इनिशा हत्या प्रकरणः सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष



सुर्खेत ।

वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिशा विकको रहस्यमय हत्या घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। बलात्कारपछि हत्या गरिएको भनिएकी इनिशाको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।
‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ ।

‎इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताइएको छ । प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित सिफारिस गरेको छ । ‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

‎फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै ती १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो ।

‎‎भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो । ‎रिपोर्टको व्याख्यामा जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको भनिएको छ ।

‎इनिशाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ ग¥यो । उनीहरू पनि सबै नाबालक नै हुन् ।‎ मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका थिए । ‎

तर प्रहरीले उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । उनीहरूमाथि इनिशालाई समयमा अस्पताल पु¥याउन मद्दत नगरेको, समयमा प्रहरी र परिवारलाई खबर नगरेको भन्ने हिसाबले कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउने भनिएको छ । तर यसबारे सरकारी वकिलको कार्यालय हुँदै अदालतले अन्तिम फैसला गर्नेछ ।

प्रहरीका अनुसार ‎अझै कतिपय प्राविधिक रिपोर्टहरू आउने बाँकी रहेको पनि छ । उक्त घटनामा अनुसन्धानका लागि सिआईबी, पोलिग्राफदेखि अन्य विज्ञ टोलीहरू सहभागी थिए । ती कतिपय रिपोर्टहरू अध्ययनका लागि बाहिरी देश समेत पठाउनुपर्ने देखिएको सुर्खेत प्रहरीले जनाएको छ । जसका कारण अनुसन्धान अझै बाँकी छ ।

घटना भएको १९ दिन बितिसक्दा पनि तथ्य सार्वजनिक नभएको भन्दै आफन्तहरूले अझै शव बुझ्न मानेका छैनन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १६ वर्षीय किशोरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मुख्य आरोपी किशोरले पनि प्रहरीसमक्ष इनिशासँगको शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण उनी बेहोस भएको बयान दिएको उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार