फुटैफुटमा रमाएका कम्युनिस्टको निरन्तर ओरालो यात्रा



दोस्रो जनआन्दोलनपश्चात् २०६४ को निर्वाचनमा नेपालका कम्युनिस्ट भनेर चिनाउन चाहने दलहरूले ६० प्रतिशत बढी सिट जितेका थिए । उक्त निर्वाचनको परिणाम नेपालको कम्युनिस्ट दल स्थापना भएको साढे ७ दशकमा कम्युनिस्ट घटकहरूले पाएको सबैभन्दा बढी सिट थियो । तर, उक्त निर्वाचन भएको दुई दशक नबित्दै २०८२ फागुन २१ मा भएको निर्वाचनमा कम्युनिस्ट विचारधाराका दलहरूको सिट १५ प्रतिशतमा खुम्चिएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

दश वर्षे सशस्त्र द्वन्द्वको जगमा भएको दोस्रो जनआन्दोलनपश्चात् २०६४ को निर्वाचनमा नेपालका कम्युनिस्ट भनेर चिनाउन चाहने दलहरूले ६० प्रतिशत बढी सिट जितेका थिए । उक्त निर्वाचनको परिणाम नेपालको कम्युनिस्ट दल स्थापना भएको साढे ७ दशकमा कम्युनिस्ट घटकहरूले पाएको सबैभन्दा बढी सिट थियो ।

तर, उक्त निर्वाचन भएको दुई दशक नबित्दै २०८२ फागुन २१ मा भएको निर्वाचनमा कम्युनिस्ट विचारधाराका दलहरूको सिट १५ प्रतिशतमा खुम्चिएको छ । २०१५ सालमा भर्खरै राजनीतिक चेतना आउँदै गरेको समयमा कम्युनिस्ट दलहरूले पाएको चार प्रतिशत सिटलाई छोड्ने हो भने कम्युनिस्ट दलहरू यतिखेर इतिहासकै सबैभन्दा कमजोर मताधारको स्थितिमा छन् ।

यसका पछाडि कम्युनिस्ट भन्न रुचाउने दलहरूको फुट पुनरावृत्ति भइरहने प्रवृत्ति धेरै कारणमध्ये एक हो । २००६ साल वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको नेपालको पहिलो कम्युनिस्ट पार्टी राम्ररी संगठित हुन नपाउँदै २०१७ सालमै पहिलोपटक फुटेको थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी गरी पाँचजा संस्थापकहरूबाट सुरू भएको कम्युनिस्ट आन्दोलन झाँगिएर देशको जनमतको ६० प्रतिशतसम्म ओगट्ने त बन्यो ।

तर त्यो कम्युनिस्ट जनमत बाहिरबाट हेर्दा जति बढी देखिन्थ्यो, भित्र त्यसको संगठन संरचनामा चिरैचिराहरू थिए र अहिले पनि छन् ।स्थापनाको साढे सात दशकमा ठूला फुटहरूको मात्रै हिसाब गर्ने हो भने पनि २००६ सालको कम्युनिस्ट पार्टीको मूल मान्ने हो भने यो विचारधारात्मक राजनीतिक दलहरू १३ पटक फुटिसकेका छन् । फुटेर बनेका साना हाँगा र दलहरूमा भएका फुटहरूको त हिसाब नै छैन ।

कम्युनिस्ट पार्टी स्थापनाको एक दशक पूरा भएको मात्रै के थियो फुट श्रृंखला सुरु भयो । २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटेका थिए । २०१४ सालको दोस्रो महाधिवेशनबाट राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने लाइन बोकेका केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए। जब २०१७ साल पुस १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हाले, रायमाझीले त्यसको स्वागत गरे ।

पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझिको विपक्षमा उभिए । कालान्तरमा दरबारकै पक्षमा गएका रायमाझीकै कारण पहिलोपटक कम्युनिस्ट आन्दोलनभित्र फुटको बीउ रोपियो । स्थिति यस्तोसम्म भइसकेको थियो कि २०२३ सालसम्म आइपुग्दा पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन हुनेदेखि केशरजंगको समूह छुट्टिएर दरबारतर्फ लाग्यो ।

२०२५ सालमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराए पनि उक्त महाधिवेशन पक्षधर समूह पनि फुटेर प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि अलग भए । २०२८ सालमा नेपाल कम्युनिस्ट पार्टीभित्र झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गरी दुईवटा धार बने समग्रमा कम्युनिस्टभित्र तीनवटा धार बने ।

