वीरेन्द्रनगर ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यासको अनावश्यक सञ्चितीकरण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । सुर्खेत जिल्लामा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सरोकारवालासँग समन्वय बैठक गरी विभिन्न निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको अध्यक्षतामा बसेको बैठकले ग्यासको अनावश्यक सञ्चितीकरण नगर्न आम उपभोक्तालाई आग्रह गरेको हो ।
बैठकले जिल्लामा उपलब्ध ग्यास तथा पेट्रोलियम पदार्थको मौज्दातबारे समीक्षा गर्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको प्रजिअ उपाध्यायले बताए । ‘निर्णयअनुसार ग्यास विक्रेताले दैनिक रूपमा प्राप्त र बिक्री गरिएको परिमाणको अभिलेख राखी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ,’ उनले भने, ‘त्यस्तै, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास वितरण गर्न निर्देशनसहित निर्णय भएको छ ।’
उनका अनुसार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श तथा उपभोक्ता मञ्चलगायत निकायलाई नियमित निरीक्षण गरी प्रशासन र प्रहरीलाई जानकारी गराउन भनिएको छ । साथै, ग्यासको मूल्यवृद्धि, कृत्रिम अभाव वा अनियमितता भएमा तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत फैलिने अफवाह नियन्त्रण गर्न नेपाल प्रहरीले आवश्यक कदम चाल्ने र दोषीमाथि कानुनी कारबाही गरिने निर्णय पनि गरिएको छ । खुला रूपमा बोतल वा जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।यस्तै, अत्यावश्यक सेवा तथा राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक इन्धन सम्बन्धित निकायको सिफारिसमा उपलब्ध गराइनेछ भने कारोबार गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रशासनले विद्युतीय चुल्हो प्रयोग बढाई एलपी ग्यासमाथिको निर्भरता घटाउन पनि आम नागरिकलाई आग्रह गरेको छ । साथै, नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयको भण्डारण क्षमता विस्तार गर्ने कामलाई तीव्रता दिने र नेपालगन्जस्थित भण्डारणबाट सुर्खेतका लागि निश्चित परिमाण सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ । बैठकमा नेपाल आयल निगम, एलपी ग्यास विक्रेता, उद्योगी व्यवसायी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्