धनगढी ।
कैलालीमा गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ । जिल्लाको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधबार भिड पसेको हो । सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ ।
डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ । स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागितामा छलफल भइरहेको थियो ।
छलफल सकिएपछि स्थानीय युवाहरू गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पौडेलबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।
डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ । घटनाको छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ । बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्