एउटाको नेतृत्व सिपी मैनालीले गर्थे, जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए । अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्थे । पुष्पलाल यी दुवै धारबाट अलग थिए ।

झापा विद्रोहबाट उदाएको एमाले युवा विद्रोहपछि संकटमा

२०३५ साल साउनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो । पुष्पलालको निधनअघि नै उनी निकट रहेका मदन भण्डारी, वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए । यता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो ।

यी दुबै समूहमात्रै थिए, पार्टी बनिसकेका थिएनन् । दुवै समूह मिलेर २०३५ पुस ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) गठन गरे । ०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले । ०३६ सालमा सुधारिएको पञ्चायत वा बहुदल रोज्न राजा वीरेन्द्रले गराएको जनमत संग्रहलाई नेकपा मालेले बहिष्कार ग¥यो भने मनमोहनले बहुदलका पक्षमा चुनावमा भाग लिए र नेपाली काँग्रेसलाई साथ दिए ।

यता पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाइरहेका थिए । पुष्पलालको उक्त पार्टी र मनमोहन अधिकारीको पार्टीसँग २०४३ सालमा एकता भयो र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो । २०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाममोर्चा बनेको थियो ।

त्यही मोर्चा जनआन्दोलन सफल भएपछि २०४७ साल पुसमा एकताबद्ध भएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बनेको थियो । जसको पहिलो महसचिवमा मदन भण्डारी चयन भएका थिए । मदन भण्डारीले बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने नयाँ सिद्धान्त बनाए जसलाई जनताको बहुदलीय जनवाद भनियो ।

२०५० जेठ ३ गते मदन भण्डारीको निधन भएपछि माधवकुमार नेपाल एमालेको महासचिव बने । तर, भारतसँग गरिएको महाकाली सन्धिको पक्ष विपक्षमा बाडिएपछि एमाले पनि फुट्यो । नेपाल र केपी ओली सन्धिको पक्षमा थिए भने विपक्षमा रहेकाहरूको नेतृत्व गरेर वामदेव गौतम र सिपी मैनालीले २०५४ सालमा पार्टी फुटाए । त्यसको पाँच वर्षपछि २०५९ सालमा गौतम एमालेमै फर्किएपनि मैनालीको सानो समूह छुट्टै रह्यो ।

सशस्त्र विद्रोहबाट स्थापित माओवादी युवा विद्रोहसँगै संकटमा

२०२८ सालमा बांडिएको झापा विद्रोहको धार बढ्दै गएर एमालेको उदय हुँदा यता केन्द्रीय न्यूक्लियस कमिटीतर्फको धार फुट्दै–जुट्दै उदाएको थियो नेकपा माओवादी । तत्कालीन छरिएका कम्युनिस्ट समूहहरूलाई एकीकृत गर्न बनेको ‘केन्द्रीय न्युक्लियस’ असफल भएपछि मोहनविक्रम सिंहले २०३१ सालमा कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन भनेर भारतमा भेला बोलाए ।

उक्त महाधिवेशनले मोहनविक्रम सिंहलाई पार्टीको महासचिवमा निर्वाचित गरेको थियो भने ‘नयाँ जनवादी क्रान्ति’को लाइन पारित गरेको थियो। पुष्पलाल श्रेष्ठले राजाविरुद्ध नेपाली काँग्रेससँग मिलेर जानुपर्छ भन्ने नीति (संयुक्त मोर्चा) लिएकोमा चौथो महाधिवेशनले संविधानसभाको निर्वाचन हुनुपर्ने राजनीतिक एजेण्डा अघि सा¥यो ।

मोहनविक्रम सिंहले पुष्पलाललाई ’गद्दार’ भन्दै एउटा चर्चित पुस्तकसमेत लेखे । प्रचण्ड, भट्टराई, मोहन वैद्यजस्ता नेताहरू सोही चौथो महाधिवेशन (चौम) धारबाट आएका नेताहरू हुन् । २०३० को दशकमा यो समूह नेपालको सबैभन्दा संगठित र ठूलो कम्युनिस्ट शक्तिको रूपमा स्थापित भएको थियो ।

तर, २०३५ सालमा मोहनविक्रम सिंहमाथि अनुशासन र नैतिक आचरणको प्रश्न उठाई महासचिवबाट हटाइयो र निर्मल लामा नेतृत्वमा आए । २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । २०४१ सालमा भएको पाँचौँ महाधिवेशनमा प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरे ।

उक्त महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए । आफूलाई कारबाही गरेको वर्ष दिनपछि मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नेकपा मसाल नामक नयाँ पार्टी बनाए । उता वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो । यसरी चौथो महाधिवेशन पनि पातलो मसाल र मोटो मशालमा विभाजित भयो ।

२०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय ग¥यो । यो समूहले २०४६ सालको आन्दोलनमा मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाममोर्चा संलग्नता जनाएन । बरु नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम)लगायत मिलेर अलग्गै संयुक्त जनआन्दोलन संयोजन समिति बनाए ।

आन्दोलन सफल भएपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूहबीच एकता भयो र नयाँ बनेको पार्टीको नाम राखियो, नेकपा (एकता केन्द्र) । मोहनविक्रमको पार्टीबाट छुट्टिएर बाबुराम भट्टराई पनि एकता केन्द्रमै मिसिए ।

एकताको दुई वर्षमै सशस्त्र युद्धको विषयलाई लिएर एकता केन्द्र पनि फुट्यो । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकता केन्द्र) गठन गरे भने प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेरेर नेकपा माओवादी बनायो । नारायणकाजी श्रेष्ठ एकता केन्द्रकै नाम लिएर बसे ।

सोही नाम फेरेर बनाइएको नेकपा माओवादीले नै १० वर्ष माओवादी जनयुद्ध, २०६२–६३ सालको दोस्रो जनआन्दोलन हुँदै २०६४ को संविधानसभा निर्वाचनमा सर्वाधिक सिटमा जित हासिल गरेको थियो । तर, जनताले दिएको जनमतलाई सम्मान गर्न नसक्दा र फुटकै श्रृंखलाले अहिले संकटको स्थितिमा पुगको छ ।

२०६४ पछिका फुटहरू ः जसबाट आजित भए जनता 

२०५१ सालबाट सुरु गरेको सशस्त्र विद्रोहले देशको राजनीतिको केन्द्रमा नेकपा माओवादीलाई स्थापित गरायो । राज्य र अरु राजनीतिक दलहरूले माओवादीलाई आतंककारी भनेर लामो समय दमनको नीति लिए पनि राजा ज्ञानेन्द्रले २०५९ मा शासन सत्ता हातमा लिएपछि सबै राजनीतिक शक्तिहरूलाई सोच्न बाध्य बनायो ।

सशस्त्र विद्रोहमा रहेको माओवादीलाई पनि साथमा लिएर आन्दोलन गर्ने रणनीति दलहरूले बनाए । २०६२ मंसिर ७ गते तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)बीच भारतको राजधानी नयाँ दिल्लीमा १२ बुँदे समझारी भयो । उक्त समझदारीले राजाको निरंकुशताविरुद्ध संयुक्त जनआन्दोलन गर्ने र पूर्ण लोकतन्त्र स्थापना गर्ने घोषणा ग¥यो ।

उक्त समझदारीमा संविधानसभाको निर्वाचन गर्ने, सशस्त्र द्वन्द्व अन्त्य गरी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने, माओवादीले आफ्ना गल्तीहरू सुधार्ने र सात दलले विगतका कमजोरीप्रति आत्मालोचना गर्ने विषय उल्लेख थिए । सोही समझदारीका आधारमा २०६३–०६३ को जनआन्दोलन सफल भयो ।

सोही आन्दोलनको बलमा अन्तरिम संविधान, अन्तरिम संसद्, २०६४ सालमा संविधानसभाको निर्वाचन हुँदै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गर्ने काम भए । तर, २०६४ मा ६ सय १ मध्ये दुई २९ जना माओवादी पार्टीबाट जितेको थियो । यसबाहेक एमालेका एक सय ८, जनमोर्चाका ८, नेकपा एकीकृतका ५, राष्ट्रिय जनमोर्चाका ४, नेमकिपाका ५, जनमुक्तिका २ र नेकपा संयुक्तका २ गरी कम्युनिस्ट घटकको ६० प्रतिशत सिट रहेको उक्त संविधानसभाले संविधान जारी गर्न सकेन ।

ठूला ठूला नारा र चर्का भाषणलाई पत्याएर आफ्नो जीवनमा परिवर्तन आउने आशाले जनताले मत दिएकोमा उनीहरू संविधान नै दिन असफल भए । त्यसैकारण २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन गर्नुप¥यो । उक्त निर्वाचनमा कम्युनिस्टहरू ४७ प्रतिशतमा खुम्चिए । काँग्रेसको सरकार बन्यो र काँग्रेसकै नेतृत्वमा २०७२ सालमा संविधान जारी भयो ।

