रैथाने खानाको परिकारसम्बन्धी ‘द लेखाली कुकबुक’ विमोचन



काठमाडौँ ।

हिमाली आदिवासी जातिको रैथाने खानाको स्वाद समेटिएको ‘द लेखाली कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ ।आज आयोजित एक समारोहमा पुस्तकका लेखक बिन्ती गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, इतिहासकार टेकबहादुर गुरुङ तथा ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक रुष्टम मोदीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

लेखक बिन्ती गुरुङले रैथाने खानासम्बन्धी सीप र ज्ञान लिखित रूपमा दस्तावेजीकरण कमै भएको र त्यसमा पनि अरूले लेख्दा कतिपय अवस्थामा तथ्यगत त्रुटि हुने गरेको उल्लेख गरे । उनका अनुसार पुस्तकमा हिमाली भेगका परिकार बनाउने विधिमात्र नभई त्यहाँका उक्त क्षेत्रको जीवनशैलीसमेत प्रस्तुत गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई सँगसँगै अगाडि बढाउने अभ्यासको आवश्यकता औँल्याए । खानाका परिकार कुनै जातिको पहिचानसँगै जोडिने भएकाले यो पुस्तक महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । कार्यक्रममा इतिहासकार टेकबहादुर गुरुङले विश्वव्यापीकरण र सहरीकरणका कारण मानिसको जीवनशैली परिवर्तन हुँदै जाँदा परम्परागत अभ्यास र पहिचान हराउँदै गएको बताए।

उनले यस पुस्तकले आदिवासी जनजातिको रैथाने खानाको पहिचान विश्वमाझ पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । बज्र प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा गण्डकी क्षेत्रमा बसोबास गर्ने गुरुङ र थकाली समुदायका विशेष परिकारहरू समावेश छन् । जस्तै ‘कर्कलाको चोबा’, ‘जिम्बु प्ला’, ‘भो मुरु खु’, ‘तोन्रा खीर’, ‘धाप्रा खु’ लगायत ४० भन्दा बढी परिकार बनाउने विधि फोटो र इतिहाससहित समावेश छन् । मनाङ, लमजुङ, गोरखा र मनाङ गरी चारवटा जिल्लामा खाइने आदिवासी रैथाने खाना समावेश गरिएका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार