बर्दगोरियाका ६ वटा खोलामा तटबन्ध निर्माण



धनगढी ।

जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न ६ वटा नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित एक करोड ३० लाख रूपैयाँ बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो ।

बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको लगानीमा बर्दगोरियाका विभिन्न स्थानका ६ वटा नदी तथा खोलामा तटबन्ध निर्माण भइरहेको भू तथा जलाधार कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका इन्जिनियर ताराप्रसाद भट्टका अनुसार उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण सुरु भएको हो । बर्दगोरिया–४ स्थित कुवाघाटकाँडा नदीमा रु ४० लाखमा ठेक्का लगाई काम सुरु गरिएको इन्जिनियर भट्टले जानकारी दिए ।

उनका अनुसार वडा नं ४ स्थित टुन्द्रा क्षेत्रमा भूक्षय नियन्त्रणका लागि रु १० लाख, वडा नं ६ मा रहेको सुवरखालकाँडा नदीमा रु ३० लाख, वडा नं ६ घैला नदीमा रु १५ लाख, वडा नं २ स्थित पथहरिया नदीको कटान नियन्त्रणका लागि रु १५ लाख र वडा नं ५ मा रहेको पथरैया नदीको कटान नियन्त्रणका लागि रु २० को लागतमा उपभोक्ता समितिमार्फत तटबन्धनको काम सुरु भएको छ ।

बर्दगोरियाका ६ वटै नदी तथा खोलामा चालू आर्थिक वर्षको असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको कार्यालयले जनाएको छ । वर्षायाममा ती नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्धनले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ६ वटै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्धन निर्माण प्रभावकारी हुने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार