सेती प्रादेशिक अस्पतालः नर्स र अनमीको परीक्षा विवादमा, प्रश्नपत्र ‘लिक’ भएको दावी



सुदूरपश्चिम ।

सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको लिखित परीक्षा विवादमा तानिएको छ । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको चर्चाले परीक्षा नै विवादमा तानिएको हो । अस्पतालले चैत ७ गते शनिबार दुवै पदका लागि परीक्षा सञ्चालन गरेको थियो । बिहान ९ बजे स्टाफ नर्स र दिउँसो ३ बजे अनमीको परीक्षा सञ्चालन गरिएको थियो ।

अस्पतालले २१ जना स्टाफ नर्स र १८ जना अनमी पदका लागि परीक्षा लिएकोमा स्टाफ नर्सतर्फ ३९ जना र अनमीतर्फ २८ जना उम्मेदवार लिखित परीक्षामा उत्तीर्ण भएका छन् । लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रश्नपत्र पहिले नै बाहिरिएको आरोप लागेको हो ।

यता परीक्षा सञ्चालन समितिका संयोजक तथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डे भने लिखित परीक्षाको नतिजा सार्वजनिक गरेपछि बिरामी भएको भन्दै बिदामा छन् । अस्पतालका निमित्त मेसु डाक्टर खगेन्द्र भट्टले भने परीक्षा समितिमा आफू नभएको र सोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

यता परीक्षा सञ्चालन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकृत दानबहादुर सुनारले प्रश्नपत्र बाहिरिएको आरोप निराधार भएको बताए । ‘हामीले लोकसेवाकै मापदण्डअनुसार परीक्षा सञ्चालन गरेका थियौँ,’ उनले भने, ‘प्रश्नपत्रबारे त परीक्षा समितिमा रहेका सबैलाई जानकारी पनि हुन्न । यस्तो अवस्थामा पेपर लिकको सम्भावना थिएन । कसैले गलत गरेको भए कारबाही हुन्छ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार