रुकुम पश्चिम ।
जिल्लामा सोमबार गरालागोठबाट भलखोला आफन्तको विवाहमा गएका एकाघरका तीन छोरी बेलुका घर फर्किएनन् । रातभर आफन्तकोमा खबर गरियो, छिमेकी गाउँमा सोधिखोजी गरियो । तर मंगलबार बिहान दुईजनाको शव सानीभेरी नदीको किनारमा फेला प¥यो । एक जना अझै बेपत्ता छिन् । जिल्लाको बाँफीकोट गाउँपालिका–३ गरालागोठबाट र मुसीकोट नगरपालिका–१ को भलखोलागाउँलाई सानीभेरी नदीले छुट्याएको छ । यही नदी तर्ने बेला उनीहरु बेपत्ता भएको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार तीन किशोरी बाँफीकोट गाउँपालिका–३ निवासी पूर्णबहादुर ओली र नीराजन ओलीका छोरी हुन् । पूर्णबहादुर र नीराजन एकाघरका सहोदर (माइलो र साइँलो) दाजुभाइ हुन् । डिएसपी पौडेलले नीराजनका दुई छोरी १४ वर्षीय उर्मिला ओली र १२ वर्षीय कल्पना ओली नदी किनारमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उर्मिला र कल्पना सहोदर दिदीबहिनी हुन् । पूर्णबहादुरकी १३ वर्षीय छोरी सपना ओलीको भने अवस्था अज्ञात छ । बुधबार अबेलासम्म पनि डिएसपी पौडेललगायतको प्रहरी टोली, जनप्रतिनिधि, आफन्त र स्थानीयवासीले नदी किनार र अन्यत्र खोजी गर्दा पनि सपनाको अवस्था अझैसम्म अज्ञात रहेको छ ।
उर्मिला र कल्पनाको शव जिल्ला अस्पताल सल्लेमा ल्याएर पोस्टमार्टम गरिएको छ । सपनाको खोजी जारी छ । डिएसपी पौडेलले नदीपारि रहेको भलखोलागाउँमा आफन्तको बिहेबाट फर्कने क्रममा नदी तर्न खोज्दा उनीहरूलाई बगाएको अनुमान गरिएको हो । घटनास्थलमा रहेका बाँफीकोट गाउँपालिका–३ का वडा सदस्य देवराज उपाध्यायले घटना अत्यन्त दुःखद रहेको बताए ।
भलखोलाबाट घर जाँदा सानीभेरी तर्नलाई घरनजिकै झोलुङ्गे पुल पनि छ । उर्मिला र कल्पनाको शव करिब पाँच सय मिटरको दूरीमा फेला परेको हो । घटनास्थल उनीहरूको घरभन्दा करिब १५० मिटरको दूरीमा छ । उर्मिला र सपना मुसीकोट नगरपालिका–१ मा रहेको त्रिपुरा माविमा कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत छन् ।
नीराजन रोजगारीका लागि भारतमा छन् । पूर्णबहादुरका पनि चार सन्तानमध्ये सपना कान्छी छोरी हुन् । उनी ज्यामी काम गर्छन् । प्रहरीले अनुसन्धान कार्य जारी रहेको भन्दै पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्