काठमाडौँ ।
पुराना राजनीतिक दल र पटकपटक सत्ता र शक्तिमा दोहिरिने व्यक्तिका कारण नयाँले अवसर पाएनन् र त्यसको लाभ मुलुकले लिन नसकेको आवाज उठिरहेको बेला अबको प्रतिनिधिसभामा करिब ९० प्रतिशत नयाँ अनुहार र युवा उमेरका सांसदको प्रवेश हुँदैछ । संसद् र सत्तामा पुग्ने पात्र फेरिने अवस्था आएपछि के अब जनताको चाहनाअनुसार विद्यमान समस्या समाधान हुँदै जान्छन् वा नयाँ पात्रले समग्र सुधारमा कुनै फरक पर्ने छैन भन्नेबारेको छिनोफानो यसै महिना बन्ने सरकार र सँगसँगै प्रतिनिधिसभामा हुने छलफलबाट छर्लङ्ग हुनेछ ।
आममतदाताले नयाँलाई अवसर दिएकाले अधिकांश राजनीतिक विश्लेषक अहिलेलाई आशावादी मात्र हुन सकिने बताउँछन् ।राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहादुर थापा पुराना दल र तिनका नेताको तुलनामा गएको फागुन २१ गते सम्पन्न निर्वाचनबाट विजयी सांसदहरूले पक्कै पनि राम्रो गर्छन् भन्ने आशावादी हुन सकिने बताउँछन् । ‘हुनतः नेपालमा जति पनि राजनीतिक पार्टी गठन हुँदै आएका छन्। ती सबै जनताका लागि काम गर्छु नै भन्ने गर्छन्,’ उनले भने, ‘यसपालि पनि त्यस्तै देखिन्छ ।
खुसीको कुरा अहिले नयाँ भनिएकाले पनि केही गरेनन् भने केही समयमै उनीहरू पनि पुरानाकै सूचीमा पर्छन् भन्ने कुरा नेपाली जनताको चेतनास्तरबाट पुष्टि भएको छ ।’ संसद्मा नयाँ अनुहार र नयाँ सोच भएका व्यक्तिहरू निर्वाचित भएकाले उनीहरूले नयाँ ढंगबाट काम गर्लान् कि भन्ने अपेक्षा गरिएको छ । यद्यपि भर्खरै सम्पन्न निर्वाचनबाट चयन भएका उम्मेदवार तथा उनीहरू सम्बद्ध राजनीतिक दलहरूले पुरानै पाराले काम गर्न खोजे भने जनताले चाहेजस्तो र देशमा आवश्यक रहेजस्तो सुधारको परिवर्तन सम्भव नहुने थापा बताउँछन् ।
प्रत्यक्ष र समानुपातिक गरी करिब दुईतिहाइ मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबको सरकार बनाउने लगभग निश्चित छ र सरकारको नेतृत्व त्यसका वरिष्ठ नेता बालेन शाहले गर्ने भनिएको छ । योबाहेक अहिलेसम्म सरकारमा कोको सहभागी हुने तथा रास्वपालाई अन्य राजनीतिक दलले सहयोग गर्ने वा नगर्ने भन्नेबारे केही खुलेको छैन ।
रास्वपाले प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका शाहले आफ्नो मन्त्रिपरिषद्मा विज्ञहरूले पनि स्थान दिन चाहेको र त्यसका लागि छलफल गरिरहेको उनी निकटहरू बताउने गर्छन् । उनको यो चाहनालाई रास्वपाले निर्णय गर्छ वा गर्दैन ? त्यो यकिन भइसकेको छैन । त्यस्तै रास्वपाले सरकार बनाएपछि पहिलो सुधारका काम के र कसरी गर्छ ? त्यो पनि खुलेको छैन ।
यद्यपि निर्वाचनअघि रास्वपाले वाचापत्रमार्फत सुधारका विभिन्न योजना सार्वजनिक गरेको थियो । ती वाचापत्रमा सहमति जनाउँदै आममतदाताले रास्वपालाई पर्याप्त मत दिएको प्रष्ट छ । तर नेपालमा निर्वाचनअघि एकथरि आश्वासन दिने र सत्तामा पुगेपछि फरक व्यवहार गर्ने चलन छ । जसका कारण विगतमा सत्ताको नेतृत्व गर्दै आएका राजनीतिक दल र उम्मेदवार यसपटकको निर्वाचनमा विजयी हुन सकेनन् ।
यसपटक प्रतिनिधिसभामा कूल २७५ सिटमध्ये करिब २४५ नयाँ छन् । रास्वपाबाट चयन भएका १८४ सांसदमध्ये अघिल्लो संसद्मा २० जना मात्रै थिए । त्यस्तै नेपाली काँग्रेस, नेकपा एमाले तथा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू पनि अधिकांश नयाँ छन् । श्रम संस्कृति पार्टीका सबै सांसद नयाँ हुन् । पटकपटक संसद्मा पुगेका सांसदहरूमध्ये प्रत्यक्ष निर्र्वाचनमा निकै थोरै विजयी हुन सकेका छन् ।
पुराना भनेर चिनिएकामध्ये नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रूकुम पुगेर विजयी भए । त्यस्तै रोल्पाबाट वर्षमान पुन, धनकुटाबाट राजेन्द्रकुमार राई, मनाङबाट टेकबहादुर गुरुङ, डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही, बाँके–२ बाट मोहम्मद इस्तियाक राई तथा बाजुराबाट जनकराज गिरि यसपटकको संसद्मा पुराना अनुहार हुन् ।
रास्वपाका सभापति रवी लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल र डा. तोसिमा कार्की पुनः निर्वाचित भएका कारण उनीहरूसँग पनि केही अनुभव छ । गएको उपनिर्वाचनबाट विजयी भएका सुहाङ नेम्वाङ र डा. स्वर्णिम वाग्लेले पनि यसपटक संसद्को यात्रा तय गरेका छन् ।
यसपटकको निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र माधवकुमार नेपालसहित काँग्रेसका सभापति गगन थापा, एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली, विष्णु पौडेल, गोकर्ण विष्टलगायत अधिकांश पदाधिकारी पराजित भए । यसपटक संसद्मा युवाको उपस्थिति पनि उल्लेख्य रूपमा बढेको छ । ३० वर्षमुनिका १३ जना सांसद निर्वाचित भएका छन्, जसमा अधिकांश रास्वपाका छन् । ४० वर्षमुनिका सांसदको संख्या ६२ पुगेको छ भने ५० वर्षमुनिका सांसद ११९ जना छन् ।
समानुपातिकबाट केही पुराना नेता संसद्मा
प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले सिट बाँडफाँट गरेका छन् । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ४–४ सिट प्राप्त गरेका छन् ।
थ्रेसहोल्ड पार गरेका यी छ दलले समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा सदस्य पठाउने अवसर पाएका छन् । यस प्रणालीमार्फत केही पुराना अनुहारहरू पुनः संसद्मा फर्किएका छन् । एमालेबाट पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वमन्त्री पद्मा अर्याल पुनः प्रतिनिधिसभा सदस्य बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक सूचीमा परेकी बलावती शर्मा पनि यसअघि विधायिका सदस्य रहिसकेकी छन् ।
उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिकामा सदस्य थिइन् । माओवादी आन्दोलनकालदेखि राजनीतिमा सक्रिय शर्मा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकी पत्नी हुन् । पौडेल यसपटक नवलपरासी–२ बाट प्रत्यक्ष चुनाव लडे पनि सफल हुन सकेनन्, तर शर्मा समानुपातिकमार्फत संसद्मा प्रवेश गर्न सफल भइन् ।
केसी सबैभन्दा पाका
यसपटकको प्रतिनिधिसभामा सबैभन्दा पाका नेता नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी हुने भएका छन् । ७८ वर्षका उनले नै प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नेछन् । संविधानले पहिलो बैठक सञ्चालन गर्ने जिम्मा ज्येष्ठ सांसदलाई दिएको छ ।प्रतिनिधिसभामा सभामुख र उपसभामुखको चयन नभएसम्म वा ती पदहरू रिक्त रहेमा, उपस्थित सदस्यहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ ।
नुवाकोटको दुप्चेश्वरमा २००४ सालमा जन्मिएका केसी २०४८ यतादेखि संसदीय राजनीतिमा सक्रिय छन् । उनले विभिन्न समयमा स्वास्थ्य, भौतिक योजना तथा निर्माण र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि पटक–पटक निर्वाचन लड्दै आएका केसी यसपटक समानुपातिकबाट संसद् प्रवेश गर्दैछन् ।
प्रत्यक्षतर्फ दोहोरिने अनुहार
प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि केही सांसदहरू दोस्रो पटक संसद्मा पुगेका छन् । धनकुटाबाट निर्वाचित एमालेका राजेन्द्रकुमार राई यसअघि २०७४ मा पनि प्रतिनिधिसभा सदस्य भएका थिए । मुस्ताङबाट काँग्रेसका योगेश गौचनले पनि लगातार दोस्रो पटक जित हासिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही पनि दोहोरिएका सांसद हुन् । उनले २०७९ मा जुम्लाबाट जितेका थिए र यसपटक पनि सोही क्षेत्रबाट विजयी भएका छन् ।
२०७९ को निर्वाचनमा निर्वाचित र यसपटक पुनः जित्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसद छन् । रवी लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल र डा. तोसिमा कार्की लगायतका नेता पुनः संसद्मा पुगेका छन् ।
एमालेका सुहाङ नेम्वाङले पनि दोस्रो पटक प्रत्यक्ष निर्वाचन जितेका छन् । पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनबाट पहिलो पटक निर्वाचित भएका उनी यसपटक पनि विजयी भए । यसैगरी २०७९ मा राष्ट्रपति बनेपछि खाली भएको क्षेत्रमा भएको उपनिर्वाचनबाट सांसद बनेका डा. स्वर्णिम वाग्ले पनि यसपटक पुनः निर्वाचित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्