
शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण यसपटकको निर्वाचनले नाटकीय रूपमा बदलिदिएको छ । लामो समयदेखि नेपाली काँग्रेस र नेकपा एमालेको प्रभावमा रहेको यो प्रदेशमा यसपटक नयाँ शक्ति बनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हासिल गरेको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा विजय हासिल गर्दै रास्वपा सुदूरपश्चिमको प्रमुख राजनीतिक शक्ति बनेको छ ।
यो परिणामले केवल निर्वाचनको अंकगणित मात्र बदलेको छैन, प्रदेशको राजनीतिक मनोविज्ञानसमेत परिवर्तन भएको संकेत दिएको छ । परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ विकल्पको खोजीले सुदूरपश्चिममा नयाँ राजनीतिक अध्याय सुरु भएको देखिएको छ ।
सुदूरपश्चिमको राजनीतिक नक्शा बदल्न सबैभन्दा ठूलो भूमिका कैलाली र कञ्चनपुरले खेलेका छन् ।
यी दुई जिल्लामा रास्वपाले पूर्ण वर्चस्व कायम गर्दै सबै सिट जितेको छ । कैलालीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल, कैलाली–३ मा जगतप्रसाद जोशी, कैलाली–४ मा खेमराज कोइराला र कैलाली–५ मा डा. आनन्दबहादुर चन्दले विजय हासिल गरेका छन् ।
यस्तै कञ्चनपुरमा पनि रास्वपाले तीनै सिट जित्दै क्लिन स्वीप गरेको छ । कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता विजयी भएका छन् । यी जिल्लाहरूमा रास्वपाका उम्मेदवारले अधिकांश स्थानमा आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । यसले केवल जित मात्र नभई जनसमर्थनको बलियो लहर देखाएको विश्लेषकहरू बताउँछन् ।
कैलाली र कञ्चनपुर मात्र होइन, पहाडी जिल्लाहरूमा पनि रास्वपाले आफ्नो उपस्थिति बलियो बनाएको छ । डडेल्धुरामा डाक्टर ताराप्रसाद जोशीले विजय हासिल गरेका छन् भने बैतडीमा हरिमोहन भण्डारी विजयी भएका छन् । यी दुई जिल्लामा परम्परागत रूपमा काँग्रेस र एमालेको प्रभाव रहँदै आएको थियो । तर यसपटक मतदाताले नयाँ राजनीतिक शक्तिप्रति भरोसा देखाएको परिणामका रूपमा रास्वपाले सफलता पाएको विश्लेषण गरिएको छ ।
रास्वपाको उदयसँगै पुराना राजनीतिक दलहरू भने सुदूरपश्चिममा कमजोर देखिएका छन् । नेपाली काँग्रेस र नेकपा एमाले दुवैले समान ३–३ सिट मात्र जित्न सकेका छन् । नेपाली काँग्रेसले डोटी, बाजुरा र अछाम–१ मा मात्र विजय हासिल गरेको छ । डोटीमा भरतबहादुर खड्का, बाजुरामा जनकराज गिरी र अछाम–१ मा भरत स्वार विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा काँग्रेसले आठ सिट जितेको थियो । कैलाली–४ र ५, कञ्चनपुर–२ र ३, डडेल्धुरा, अछाम–२ र दार्चुलालगायत क्षेत्रमा काँग्रेसले जित निकालेको थियो । तर यसपटक तीमध्ये अधिकांश क्षेत्रमा काँग्रेस पराजित भएको छ । यसले सुदूरपश्चिममा काँग्रेसको प्रभाव उल्लेखनीय रूपमा घटेको देखाएको छ । नेकपा एमालेले देशभर सीमित सफलता हासिल गर्दा सुदूरपश्चिममा भने तीन क्षेत्रमा विजय निकाल्न सफल भएको छ ।
दार्चुलामा गणेशसिंह ठगुन्ना, बझाङमा ऐन महर र अछाम–२ मा यज्ञबहादुर बोगटी विजयी भएका छन् । २०७९ सालको निर्वाचनमा एमालेले बैतडी र कञ्चनपुर–१ गरी दुई सिट जितेको थियो । यसपटक एक सिट थप्दै तीन सिट जिते पनि समग्र रूपमा एमालेको प्रभाव अपेक्षाभन्दा कमजोर देखिएको विश्लेषण गरिएको छ ।
यसपटकको निर्वाचनमा सबैभन्दा ठूलो धक्का भने नेकपालाई लागेको छ । अघिल्लो निर्वाचनमा विभिन्न दलका रूपमा रहेका शक्तिहरू–एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र यसपटक एकता गर्दै नेकपाका रूपमा चुनाव लडेका थिए । तर परिणाम भने अपेक्षाभन्दा ठिक उल्टो आएको छ । सुदूरपश्चिममा नेकपाले कुनै पनि सिट जित्न सकेन ।
२०७९ को निर्वाचनमा एकीकृत समाजवादीले बझाङ, अछाम–१ र डोटीमा विजय हासिल गरेको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले कैलाली–१, २ र ३ मा जित निकालेको थियो । माओवादी केन्द्र भने त्य बेला पनि सिटविहीन थियो । धेरै दल मिलेर बनेको नेकपा यसपटक भने पूरै प्रदेशमा शून्यमा सीमित भएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार दलहरूको एकता मात्र पर्याप्त नहुने, जनविश्वास र संगठनात्मक मजबुती आवश्यक हुने तथ्य यस परिणामले स्पष्ट पारेको छ ।
सुदूरपश्चिममा रास्वपाको अप्रत्याशित सफलता पछाडि केही प्रमुख कारण देखिएका छन् । पहिलो, परम्परागत दलप्रति जनताको असन्तुष्टि । वर्षौँदेखि एउटै दल र नेताहरू दोहोरिरहँदा मतदाताले नयाँ विकल्प खोजिरहेका थिए । दोस्रो, युवा पुस्ताको सक्रियता । सामाजिक सञ्जाल र वैकल्पिक राजनीतिक बहसका कारण नयाँ दलप्रति युवाहरू आकर्षित भएको देखिन्छ ।
तेस्रो, स्थानीयस्तरमा अपेक्षाकृत नयाँ अनुहारलाई उम्मेदवार बनाउनु । यसले मतदातामा परिवर्तनको आशा जगाएको बताइन्छ । यसका साथै विकास, सुशासन र पारदर्शिताको मुद्दालाई जोडदार रूपमा उठाउनु पनि रास्वपाको सफलताको कारण मानिएको छ । यसपटकको परिणामले सुदूरपश्चिममा परम्परागत दलहरूका लागि स्पष्ट सन्देश दिएको छ ।
लामो समयदेखि स्थापित दलहरू यदि संगठन सुदृढ गर्न, जनतासँगको सम्बन्ध सुधार्न र नेतृत्वमा नयाँपन ल्याउन असफल भए भने भविष्यमा उनीहरूको राजनीतिक आधार अझ कमजोर हुन सक्ने संकेत देखिएको छ । विशेषगरी काँग्रेस र एमाले दुवैले आफ्नो संगठनात्मक संरचना र रणनीतिमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सुदूरपश्चिमको यो परिणाम केवल एक निर्वाचनको नतिजा मात्र नभई राजनीतिक परिवर्तनको संकेत पनि हुन सक्छ । रास्वपाले हासिल गरेको विजयले प्रदेशमा नयाँ राजनीतिक शक्तिको उदय भएको देखाएको छ । यद्यपि आगामी दिनमा यो समर्थन कायम राख्न पार्टीले आफ्नो कार्यशैली, नीतिगत स्पष्टता र जनतासँगको विश्वास कायम राख्नुपर्ने चुनौती पनि उत्तिकै ठूलो छ । यदि अपेक्षाअनुसार काम गर्न सकेन भने मतदाताले फेरि नयाँ विकल्प खोज्न पनि सक्छन् । तर अहिलेका लागि भने सुदूरपश्चिमको राजनीतिक नक्शामा रास्वपाले बलियो छाप छोडेको छ– जसले प्रदेशको शक्ति सन्तुलनलाई पूर्णरूपमा पुनःपरिभाषित गरिदिएको छ ।
२०७९ का विजेता सांसदनै पराजित
सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ मतगणना भइसकेको छ । १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तीनमा नेपाली काँग्रेस र तीनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमबाट विजयी भएर चुनाव लडेका उम्मेदवार भने सबै पराजित भएका छन् ।
०७९ को प्रतिनिधिसभा जित्ने १५ मध्ये ११ जना यसपटक चुनावी मैदानमा थिएनन् । कैलाली १ कि रञ्जिता श्रेष्ठ, २ का अरुण चौधरी, ३ का गंगाराम चौधरी, ४ का बीरबहादुर बलायर र ५ नम्बर क्षेत्रका डिल्लीराज पन्त यसपटक चुनावी मैदानमा थिएनन् । यस्तै अघिल्लो निर्वाचन जितेका कञ्चनपुर ३ का रमेश लेखक, डडेल्धुरका शेरबहादुर देउवा, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, बझाङका भानुभक्त जोशी, अछाम १ का शेरबहादुर कुँवर र बाजुराका बद्री पाण्डे पनि यसपटक उम्मेदवार भएनन् ।
तर, ०७९ सालको निर्वाचनमा विजयी भएर यसपटकको प्रतिनिधिसभा चुनाव लडेका पाँचजना उम्मेदवारले भने पराजय भोगेका छन् । चार जनालाई रास्वपाले बाटो छेक्यो भने एक जनालाई एमालेले हराएको छ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट ०७९ सालको निर्वाचन एमालेका तारा लामा तामाङले जितेका थिए । यसपटक उनले मुस्किलले जमानत जोगाउन सके ।
रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित विजयी हुँदा लामा आठ हजार ८८ मतसहित चौथो भए । कञ्चनपुर– २ मा ०७९ सालको निर्वाचन जितेका एनपी साउद यसपटक फराकिलो अन्तरले पराजित भए । उनलाई रास्वपाका दीपक बोहराले पराजित गरे । बोहराले ३३ हजार ९५२ मत पाउँदा साउदले १० हजार ८२७ मत मात्रै पाए ।
प्रेम आलेले पनि सांसद पद डिफेन्ड गर्न सकेनन् । उनी ०७९ सालको निर्वाचन डोटीमा एकीकृत समाजवादीबाट लडेर विजयी भएका थिए । यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्न उनी कैलाली– ५ झरे । रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुँदा आले सात हजार ८७६ मतसहित तेस्रो भए ।
०७९ सालमा बैतडीबाट जितेका एमाले उम्मेदवार दामोदर भण्डारी पनि यसपटक पराजित भए । २२ हजार १३४ मतसहित रास्वपाका हरिमोहन भण्डारी विजयी हुँदा एमालेका भण्डारी भने १७ हजार ९१ मतसहित तेस्रो भए । यस्तै अछाम– २ बाट ०७९ सालको निर्वाचन जितेका काँग्रेसका पुष्पबहादुर शाह यसपटक झिनो मतले पराजित भए । उनलाई एमालेका यज्ञहादुर बोगटीले ४७२ मतले पराजित गरे । बोगटीले नौ हजार ५१८ मत पाउँदा शाहले नौ हजार ४६ मत पाए ।
सुदूरपश्चिममा पुराना अनुहारको पतन ः मतदाताले अस्वीकार गरे
१२ पूर्वमन्त्री फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले सुदूरपश्चिम प्रदेशको राजनीतिक परिदृश्यमा ठूलो सन्देश दिएको छ । लामो समयदेखि राज्यसत्तामा प्रभाव जमाएका पुराना राजनीतिक अनुहारहरूलाई मतदाताले यसपटक व्यापक रूपमा अस्वीकार गरेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेका १४ पूर्वमन्त्रीमध्ये १२ जना पराजित भएका छन् भने केवल दुईजना मात्रै निर्वाचन जित्न सफल भएका छन् ।
यो परिणाम केवल केही व्यक्तिको हारजितको कथा मात्र होइन; यसले सुदूरपश्चिमका मतदातामा बढ्दो असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको चाहना र पुरानो राजनीतिक शैलीप्रति बढ्दो अविश्वासलाई संकेत गरेको छ । विशेषगरी, लामो समयदेखि सत्ता र पदमा रहेकाहरूलाई जनताले पुनः विश्वास नगरेको स्पष्ट देखिन्छ । यसपटकको निर्वाचनमा पराजित हुनेमध्ये धेरैजसो राजनीतिक रूपमा प्रभावशाली र अनुभवी नेता थिए ।
पटक–पटक मन्त्री बनेका, पार्टीभित्र शक्तिशाली मानिएका तथा क्षेत्रीय राजनीति लामो समयदेखि नियन्त्रणमा राखेका नेताहरू समेत मतदाताको निर्णयबाट बच्न सकेनन् । अछाम क्षेत्र–१ मा उम्मेदवार बनेका नेकपाका डाक्टर भीमबहादुर रावललाई यसपटक मतदाताले अस्वीकार गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावललाई नेपाली काँग्रेसका भरतकुमार स्वारले ५२६ मतान्तरले पराजित गरे । स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गर्दा रावल १० हजार २ सय ३३ मतमा सीमित भए ।
यसैगरी, डोटीमा उम्मेदवार बनेका नेकपाका अर्का प्रभावशाली नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट पनि चुनावी मैदानमा कमजोर देखिए । पाँच वर्षसम्म प्रदेशको नेतृत्व गरेका भट्ट चौथो स्थानमा झरे । उनले जम्मा ५ हजार ४ सय १३ मत मात्र पाए । सो क्षेत्रमा नेपाली काँग्रेसका भरतबहादुर खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भए ।
