युनाइटेड भिजन क्रिकेट क्लबलाई कोहलपुर प्राइड लिगको उपाधि



कोहलपुर ।

‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचालेको छ । सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्टस् क्लबलाई सुपरओभरमा हराउँदै युनाइटेड भिजन क्रिकेट क्लबले लिगको उचालेको हो ।
कोहलपुरस्थित प्रस्तावित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्यू होराइजन स्पोर्टस् क्लबले टस जितेर पहिला बलिङ रोजेको थियो ।

पहिला ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो ।युनाइटेड भिजनका लागि दिपेन्द्रसिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाएका थिए । यस्तै विपिन शाहीले २४ बलमा १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाएका थिए । अन्य ब्याटहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ न्यू होराइजनका लागि प्रेम गुप्ताले ४ ओभरमा ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै निश्चल ज्ञवालीले २ विकेट लिए भने प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १÷१ विकेट लिएका थिए । युनाइटेड भिजन क्रिकेट क्लबले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको न्यू होराइजनले १९.३ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट हुँदा खेल सुपरओभरमा पुग्यो ।

टिमका लागि मोहम्ममद हुसेनले १२ बलमा २९ रन र अमर मिश्रले २६ बलमा सर्वाधिक २९ रन बनाएका थिए । सुपरओभरमा पहिला ब्याटिङ गरेको न्यू होराइजन स्पोर्टस क्लबले निर्धारित १ ओभरमा दुई विकेट गुमाउँदै ६ रन बनायो । टिमका लागि अमर मिश्रले ३ रन बनाए भने सन्दिप मौर्याले एक रन बनाएर आउट भए ।

न्यू होराइजनले दिएको ७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले ०.४ ओभरमा ७ रन बनाउँदै सहज १० विकेटको जित हासिल गरेको हो । टिमका लागि दिपेन्द्रसिंह ऐरीले ३ रन र आदिल आलमले अविजित २ रन बनाएर उपाधि चुमाएका हुन् । योसँगै उपाधि विजेता युभिसिसिले नगद ४ लाख र उपविजेता न्यू होराइजनले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा न्यू होराइजन स्पोर्टस क्लबका अमर मिश्र १ सय ६५ रन र ६ विकट लिँदै उत्कृष्ट खेलाडी घोषित भए । उनले बिबि साइकल स्टोरको तर्फबाट साइकल र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । यस्तै न्यू होराइजनका आरिफ खान भने १ सय ७१ रन बनाउँदै उत्कृष्ट ब्याटर बने भने युभिसिसिका सन्तोष यादवले ८ विकट लिँदै उत्कृष्ट बलरका रुपमा घोषित भए । उनीहरु दुवै जनाले नगद १० हजार पुरस्कार प्राप्त गरेका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार