कैलाली ।
देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नयाँ सरकार गठन, उच्च तहका नेताहरूको पक्राउ र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असन्तोषलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिइएको हो । प्रदेशभर सुरक्षा संयन्त्र सक्रिय र तयारी अवस्थामा रहेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आएको सर्कुलरअनुसार सम्पूर्ण सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन भनिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले देशको समग्र परिस्थितिको मूल्यांकन गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढ्ने सम्भावना देखिएकाले समयमै सतर्कता अपनाइएको हो ।
सुरक्षा तयारीलाई थप प्रभावकारी बनाउन प्रदेशभरका प्रहरी कर्मचारीहरूको बिदा स्थगित गरिएको छ । जिल्ला प्रहरी प्रमुखदेखि सामान्य प्रहरी कर्मचारीसम्म सबैलाई तत्काल लागू हुने गरी बिदा रोक्का गरिएको प्रहरीले जनाएको छ । यससँगै सबै कर्मचारीलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा बस्न निर्देशन दिइएको छ, ताकि कुनै पनि आकस्मिक परिस्थितिमा तुरुन्त परिचालन गर्न सकियोस् ।
प्रहरी उपरीक्षक बोहराका अनुसार यस्तो निर्णय सामान्य अवस्थाभन्दा फरक परिस्थितिमा मात्रै गरिन्छ । ‘सुरक्षा चुनौती बढ्ने संकेत देखिएपछि हामीले पूर्वतयारीस्वरूप यस्तो कदम चालेका हौँ,’ उनले भने । उनका अनुसार अहिलेको अवस्थामा कुनै पनि किसिमको ढिलासुस्ती नहोस् भन्ने उद्देश्यले सबै संरचना सक्रिय बनाइएको छ ।
२३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’को छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसपछि राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । यो घटनाले देशभर राजनीतिक तरंग सिर्जना गरेको छ । सुरक्षा निकायका अधिकारीहरूका अनुसार यस्ता उच्चस्तरीय नेताहरूको पक्राउले समर्थकहरूबीच असन्तोष बढ्न सक्छ । एक प्रहरी अधिकारीले भने, ‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीजस्ता व्यक्तित्व पक्राउ परेपछि त्यसको प्रभाव स्वाभाविक रूपमा देशभर पर्छ । विरोध प्रदर्शन, आन्दोलन वा अन्य गतिविधि हुन सक्ने भएकाले हामीले सतर्कता अपनाएका छौँ ।’
सुदूरपश्चिम प्रदेशमा पनि पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । यसैलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले आवश्यक रणनीति बनाएका छन् । हुल तथा दंगा नियन्त्रणसम्बन्धी अभ्यासहरू सञ्चालन गर्न समेत निर्देशन दिइएको छ । प्रदेश प्रहरी कार्यालयले जिल्लास्तरमा रहेका इकाइहरूलाई तयारी अवस्थामा राख्न, आवश्यक उपकरणहरू तयारी अवस्थामा राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएको छ । यसले सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट पनि प्रदेशका सबै इकाइहरूलाई ‘स्ट्यान्डबाइ’मा बस्न भनिएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । नयाँ सरकार गठनसँगै मन्त्रीपरिषद् विस्तार गरिएको थियो।
सोही दिन बसेको मन्त्रीपरिषद् बैठकले ‘जेनजी आन्दोलन’को छानबिनका लागि गठित आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उक्त आयोगले सरकारलाई दिएको सिफारिसअनुसार नै पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ । सरकारको यो निर्णयले राजनीतिक वृत्तमा नयाँ बहस र विवाद सिर्जना गरेको छ ।
धनगढीमा विरोध प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि विरोध प्रदर्शन गरेका हुन् । एमाले पार्टी कार्यालय धनगढीबाट सुरु भएको ¥याली नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै आफ्ना नेताहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा एमालेका नेताहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले सरकारको कदमलाई प्रतिशोधपूर्ण भन्दै आलोचना गरेका छन् । साथै, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पनि सोही ढंगले व्याख्या गरिएको छ ।
वक्ताहरूले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको भन्दै सरकारको निर्णय सच्याउन आग्रह गरेका छन् । यदि माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् । उनीहरूले देशव्यापी आन्दोलन विस्तार गर्ने तयारी भइरहेको पनि बताएका छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले आवश्यक सतर्कता अपनाएको थियो । यद्यपि, प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। स्थानीय प्रशासनले पनि परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । कुनै पनि किसिमको अशान्ति फैलिन नदिन प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायहरूबीच समन्वय कायम गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्