यति मात्रै होइन विद्रोहमार्फत शान्तिपूर्ण राजनीतिमा पनि सुखद् रुपान्तरण पाएको माओवादीभित्र फेरि फुटको श्रृंखला सुरु भयो । माओवादीबाट सुरुमा मोहन वैद्य र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले । २०७२ को संविधान जारी भएपछि त माओवादी सशस्त्र विद्रोहका प्रमुख विचारक तथा नेतृत्वकर्तामध्ये एक बाबुराम भट्टराईले नै पार्टी छोडे । उनले त पार्टी मात्रै छोडेन् कम्युनिस्ट आन्दोलन नै छोडेर नयाँ शक्ति बनाउने भन्दै अर्काे धारको राजनीतिको प्रयोगमा लागे ।

देशमा संविधान जारी दुई ठूला कम्युनिस्ट दलहरूले एउटा बहस छेडे, स्थायी सरकारको । विचारधाराको ध्रुवीकरण नहुँदा कुनै पनि पार्टीले बहुमत नल्याउने, सरकार पूरा समय नचल्ने र त्यसले आर्थिक रुपान्तरण पनि गर्न नसकिने भएकोले कम्युनिस्ट एकतामार्फत स्थायी सरकार दिने उनीहरूले बाचा गरे । त्यही बाचा गरेर २०७४ मा जुटेका नेकपा एमाले र माओवादीले गठबन्धन गरी चुनावमा गए र जनताले उनीहरूलाई झण्डै दुईतिहाइ सिट पनि दिलाए ।

चुनावपछि एउटै पार्टी बनाउने भनेका उनीहरूले पार्टी एकीकरण पनि गरे । तर, उनीहरूले एकता लामो समय टिकाउन सकेनन् । एमालेका केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै ‘अध्यक्ष’ रहेको उक्त पार्टी फुट्नुमा वैचारिकभन्दा पनि व्यक्तिगत र पदको टकराव मुख्य कारण रहे । दुई अध्यक्ष भए पनि कार्यकारी अधिकार कसको हुने भन्नेमा लडाइँ भयो ।

ओलीले सरकार र पार्टी दुवैमा आफ्नो पकड बलियो बनाउन खोजे भने प्रचण्डले ‘आधा–आधा कार्यकाल’ प्रधानमन्त्री वा कार्यकारी अध्यक्षको माग गरिरहे । एमालेभित्रका असन्तुष्ट पक्ष माधव नेपाल समूहले पनि प्रचण्डसँग हात मिलाएपछि ओली पार्टीभित्र अल्पमतमा परे । यसले ‘दुई अध्यक्ष’बीचको लडाइँलाई ‘बहुमत र अल्पमत’ का रूपमा बदल्यो । कम्युनिस्ट पार्टीभित्रको यो झगडा त्यसअघिका झगडाभन्दा फरक किन थियो भने यो कम्युनिस्टहरू सत्तामा रहेका बेला भइरहेको थियो ।

जसको असर हरेक नागरिकमाथि परिरहेको थियो । पार्टीभित्रको घेराबन्दी तोड्न भन्दै केपी ओलीले २०७७ पुसमा प्रतिनिधिसभा विघटन गरिदिए । जसलाई अदालतले असंवैधानिक रहेको फैसला गरिदियो । यता दुई पार्टी मिलाएर राखिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ नामकै विषयमा पनि अदालतले उनीहरूकोे प्रतिकूल गल्ती औँल्याइदियो ।

ऋषि कट्टेलले आफ्नो पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ भएको दाबी गर्दै हालेको मुद्दामा सर्वोच्चले एमाले र माओवादीको एकता नै बदर गरिदियो । यसले दुवै पार्टीलाई एकतापूर्वको अवस्थामा फर्काइदियो । उक्त स्थितिले एमाले माओवादी मात्रै अलग भएनन्, एमालेबाटै फुटेर माधवकुमार नेपालले अलग्गै दल नेकपा (एकीकृत समाजवादी) बनाए ।

