हुम्ला ।
जिल्ला सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । सदरमुकामस्थित एकताचोक र काठे चुलीस्थित महिलाले प्रशासन घेराउ गरेका हुन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको उनीहरुको भनाइ छ ।
१० दिनदेखि धारामा पानी नआएको गुनासो गर्दै सिमकोट गाउँपालिका–५ र ६ बजारस्थित स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका हुन् । धारामा पानी नआएपछि स्थानीय महिलाले खाली (रित्तो) ग्यालेन, ड्रम र बाल्टिन बोकेर प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए।
पटक पटक सिमकोट गाउँपालिकालाई खानेपानीको व्यवस्था गर्न स्थानीयले माग गरे पनि सुनुवाइ नगरेको स्थानीय उद्गम बुढाले गुनासो गरे । धारामा पानी नआएपछि फागुन ३० गते सिमकोट गाउँपालिकालाई खानेपानीको समस्या समाधानका लागि निवेदन दिएको तर सुनुवाइ नभएको उनको भनाइ छ ।
उनका अनुसार बजारका केही धारामा धमिलो पानी आउने गरेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिको चरम लापर्बाहीका कारण सिमकोट बजारमा बस्दै आएका सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । गाउँपालिकाले सुनुवाइ नगरेपछि चैत ३ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको अर्का स्थानीय निर्मला ऐडीले बताइन् । प्रशासन घेराउ गर्न पुगेका महिलाले खानेपानीको माग राखेर निवेदन पेस गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यसबारे सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई जिल्ला प्रशासन कार्यालयमै बोलाएर छलफल गरेको बताए । छिट्टै खानेपानी समस्या समाधान हुने उनको भनाइ छ । यता सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले जतिसक्दो छिटो गर्ने समस्या समाधान सहमति गरेपछि धर्नामा बसेका महिला फिर्ता भएका थिए ।









प्रतिक्रिया दिनुहोस्