नेपालमा युद्धबाट अहिलेसम्म प्रत्यक्ष भोगिएको प्रभाव खाना पकाउने ग्यासको अभाव र पेट्रोलियम इन्धको मूल्यमा भारी वृद्धि मुख्य हो । नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेलमा १० रूपैयाँ वृद्धि गरेको छ । यसले भान्सादेखि यात्रा तथा ढुवानी लागत महँगो बनाइसकेको छ । तर अहिलेसम्म बाहिर नदेखिएको अर्काे समस्या छ, जसले झनै भयावह स्थिति ल्याउने जोखिम रहेको उद्योगीहरू बताउँछन् । त्यो हो प्लास्टिक कच्चा पदार्थको अभावले उद्योगहरू नै ठप्प हुने अवस्था ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित एक प्लास्टिक उद्योगका सञ्चालक चिरञ्जीवि ओलीका अनुसार अहिले नेपालका प्लास्टिकका सामान बनाउने उद्योगहरूले कच्चा पदार्थ (प्लास्टिक दाना) पाउन मुस्किल हुन थालिसकेको छ । नेपालमा प्लास्टिक दाना मुख्यगरी भारतबाट आयात गरिन्छ।
‘त्यहाँका प्लास्टिक दाना उत्पादक कम्पनीहरूले अहिले डिल लिन छोडिसके । जबसम्म युद्ध सकिन्न तबसम्म डिल लिन सकिन्न भनेर उनीहरूले स्पष्ट रूपमा भनिसकेका छन् । डिल भएको एक महिनाभित्र सामान लिइसक्नुपर्छ । युद्धअघि डिल फाइनल भइसकेर दाना पाएका उद्योगहरू त्यसैबाट काम चलाइरहेका छन् । नयाँ डिल ठप्प छ,’ उद्योगी ओलीले मिसन टुडेसँग भने ।
प्लास्टिकका सामान उत्पादनका लागि चाहिने पोलिमर पेट्रोलियम पदार्थ हो । जहाँबाट पेट्रोल र एलपिजी ग्यास निकालिन्छ तिनै खानीहरूबाट पोलिमरहरू पनि निकालिन्छ । जसको मुख्य स्रोत हुन् तिनै मध्यपूर्वका खाडी देशहरू । जहाँ अहिले इरानविरुद्ध अमेरिका र इजरायल युद्धमा छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य र प्रशासनिक अखडाहरूमा ठूलो हवाई आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएका थिए । त्यसपछि इरानमा अलिका छोरा मोज्तबा खामेनी सर्वोच्च नेता चुनिएका छन् । इरानले उक्त आक्रमणको प्रतिकारस्वरुप इजरायल र अमेरिकका मध्यपूर्वका देशमा रहेका सैन्य अड्डाहरूलाई लक्षित गर्दै हवाई हमला गरिरहेको छ । साथै, मार्च २ मा स्ट्रेट अफ होर्मुज हुँदै जाने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएको थियो ।
युद्ध सुरु भएयता इरानले स्ट्रेट अफ होर्मुजका साथै फारसको खाडी र ओमानको खाडी क्षेत्रमा २२ वटा जहाजमा आक्रमण गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यसपछि करिब पाँच सय तेल र ग्याँस ट्यांकर, पाँच सय कन्टेनर जहाज र ६ वटा क्रुज जहाजहरू उक्त मार्गको दुवैतर्फ अड्किएका छन् ।
स्ट्रेट अफ होर्मुज विश्वको करिब २० प्रतिशत इन्धन र पेट्रोलियम पदार्थ बोकेका जहाजहरू वारपार गर्ने समुद्रको साँधुरो क्षेत्र हो । जहाजहरू त्यहाँ अड्किएसँगै त्यसको प्रभाव विश्वभरी परेको छ । अर्थतन्त्रका जानकारहरूले यसले विश्वभरी आर्थिक मन्दी निम्त्याउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । नेपालमा युद्धबाट अहिलेसम्म प्रत्यक्ष भोगिएको प्रभाव खाना पकाउने ग्यासको अभाव र पेट्रोलियम इन्धको मूल्यमा भारी वृद्धि मुख्य हो ।
नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजेलमा १० रूपैयाँ वृद्धि गरेको छ । यसले भान्सादेखि यात्रा तथा ढुवानी लागत महँगो बनाइसकेको छ । तर अहिलेसम्म बाहिर नदेखिएको अर्काे समस्या छ, जसले झनै भयावह स्थिति ल्याउने जोखिम रहेको उद्योगीहरू बताउँछन् । त्यो हो प्लास्टिक कच्चा पदार्थको अभावले उद्योगहरू नै ठप्प हुने अवस्था ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार अहिले नेपालका प्लास्टिकका सामग्री उत्पादन गर्ने उद्योगहरूसँग एक हप्ताका लागि पुग्ने कच्चा पदार्थ मात्रै बाँकी छ । ‘कच्चा पदार्थ एक हप्ताका लागि मात्रै पुग्ने अवस्था छ भन्ने साथीहरूबाट जानकारी आएको छ । खोलिएको एलसी पनि रद्द भएको बताइरहनुभएको छ,’ वैद्यले मिसन टुडेसँग कुरा गर्दै भने ।