कुनै समय लगातार चुनाव जित्दै आएका नेताहरूले यसपटक क्षेत्र परिवर्तन गरेर भाग्य परीक्षण गरे पनि त्यसले सफलता दिलाउन सकेन । संघीय सरकारका पूर्वमन्त्री प्रेमबहादुर आले यसको उदाहरण बने । २०७० सालदेखि डोटीबाट लगातार जित्दै आएका उनले यसपटक कैलाली–५ बाट उम्मेदवारी दिएका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्दबहादुर चन्दसँग उनी पराजित भए ।
चन्दले ३१ हजार ९ सय ५३ मत पाएर सहज जित निकाले भने आले ७ हजार ८ सय ७६ मतसहित तेस्रो स्थानमा सीमित भए । यस्तै, पूर्वखानेपानीमन्त्री बिना मगर पनि कञ्चनपुर–१ मा पराजित भइन् । रास्वपाका जनकसिंह धामीले २४ हजार ३ सय ३२ मत प्राप्त गरी विजयी हुँदा मगरले ११ हजार १ सय १० मत मात्र प्राप्त गरिन् ।
संघीय सरकारका मात्रै होइन, प्रदेश सरकारमा मन्त्री बनेका नेताहरू पनि यसपटक मतदाताको अस्वीकृतिबाट जोगिन सकेनन् । बाजुराबाट उम्मेदवार बनेका पूर्वमन्त्री प्रकाशबहादुर शाह चौथो स्थानमा पुगे । नेपाली काँग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मतसहित विजयी हुँदा शाहले ३ हजार ३ सय १ मत मात्रै पाए ।
कञ्चनपुर–३ मा उम्मेदवार बनेका प्रदेश सरकारका पूर्वमन्त्री मानबहादुर सुनार पनि चुनावी प्रतिस्पर्धामा कमजोर देखिए । रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार १ सय १८ मत प्राप्त गरी जित हात पार्दा सुनार ४ हजार २ सय ८४ मतसहित चौथो स्थानमा पुगे । नेकपा (एमाले)बाट उम्मेदवार बनेका पूर्वमन्त्रीहरूलाई पनि चुनावले राहत दिन सकेन ।
कैलाली–४ मा उम्मेदवार बनेका एमाले उपमहासचिव तथा पूर्वमन्त्री लेखराज भट्ट तेस्रो स्थानमा पुगे । उनले ९ हजार ४ सय ४४ मत प्राप्त गरे । सो क्षेत्रमा रास्वपाका खेमराज कोइराला २८ हजार ५ सय ५६ मतसहित विजयी भए । बैतडीमा उम्मेदवार बनेका पूर्वउद्योगमन्त्री दामोदर भण्डारी पनि तेस्रो स्थानमा सीमित भए । रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मतसहित जित हासिल गर्दा दामोदरले १७ हजार ९१ मत पाए ।
कैलाली–३ मा उम्मेदवार बनेका संघीय सरकारका अर्का पूर्वमन्त्री गौरीशंकर चौधरी पाँचौँ स्थानमा पुगे । सो क्षेत्रमा रास्वपाका जगतप्रसाद जोशी २० हजार ३ सय ५९ मतसहित विजयी हुँदा चौधरी ४ हजार ७ सय ५२ मतमै सीमित भए । कञ्चनपुर–१ बाट उम्मेदवार बनेका प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ पनि चौथो स्थानमा सीमित भए । उनले ८ हजार ८८ मत प्राप्त गरे ।
नेपाली काँग्रेसका उम्मेदवार बनेका केही पूर्वमन्त्रीहरू पनि यसपटक मतदाताको विश्वास जित्न सकेनन् । कञ्चनपुर–२ मा काँग्रेसले पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उम्मेदवार बनाएको थियो । तर रास्वपाका दीपकराज बोहराले उनलाई फराकिलो मतान्तरले हराए । बोहराले ३३ हजार ९ सय ५२ मत प्राप्त गर्दा साउद १० हजार ८ सय २७ मतमा सीमित भए ।
कैलाली–१ मा काँग्रेसका अर्का पूर्वमन्त्री जनकराज चौधरी पनि पराजित भए । रास्वपाका कोमल ज्ञवाली १७ हजार ८ सय २६ मतसहित विजयी हुँदा चौधरीले १२ हजार ८ सय ६७ मत मात्रै पाए । सुदूरपश्चिमबाट उम्मेदवार बनेका १४ पूर्वमन्त्रीमध्ये केवल दुई जनाले मात्रै निर्वाचन जित्न सके । दार्चुलाबाट नेकपा एमालेका पूर्वमन्त्री गणेशबहादुर ठगुन्ना १८ हजार ८ सय ९१ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत प्राप्त गरे । त्यसैगरी बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत पाए ।
