ लाख रूपैयाँँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन संस्थाको पूर्वाधार विस्तारको अर्को महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष बमले बताए ।
उनका अनुसार धनगढीको केन्द्रीय कार्यालयसँगै अत्तरिया, टिकापुर, बाँसगढी र सुख्खडमा आफ्नै भवन निर्माणले सहकारीलाई संस्थागत रूपमा अझ मजबुत बनाएको छ । उनले यस सफलतामा विगतदेखि वर्तमानसम्मका सञ्चालक समिति र सदस्यहरूको योगदान उल्लेखनीय रहेको भन्दै आभार व्यक्त गरे ।
सहकारीले मितव्ययी नीति अवलम्बन गर्दै सम्पत्ति विस्तारलाई प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । जोशीपुरमा जग्गा खरिद भइसकेको जानकारी दिँदै त्यहाँ पनि निकट भविष्यमै नयाँ भवन निर्माण गर्ने तयारी भइरहेको बताए । महाप्रबन्धक डम्मरसिंह गुरुले सहकारीको वित्तीय अवस्था प्रस्तुत गर्दै २०८२ फागुन मसान्तसम्म सेयर पूँजी ३४ करोडभन्दा बढी पुगेको जानकारी दिए ।
हाल संस्थामा झण्डै ४० हजार सेयर सदस्य आबद्ध छन् भने जगेडा कोष ५९ करोडभन्दा माथि पुगेको छ । उनका अनुसार कूल बचत ५ अर्ब ४५ करोड नाघिसकेको छ भने नगद मौज्दात करिब १ अर्ब ९३ करोड रहेको छ । स्थिर सम्पत्ति २० करोडभन्दा बढी पुगेको छ भने कर्मचारी सङ्ख्या पनि १२१ पुगेको छ ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझासहित सल्लाहकार, सञ्चालक समिति र सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति थियो । वक्ताहरूले नवजीवन सहकारीको पारदर्शिता, दिगोपन र सदस्यकेन्द्रित सेवाको प्रशंसा गर्दै यसको निरन्तर प्रगतिलाई सराहना गरेका थिए ।
नयाँ भवन सञ्चालनमा आएसँगै सुख्खड क्षेत्रमा सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । यसले सहकारीको पहुँच विस्तार गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्