सुर्खेत ।
इनिसा विक मृत्यु प्रकरणबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संसद्बाटै जवाफ दिएका छन् । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसाको घटनाले कर्णाली प्रदेशसभा बैठकमा पनि प्रवेश पाएको हो । बिहीबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीदेखि प्रतिपक्षका सांसदहरूले उक्त घटनाबारे बोलेका हुन् ।
सुरुमै बोलेका मुख्यमन्त्री यामलाल कँडेलले युट्युबरले उक्त घटनामा आफूलाई जोडेर गलत तरिकाले प्रचार गरेको दाबी गर्दै उक्त विषयमा प्रष्टीकरण दिए । इनिसाको घटना फागुन २३ गते घटेको थियो । मुख्यमन्त्री कँडेल फागुन २८ गतेतिर बिहान वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको इनिसाको परिवारसँग भेट्न घरमै पुगेका थिए । त्यहाँ उनले इनिसाकी आमासँग भेटेर न्याय दिलाउने भन्दै सान्त्वना दिएर फर्किएको पाइन्छ ।
तर, त्यहीँ बाहिर रहेका युट्युबरले उनीसँग कुरा गर्न खोज्दा कँडेलले बोल्न भने मानेनन् । अनि युट्युबरले केही युवाहरूसँग प्रतिक्रिया पनि लिएको पाइन्छ । ती युवाहरूले मुख्यमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्नु छाडेर पीडित परिवारलाई शव कहिले उठाउनुहुन्छ ? भनेर भनेको भन्दै जानकारी गराइदिए । उक्त कुरा सामाजिक सञ्जालमा भाइरल बन्यो र कँडेलको आलोचना भयो ।
युट्युबरले गर्दा मुख्यमन्त्री कँडेललाई हैरान बनाएपछि उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिए । तर, पनि सामाजिक सञ्जालमा उनको आलोचना भने रोकिएन । बिहीबारको संसद्मा उनले यही विषयमा प्रष्टीकरण दिएका हुन् । आफ्नो कर्तव्य ठानेर मृतकको परिवारलाई भेट्न गएको उनले बताए ।
‘मलाई लाग्छ उक्त घटनामा संलग्नहरूलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारबाही हुन्छ नै,’ उनले भने, ‘प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजीकरण गर्ने कुरा मैले मृतकको आमासँग व्यक्त गरेको थिएँ । तर त्यसलाई केही भ्रम सिर्जना गर्ने गरी प्रचार गरियो ।’ दुःखद् घटनाहरूको निन्दा, भत्र्सना गर्नुपर्ने भन्दै कानुनले भ्याएसम्म दण्डित गरेर अगाडि बढ्ने परिस्थिति र अवस्था निर्माण गर्नुपर्ने कँडेलको भनाइ छ । त्यसो गर्दा मात्रै सुरक्षित समाज निर्माण गर्न सकिने उनले बताए ।
तर विरोधका नाममा आफैँ फैसला गर्ने, आफैँ अनुसन्धान गर्ने, आफैँ गर्ने तरिकाले समाजमा के कस्तो प्रभाव पर्छ ? भन्दै उनले उल्टै प्रश्न पनि गरेका छन् । युट्युब तथा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो आफूले पीडित परिवारसँग कुनै संवाद नगरेको उनको दाबी छ । साथै उनले अहिले उक्त घटनामा केन्द्रीय तहको अनुसन्धान पनि सुर्खेतमै आएर भइरहेको कुरा संसद्मार्फत जानकारी गराए ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि युट्युबरले घटनामा आफैँ न्यायाधीश बनेर फैसला गरिरहेको भन्दै आपत्ति जनाए । घटनाको विषयमा अनुसन्धान भइरहेका बेला युट्युबमा विभिन्न तरिकाले प्रचार गर्ने काम गलत रहेको उनको भनाइ छ । संसद्मा बोल्ने सबै सांसदहरूले इनिसा मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही दायरामा ल्याउन माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्