काँग्रेसमा कारबाही भोगेका हरिमोहनले काँग्रेसलाई नै पछारे
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । २०२३ साल माघ १५ गते उनी पाटन नगरपालिका भण्डारी गाउँमा जन्मिएका हुन् । भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका थिए । बीएसम्म अध्ययन गरेका भण्डारीले २०५६ मा काँग्रेसको सदस्यता लिएर राजनीतिलाई निरन्तरता दिए । काँग्रेसमा तीनपटक महासमिमि सदस्य भए ।
योभन्दा पहिला दुईपटक प्रदेशसभा सदस्य निर्वाचन लडे पनि दुइटै पटक प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तेस्रोपटकको प्रयासमा एमालेको किल्ला भत्काएर बैतडीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् । भण्डारीले तीनपटकको निर्वाचन फरकफरक पार्टीबाट लडेका थिए । २०७४ सालमा प्रदेशसभामा पहिलोपटक नेपाली काँग्रेसबाट निर्वाचन लडे ।
सो निर्वाचनमा उनी माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए । यस्तै, २०७९ को प्रदेशसभामा दोस्रोपटक काँग्रेसले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन लडे । ११ हजार १८ मत प्राप्त गरेका उनी एमालेका सुरेन्द्र पालसँग पराजित भएका हुन्।
यसपटक भने उनले तीनपटक संघीय संसद्मा मन्त्री भएका दामोदर भण्डारी र नेपाल क्रिकेट संघका अध्यक्ष एवं काँग्रेस बैतडी सभापति र पूर्वजिल्ला सभापति एवं नेकपाका नेता परमानन्द भट्टजस्ता चर्चित नेतालाई पराजित गरे ।
काँग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई नेपाली काँग्रेसले कारबाही गरेको थियो । स्वतन्त्रै बसेका भए पनि भण्डारीले गएको पुस १८ गतेको रास्वपाको बैतडी सम्मेलनमा सदस्यता लिए । उनी हाल ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा बस्दै आएका छन् । उनका दुई छोरी र श्रीमती छन् ।
भण्डारी चुनावी सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका सहोदर भाइ हुन् । उनका बुवा लक्ष्मण पञ्चायतकालमा राप्रपाको राजीनितमा सक्रिय थिए । बुवाकै प्रेरणाबाट राप्रपामा आबद्ध हुँदै राजनीतिमा आएको उनी बताउँछन् ।काठमाण्डौँको टुँडिखेलमा सुदूरपश्चिमको गौरा पर्वलाई मनाउनुपर्छ भनेर पहल गर्नेमध्येका उनी एक हुन् ।
निर्वाचित भइसकेपछि उनले आगामी दिनमा पनि देश र समाजको सेवासँगै मौलाइरहेको भ्रष्टचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्रतिबद्धता पूरा गर्ने बताए ।उनले नेपाली काँग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतले पराजित गरेका हुन् । भण्डारीले २२ हजार १ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।
कैलाली ५ मा समानुपातिक मतपरिणाम सार्वजनिक
प्रतिनिधिसभा सदस्यको सामानुपातिक निर्वाचनको कैलाली क्षेत्र नम्बर ५ को अन्तिम नतिजा सार्वजनिक भएको छ । सोमबार सम्पन्न समानुपातिक निर्वाचनको परिणामअनुसार उक्त क्षेत्रमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ हजार ९५३ मत पाएको छ भने १० हजार ३७३ मतसहित नेपाली काँग्रेस दोस्रो स्थानमा छ ।
नेपाली कम्प्युनिष्ट पार्टीले पाँच हजार ८८६ मत र नेकपा एमालेले पाँच हजार ८४४ मत पाएको छ । कैलाली क्षेत्र नं. ५ मा सबैभन्दा थोरै तीन मत पाउनेमा त्रिमुल नेपाल, जनप्रीय पार्टी रहेको छ । स्वाभिमान पार्टीले मत नै पाएको छैन ।








प्रतिक्रिया दिनुहोस्