वैद्य उद्योग क्षेत्रले कल्पना नगरेको समस्या भोग्ने अवस्था देखिएको बताउँछन् । ‘अहिलेसम्म ग्यास र तेलमा प्रभाव पर्ने मात्रै ठानिएको थियो । नाकाबन्दीकोजस्तै मात्रै असर होला भन्ने सोचिएको हो । तर, खाडी मुलुकहरूबाट त प्लास्टिकको कच्चा पदार्थसमेत ठप्प हुँदा त्यसले प्लास्टिकका सामान उत्पादन गर्ने उद्योग मात्रै नभै समग्र उद्योग क्षेत्र नै प्रभावित हुने देखियो,’ वैद्य भन्छन् ।
उनले कच्चा पदार्थ नपाइने समस्या मात्रै होइन, मूल्यमा पनि ८० प्रतिशतसम्म वृद्धि भएको बताए । प्लास्टिक सामग्रीहरू उत्पादन बन्द हुनु भनेको प्याकेजिङ गरेर बजारमा पठाइने सामग्रीका उद्योगहरू पनि सिधै प्रभावित हुनु हो । विशेषगरी खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरूले प्याकेजिङ गर्ने सामग्रीहरू पाउन रोकिन सक्ने त्रासमा उद्योगीहरू रहेका वैद्यले बताएका छन् ।
‘बाहिरबाट आउने कच्चा पदार्थमा आधारित उद्योग मात्रै होइन यहीँका कच्चा पदार्थमा आधारित उद्योग पनि प्याकेजिङ गर्ने सामग्रीको अभाव भयो भने समस्यामा पर्न सक्ने अवस्था देखियो,’ वैद्यले भने । उनले लुम्ब्रिकेन्ट आयल र कोइलाहरू पनि खाडीकै देशहरूबाट आउने हुँदा अहिले त्यसको आवश्यकता पर्ने सिमेन्ट तथा फलामका उद्योगहरू पनि प्रभावित भएका जानकारीमा आएको बताए ।
नेपालका उद्योगहरू मुख्यतया आयातित कच्चा पदार्थमा निर्भर छन् । अधिकांश मुख्य कच्चा पदार्थ भारतबाटै आयात गर्ने गरिन्छ । भारतले पनि तेस्रो मुलुुकबाट त्यस्ता पदार्थहरू आयात गर्ने हुनाले भारतको बजारमा परेको असर तुरुन्त नेपालको बजारमा पनि देखिन थालिहाल्ने वैद्यको भनाइ छ ।
अहिले भारतले कूटनीतिक तवरबाट स्टे«ट अफ होर्मुजबाट जहाजहरू आउनजान दिने प्रयास गरिरहेकोले केही आशा गर्न सकिने ठाउँ रहेको र त्यसबाट नेपाललले पनि लाभ उठाउन भारतसँग कूटनीतिक पहल गर्नु आवश्यक रहेको वैद्यले बताए । उनले आफूहरूले सम्बद्ध सरकारी निकायहरूसँग यसबारेमा छलफल चलाइरहेको पनि बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मध्यपूर्वमा जारी युद्धको असर बहुआयामिक हुने र त्यसले समग्र अर्थतन्त्र नै संकुचित हुने बताइरहेका छन् । नेपालमा पनि यसको असर भान्सादेखि उद्योगसम्म पर्न थालिसकेको छ ।
यातायात र ढुवानी लागत बढ्दै
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा प्रतिलिटर १५ र डिजेलमा प्रतिलिटर १० रूपैयाँ बढाएसँगै यातायात तथा ढुवानीको लागत बढेको छ । यातायात व्यवसायीहरूले यात्रुवाहक सवारीको भाडा बढाउनुपर्ने माग गरिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रतिट्रक व्यवसायी महासंघले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।
महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख छ । आइतबार जारी प्रेस विज्ञप्तिमा वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रूपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबीच लिखित सहमति भइसकेको स्मरण गराइएको छ ।
डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । २०७९ साल असारयता भाडा समायोजन नभएको उल्लेख गर्दै महासंघले १३ वटा सूचकहरूलाई आधार मानी वैज्ञानिक विधिबाट तत्काल भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ ।
यसैबीच तराईँका नाकाबाट पहाडी जिल्लामा सामानहरूको ढुवानी गर्ने व्यवसायीहरूले भाडामा प्रतिटन पाँच हजार रूपैयाँ सम्मले बढाएका बताइएको छ । तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीका अनुसार देशैभर ट्रक लहरीमा हुने मालसामान ओसारपसारमा सोमबारबाट ढुवानी भाडामा उच्च वृद्धि भएको छ ।
डिजेलको मूल्य बढेसँगै वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारले चासो नदेखाएपछि ढुवानी भाडा बढेको उनले बताएका छन् । नेपालको स्थल मार्गमा सामान ओसारपसार गर्ने मालवाहकको रूपमा निजी क्षेत्रका व्यवसायीहरूको करिब ४५ हजार ट्रक तथा लरी सञ्चालनमा रहेका बताइन्छ । ढुवानी भाडा बढेसँगै बजारमा उपभोग्य वस्तुहरूको मूल्यवृद्धि हुनेछ र त्यसको भार अन्तमा आम उपभोक्तामाथि नै पर्नेछ ।
निर्माण उद्योगमा ‘होलिडे’ माग्दै व्यवसायी
कोइला, फर्नेस आयल र बिटुमिन जस्ता कच्चा पदार्थको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यतिखेर निर्माण उद्योग पनि छटपटीमा छ । नेपाल निर्माण व्यवसायी महासंघले सोमबार विज्ञप्ति जारी गरेर इन्धनमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गएको बताएको छ ।
यसले अन्तमा नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित भएको बताउँदै महासंघले सरकारको तर्फबाट नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न अनुरोध गरेको छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा सडक कालोपत्रे सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना प्रबल भएको र बुकिङ गर्दाको मूल्यभन्दा अहिले प्रतिलिटर ४० रूपैयाँसम्म मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका भनिएको छ ।
अझ पछिल्लो समय भारतले बिटुमिनको निर्यात नै रोकेको, उद्योगीहरूले फलामे डन्डी प्रतिकेजी ८५ रूपैयाँबाट १ सय रूपैयाँ पु¥याइएको र सिमेन्टमा पनि प्रतिबोरा ५० रूपैयाँसम्म मूल्यवृद्धि गर्दा सरकारी पूर्वाधार मात्र होइन, निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको महासंघको विज्ञप्तिमा भनिएको छ ।
पर्यटक र इन्धन अभावले सकसमा पर्यटन उद्योग
नेपालको पर्यटन उद्योगका लागि वसन्त ऋतु सबैभन्दा उत्तम समय मानिन्छ । तर, यसवर्ष वसन्त ऋतुको सुरुवातमै मध्यपूर्वको युद्धले पश्चिमी विश्वबाट हुने उडानहरू प्रभावित भएका छन् । जसले नेपालको पर्यटन उद्योग पनि प्रत्यक्ष प्रभावित भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेय नेपालको पर्यटनको ७० प्रतिशत हिस्सा बाह्य पर्यटकले धानिरहेकोमा मध्यपूर्वको युद्धले यसपटकको पर्यटकीय सिजन नै चौपट भएको बताए ।
उनले पर्यटकले गरेका बुकिङहरू धमाधम रद्द भइरहेका र नयाँ बुकिङहरू ठप्प रहेका बताए । ‘यो सिजन नेपालको पर्यटनको सबैभन्दा उत्तम सिजन हो । वर्षभरीको ७० देखि ८० प्रतिशत पर्यटक यसै सिजनमा आउने गरेकोमा यसवर्ष त्यसको २० देखि ३० प्रतिशत मात्रै पर्यटकहरू आइरहेका छन्,’ पाण्डेयले भने ।
अर्काेतिर ग्यास र तेलको मूल्यवृद्धिले पर्यटकहरूको सत्कार महँगो भइरहेको र व्यवसाय घाटामा जाने स्थितिमा रहेको उनले बताए । पाण्डेयले भने, ‘कोभिडबाट भर्खरै उठ्न थालेको पर्यटन व्यवसाय फेरि संकटमा परेको छ । केही व्यक्ति र देशको सनकले पूरै विश्वलाई कहिल्यै पनि शान्तसँग बस्न नदिने भए ।’
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष दिनेशराज भण्डारी बाह्य देशका पर्यटकहरू कम आउने गरेकोले कर्णालीको पर्यटनमा धेरै फरक नपरे पनि भारतीय पर्यटकको पनि कमी भइरहेको बताए । उनले अहिलेको अवस्थामा भारतीय पर्यटकहरूलाई आकर्षित गर्नेतिर राज्यले ध्यान दिनु आवश्यक रहेको बताए । ‘नाकामा अनेक झन्झट छ । चार ठाउँबाट अनुमति लिनुपर्छ । अनावश्यक चेकजाँच हुन्छ । यसलाई सुधार गरेमा भारतीय पर्यटकहरूले केही राहत हुनसक्छ,’ भण्डारीले भने ।









प्रतिक्रिया दिनुहोस्