एकता भंग भएपछि नेपालको राजनीति पुनः अस्थिरता र अन्योलतर्फ धकेलियो । जनताले ५ वर्षका लागि दिएको बलियो म्यान्डेट खेर गयो । सरकारहरू छिटो–छिटो परिवर्तन हुने पुरानो रोग पुनः बल्झियो । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा दिइएकोमा त्ससको कुनै महसुस हुन नपाएपछि जनताहरूमा आक्रोश बढ्न थाल्यो । त्यही आक्रोशको अलिअलि संकेत नागरिकहरूले २०७९ को निर्वाचनमै दिइसकेका थिए । २०७४ मा ६४ प्रतिशत सिटमा रहेका कम्युनिस्टहरू २०७९ मा एकाएक ४१ प्रतिशतमा झरेका थिए ।

तर, उनीहरूले त्यो संकेत बुझ्न ढिलाइ गरे । तेस्रो भएको माओवादीले जनमतविपरीत सरकारको नेतृत्व गर्ने लालसा राख्यो । सिद्धान्तविहीन गठबन्धन गर्दै सरकार ढाल्ने र बनाउने खेलमै उनीहरू रुमल्लिइरहे । अन्ततः एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेला अलोकप्रिय निर्णयहरूकै कारण युवा वर्गले विद्रोह ग¥यो ।

जुन विद्रोहले उनीहरूलाई दुई दशकमै ६० प्रतिशत सिटबाट १५ प्रतिशत सिटमा खुम्च्याइदिएको छ । र यतिखेर बहस भइरहेको छ, अब पनि उनीहरूले आफ्ना गल्ति सुधारेनन् भने जनता उनीहरू तिर फर्किने बाध्यतामा हुने छैनन् । प्रचण्ड नेतृत्वमा १८ बढी दल मिलेर बनेको नेकपाले पनि यसपटक जनताको मत जित्न नसक्नु त्यसको एउटा उदाहरण हो ।

कम्युनिस्टका १३ ठूला फुटहरू

  • २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटे ।
  •    २०२३ सालमा एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो अर्कोतिर केशरजंगको समूह छुट्टियो ।
  •  पुष्पलालले गराएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट बनेको समूह २०२५ सालमै टुट्यो ।
  •  २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस बन्यो ।
  •  २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए ।
  • २०५४ सालमा महाकाली सन्धिको विरोध गर्दै वामदेव गौतम र सिपी मैनालीले पार्टी फुटाएर नेकपा माले गठन गरे ।
  •  मोहनविक्रम सिंहको चौथो महाधिवेशन २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो ।
  •  आफूलाई कारबाही गरेको वर्ष दिनपछि २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए– नेकपा मसाल । पाँचौँ महाधिकवेशनबाट अध्यक्ष भएका वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो । पातलो मसाल र मोटो मशालमा उनीहरू विभाजित भए ।
  •  २०५९ सालमा मिलेको एकता केन्द्रभित्र फेरि माओवादीलाई हेर्ने दृष्टीकोणमा मतभेद सुरु भयो । २०६३ सालमा उनीहरू फेरि फुटे ।
  • २०६४ सालमै मोहन वैद्य र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले ।
  •  २०७२ को संविधान जारी भएपछि बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलन नै छोडे ।
  • २०७४ मा जुटेका नेकपा एमाले र माओवादी मात्रै फुटेनन्, एमालेबाटै फुटेर माधवकुमार नेपालले अलग्गै दल नेकपा (एकीकृत समाजवादी) बनाए ।
    कम्युनिस्टका ९ ठूला जुटहरू 
  •  पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए । २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो ।
  •  २०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको माक्र्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो ।
  •  जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भयो । एकतापछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बन्यो । महासचिवमा मदन भण्डारी छानिए ।
  • २०५९ मा फेरि गौतम एमालेमै फर्किए । मैनालीको सानो समूह छुट्टै बस्यो ।
  •  २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय ग¥यो । बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) राखियो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए ।
  •  २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकता केन्द्र) गठन गरे ।
  • २०६४ को पहिलो संविधानसभाको चुनाव भयो । माओवादी संसदीय राजनीतिमा आयो । यसबीच नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्न आयो ।
  •  २०७४ मा नेकपा माओवादी र नेकपा एमाले मिलेर एउटै कम्युनिस्ट पार्टी बनाए ।
  •  २०८२ को निर्वाचनअघि नेकपा माओवादी, नेकपा एससहित डेढ दर्जन बढी दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाए । तर, यस चुनावले कम्युनिस्ट दललाई इतिहासकै कमजोर अवस्थामा पु¥यायो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार