बलात्कारपछि इनिसा हत्या प्रकरण्ः ‘न्याय नपाए हत्याराकै घरमा पुग्छु’



करुणा पौडेल । सुर्खेत ।

छोरीको मृत्युले विक्षिप्त बनेकी वीरेन्द्रनगर–१ की तिला विकका आँखा निरन्तर रसाइरहेका छन् । उनको बोलीमा पीडा छ, आवाजमा आक्रोश। र मनमा एउटै माग छ, छोरीका हत्यारालाई न्यायको कठघरामा उभ्याइयोस् भन्ने । १६ वर्षीया इनिसा विकको मृत्युले उनको परिवार मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएको विक परिवार अहिले शोकमा डुबेको छ ।

फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा इनिसाको शव फेला परेको थियो । पीडित परिवारका अनुसार उनीमाथि सामूहिक बलात्कारपछि विभत्स रूपमा हत्या गरिएको हो । छोरी गुमाएकी आमा तिला विक न्यायका लागि सरकारसँग गुहार माग्दै भन्छिन्, ‘जबसम्म न्याय पाइँदैन तबसम्म म चुप लागेर बस्दिनँ र मेरी छोरीलाई छिटोभन्दा छिटो न्याय देऊ ।’ उनका अनुसार इनिसाको शरीरभरि चोटपटकका डाम थिए ।

‘मेरी छोरीलाई कुटीकुटी मारेका छन्, शरीरभरी निलडाम छ । थिचिथिचि मारेका छन्’ उनी भक्कानिँदै भन्छिन्, ‘पापी अपराधीले मेरी छोरीलाई मारिस् । न्याय नपाए म हत्याराको घरमै पुग्छु, स्कुलसम्म पनि पुग्छु ।’ छोरी गुमाएको पीडाले उनी कहिले रुन थाल्छिन् त कहिले सरकारप्रति आक्रोश पोख्छिन् । ‘छिटोभन्दा छिटो न्याय दे सरकार, नत्र मलाई पनि मारिदे’ उनले थपिन, ‘घटना भएको हप्ता दिन बितिसक्दा पनि अनुसन्धानको स्पष्ट नतिजा सार्वजनिक नभएको छैन ।’

न्याय नपाए आफैं संघर्षमा उत्रिने चेतावनी दिँदै उनले आक्रोश पोख्छिन् । पीडित परिवारजन दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरिरहेका छन् । छोरीको फोटो समातेर बसेकी तिला विकको आँसु रोकिए छैन । छोरीको हत्याको पीडाले विछिप्त बनेकी उनको मनमा एउटै प्रश्न छ, ‘मेरी छोरीलाई न्याय कहिले मिल्छ ? भन्ने ।

फागुन २३ गते बिहान शहीद पार्क वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी इनिसालाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।

इनिसा विकमाथि भएको बलात्कारपछि हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अधिकारकर्मीहरूले सरकारलाई दबाब दिएका छन् । घटना घटेको एक हप्ता बितिसक्दा पनि सत्यतथ्य सार्वजनिक नभएको र अनुसन्धानको गति सुस्त रहेको भन्दै पीडित परिवारसँगै समाजमा आक्रोश बढेको छ ।

अधिकारकर्मी अनिता नेपालीले यस्तो जघन्य घटनामा राज्य संयन्त्रको ढिलासुस्तीले न्यायप्रतिको विश्वास कमजोर बनाउने खतरा रहेको बताइन् । दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै उठेका आवाजहरूले यो घटना केवल एउटा परिवारको पीडा मात्र नभई सामाजिक न्यायको गम्भीर प्रश्न बनेको उनको भनाइ छ ।

‘पीडित परिवार, आफन्त र अधिकारकर्मीहरू सडकमा उत्रन बाध्य हुनु आफैंमा राज्य संयन्त्रप्रतिको अविश्वासको संकेत हो’ उनले भनिन्, ‘सुर्खेतदेखि काठमाडौंसम्म जुलुस, प्रदर्शन तथा ध्यानाकर्षणपत्र बुझाउने क्रमले जनआक्रोश कति गहिरो छ भन्ने देखाएको छ ।’

दोषीलाई कारबाही गर्न प्रचण्डको माग

इनिसा हत्या घटनाको निष्पक्ष छानबिन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशैभर उनको पक्षमा चर्को आवाज उठेको छ । यसैबिच नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

बालिका इनिसा विकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’ यस्तै, अधिकारकर्मीहरूले घटनालाई सामान्य आपराधिक घटना ठानेर बेवास्ता नगर्न राज्यसँग आग्रह गरेका छन् ।

उनीहरूले अनुसन्धानलाई तीव्र, निष्पक्ष र पारदर्शी बनाउन, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्यायको अनुभूति गराउने वातावरण बनाउन माग गरेका छन् । इनिसा विक प्रकरणमा समयमै सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही हुन नसके समग्र न्याय प्रणालीप्रतिको विश्वासमा गम्भीर असर पर्ने युवा नेता तथा दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए । यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न उनको आग्रह छ ।

अनुसन्धान गर्न विज्ञ टोली खटाइयो

इनिसा विकको मृत्युको कारण पत्ता लगाउन विज्ञ टोली खटाइएको छ । घटनाको सुच्छम् अध्ययनका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलियोग्राफी गर्न विज्ञ टोली परिचालन गरिएको हो । केन्द्रीय सीआइबीको टोली हवाइमार्ग र पोलियोग्राफी टोली स्थलमार्गबाट सुर्खेत आएको सुर्खेतका एसपी सुधिरराज शाहीले जानकारी दिए ।

उनका अनुसार पोलियोग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने गर्दछ । त्यस्तै घटनाको थप अनुसन्धानका लागि पीडित र पीडक दुबै जनाको मोबाइल लगायतका विद्युतीय सामग्रीहरु अनुसन्धानका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको उनले बताए । उनका अनुसार मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको हो ।

पोष्टमार्टमा रिपोर्ट, पोलियोग्राफी, कल डिटेल लगायतका सबै पक्षलाई केलाएर घटनाको अनुसन्धान भइरहेकोा छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । भने थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते विहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जंगलमा गएको देखिएको छ । त्यहाँ जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्टमा समेत सोही कुरा उल्लेख रहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले बताए । पोस्टमार्टम रिर्पोट अनुार संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव हुदाँ मृत्यु भएको देखिन्छ । भने पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको डा. शाक्यले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार