सुर्खेत ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी बिदाइ भएका छन् । निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना भएका निर्वाचन प्रहरी बिहीबारदेखि औपचारिक रुपमा बिदा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । खुलामञ्चमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार ६२८ जना निर्वाचन प्रहरीको सामूहिक बिदाइ गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा निर्वाचन प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको थियो । सबै निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण गरेर बिदाइ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको लागि सुर्खेतमा माघ १८ गते एक हजार ६२८ जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।
सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बिदाइ कार्यक्रममा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा निर्वाचन प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । ४० दिने कार्य अवधिमा सिकेको ज्ञान, सीप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा काम लाग्ने उनको भनाइ छ ।
सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको कुराहरु दैनिक जीवनमा काम लाग्ने निर्वाचन प्रहरी कमला खड्काले बताइन् । आफ्नो जिम्मेवारी पूरा गरेर घर फर्किएका निर्वाचन प्रहरीले अबको स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि अवसर दिन माग गरेका छन् ।
सुर्खेत प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन प्रहरीलाई धन्यवाद दिए । उनले आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि उनीहरुलाई सहभागी हुन आग्रह गरेका छन् । रासन भत्ता, पोशाक खर्च, तलब, परिचालन खर्च र खाजा खर्च गरेर ५२ हजार रकम बैंक खातामार्फत भुक्तानी भइसकेको प्रहरीले जनाएको छ । निर्वाचन प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।








प्रतिक्रिया दिनुहोस्