कैलाली–५ मा चुनावी सरगर्मी तीव्र, मतदाता अझै दोधारमा



शेरबहादुर ऐर । कैलाली ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिइसकेको छ । तर, सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने कैलाली–५ मा मतदाता अझै दोधारमा रहेका छन् । दलहरू घरदैलो अभियान, कोणसभा, चुनावी सभा र विभिन्न अन्तक्र्रिया गर्ने समय आज राति १२ बजेसम्ममात्र रहेको छ । तर चुनावी गतिविधि तीव्र भए पनि धेरै मतदाता अझै स्पष्ट निर्णयमा पुग्न सकेका छैनन् ।

धनगढी उपमहानगरपालिका–१२ का स्थानीय रोइले थापा भन्छन्, ‘चुनाव नजिकिइसक्यो, तर कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेको छैन। सबैजना यहीँ घर भएका, चिनजानका व्यक्ति हुन् । त्यसैले झन् अन्योल छ ।’ थापाको भनाइले यस क्षेत्रका धेरै मतदाताको मनस्थितिलाई प्रतिनिधित्व गर्छ–नेताहरू चिनिएका, सम्बन्ध नजिकका, तर अपेक्षा र भरोसा बीचको द्विविधा कायम । कैलाली–५ विविध समुदायको बसोबास भएको निर्वाचन क्षेत्र हो ।

राना थारु समुदायसहित पहाडी, मधेसी, दलित, मुस्लिम र अन्य जातजाति यहाँ बसोबास गर्छन् । सामाजिक विविधतासँगै राजनीतिक चेतना पनि उच्च मानिन्छ । विगतका निर्वाचनहरूमा यहाँ मतपरिणामले सुदूरपश्चिमको शक्ति सन्तुलनलाई प्रभाव पार्ने गरेको छ । धनगढी उपमहानगरपालिका केन्द्रमा पर्ने भएकाले प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधिको प्रभाव पनि चुनावी बहसमा देखिन्छ । रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि यस क्षेत्रका प्रमुख मुद्दा हुन् ।

बाढी–डुबान, सुकुम्वासी समस्या र सीमा क्षेत्रसँग जोडिएका सवालहरू पनि मतदाताको चासोमा पर्छन् । यस पटक नेपाली काँग्रेसबाट नरनारायण शाह (मनु) उम्मेदवार बनेका छन् । पार्टीभित्र रणनीतिक योजनाकारका रूपमा परिचित शाहले विगतमा विभिन्न चुनावमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूको चुनावी रणनीतिमा संलग्न रहँदै आएका व्यक्ति मानिन्छन् ।

काँग्रेसले यस क्षेत्रमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएको छ । शाहले घरदैलो अभियानमा ‘स्थानीय आवश्यकता अनुसार विकास, युवालाई रोजगारी र कृषिमा आधुनिकीकरण’ प्राथमिकता हुने बताए । पार्टीका स्थानीय कार्यकर्ताहरू मतदाताको भरोसा काँग्रेसतर्फ फर्काउने प्रयासमा छन् ।

नेपाली काँग्रेससँगै नेकपा एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम आले मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्द चन्द लगायतका दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय छन् । नेकपा एमालेले ‘स्थिर सरकार र विकासको निरन्तरता’लाई मुख्य एजेन्डा बनाएको छ । एमालेका कार्यकर्ताहरूले विगतका सरकारका उपलब्धि र पूर्वाधार निर्माणका योजनालाई मतदातामाझ प्रस्तुत गरिरहेका छन् ।
नेकपाले सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र परिवर्तनको एजेन्डालाई जोड दिएको छ ।

जनयुद्धपछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने र स्थानीय तहमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता माओवादी उम्मेदवारहरूले दोहो¥याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र सुशासनको मुद्दा उठाएको छ । परम्परागत दलप्रति असन्तुष्टि व्यक्त गर्ने मतदातालाई लक्षित गर्दै स्वतन्त्र पार्टीले युवा पुस्तामा प्रभाव पार्ने प्रयास गरिरहेको देखिन्छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका नारदमुनि राना निर्वाचित भएका थिए । २७ हजार दुई सय दुई मत प्राप्त गरेका रानाले नेपाली काँग्रेस उम्मेदवार आरजु राणा देउवालाई पराजय गरेका थिए । आरजुले २२ हजार तीन सय २२ मत प्राप्त गरेकी थिइन ।
नेपाली काँग्रेसले यसअघि २०७० सालमा आफनो पक्षमा मत प्राप्त गरेको थियो । त्यसयता यसलाई काँग्रेसको गढ मानिन्थ्यो ।

तर, २०७४ मा पराजय व्यहोरेपछि २०७९ सालको निर्वाचनमा पुनः काँग्रेस उम्मेदवार विजयी भएका थिए । नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्त २१ हजार तीन सय १२ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले २० हजार तीन सय १८ मत प्राप्त गरेका थिए । मनु पुनः काँग्रेसलाई यस क्षेत्रमा आफनो पकड राख्न स्वतन्त्र उम्मेदवारसहित १५ जना प्रतिस्पर्धीसँग चुनावी मैदानमा छन् । ठूला दलसँगै साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि सक्रिय छन् ।

बहुदलीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना बढाएको विश्लेषकहरू बताउँछन् । राजनीतिज्ञ नृपबहादुर सुनार भन्छन् कैलाली–५ मा मतपरिणाम सानो मतान्तरले निर्धारण हुन सक्छ । ‘यहाँ कुनै एक दलको एकाधिकार छैन । संगठन, उम्मेदवारको व्यक्तिगत छवि र स्थानीय मुद्दामा आधारित अभियानले निर्णायक भूमिका खेल्न सक्छ ।’

स्थानीय मतदातासँग कुरा गर्दा उनीहरू विकास र रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । धनगढी–१३ की सिता रानाको विवाह भारतमा भएको छ । उनी मतदान गर्न धनगढी पुगेकी छिन् । उनले भनिन्, ‘हामीलाई सडक, खानेपानी र अस्पतालको सुविधा चाहिएको छ । नेताहरू चुनावअघि धेरै वाचा गर्छन्, तर पछि बिर्सिन्छन् ।’

युवा मतदातामा रोजगारी र वैदेशिक पलायनको मुद्दा प्रमुख छ । धेरै युवाहरू रोजगारीको अभावमा विदेश गएका छन् । ‘हामीलाई यहाँ नै अवसर चाहिन्छ,’ उनले भनिन्, ‘नेता जो आए पनि युवाको भविष्यबारे स्पष्ट योजना ल्याउनुपर्छ ।’ तर, मतदातामा अविश्वासको भाव पनि देखिन्छ । विगतका प्रतिनिधिहरूले अपेक्षाअनुसार काम नगरेको गुनासो सुनिन्छ ।

त्यसैले यस पटक मतदाता अझै निर्णयमा पुग्न हतारिएका छैनन् । फागुन २१ नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी चहलपहल अझ बढ्ने निश्चित छ । तर मतदाता अझै सोचविचारमै छन् । रोइले थापाजस्तै धेरै मतदाता भन्छन्, ‘अझै समय छ, सबैको कुरा सुनेर निर्णय गर्छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार