गणेश रावत । कोेहलपुर ।
अव्यवस्थित पार्किङका कारण अहिले कोहलपुर चौराह कोहलपुरको अर्काे नयाँ बसपार्कको रूपमा परिणत हुँदैछ । तीन प्रदेशको केन्द्रबिन्दु रहेको चौराह अहिले अव्यवस्थित पार्किङले अर्काे नयाँ बसपार्क बन्न थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय र नगर प्रहरी खटिए पनि चौराहमा पार्किङ व्यवस्थापन हुन सकेको छैन् । जसका कारण अहिले अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
गएको असोज महिनामा यातायात व्यवसायी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुर र नगर प्रहरीले संयुक्त रूपमा कोहलपुर चौराह क्षेत्र वरिपरि सवारीसाधनलाई यात्रु झार्न र चढाउन रोक लगाएका थिए । चौराहदेखि पूर्व, पश्चिम, उत्तर र दक्षिणको पाँच सय मिटरसम्ममा सवारीसाधन पार्किङका साथै यात्रु झार्न र यात्रु चढाउन रोक लगाइएको केही दिनसम्म ट्राफिक व्यवस्थापनमा सुधार भयो ।
तर, त्यसको दुई महिना नबित्दै पुनः कोहलपुर चौराह क्षेत्रमा अव्यवस्थित पार्किङ हुन थालेको छ । अहिले ‘पार्किङ निषेध’ लेखिएका बोर्डहरू चौराह क्षेत्रहरूमा राखिएका ठाउँमा सवारीसाधनहरू अव्यवस्थित रूपमा पार्किङ गर्ने थालेका देखिन्छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले केही वर्षअघि मुख्य चोकहरूबाट कम्तीमा एक किलोमिटर वरपर सवारीसाधन पार्किङ नगर्न र रोकेर यात्रु झार्ने चढाउने गर्न नमिल्ने भन्दै गरेको निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार चौराहमा ‘पार्किङ निषेध’ क्षेत्रमा केही दिन पार्किङ शून्य भए पनि सवारीसाधनहरू पुनः अव्यवस्थित पार्किङ गर्न थालेका छन् । प्रशासनले गरेको निर्णयको सवारीसाधन चालकले पालना नगर्दा कोहलपुरमा जथाभावी सवारीसाधन रोक्नेर यात्रु चढाउने र झार्ने गर्नाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बताए । उनले चौराह क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न हरप्रयास गर्दा पनि सफल हुन नसकेको बताए ।
ट्राफिक व्यवस्थापन गर्न अभियान थालेपनि केही दिन लागू भएको बताउँदै उनले ट्राफिक प्रहरीको फितलो व्यवस्थापनले पुनः पहिलेको अवस्थामा पुगेको आरोप लगाए । ‘हामीले ‘पार्किङ निषेध’ अभियान चलाएको केही दिन ट्राफिक व्यवस्थापन भयो,’ उनले भने, ‘अहिले पुनः पहिलेको अवस्थामा पुग्न थालेको छ । चौराहलाई कोहलपुरको अर्काे बसपार्क बनाएका छन् । यसमा हामीले भन्दा पनि नियमन निकायले कडा कारबाही गरेर व्यवस्थापन गर्न जरुरी देखिन्छ ।’
यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन गर्न केही समयअघि चौराहको पूर्व, पश्चिम, उत्तर र दक्षिणको सडकखण्डमा ‘पार्किङ निषेध’ लेखिएका बोर्डहरू राखेर कोहलपुर नगरपालिका, यातायात व्यवसायी, ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा अव्यवस्थित पार्किङ क्षेत्र निषेधित गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै दुःख उनले व्यक्त गरे ।
चौराहमा दिनरात ट्राफिक प्रहरी खटिएर सवारीसाधनले ट्राफिक नियम उल्लङ्घन गरे कारबाही गर्ने काम कडाइका साथ गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनकबहादुर शाहीले मिसन टुडेलाई जानकारी दिए । तर, सवारी चालकहरू चौराहदेखि लस्करै गाडी रोक्दै यात्रुलाई चढाउने र ओराल्ने गर्ने भएकाले ट्राफिक प्रहरीले लखेट्दै हिँड्न नसक्ने उनको भनाइ छ ।
ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी एक्लैले सम्भवना नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । विगतको भन्दा अहिले पछिल्लो समय क्रमशः कोहलपुर चौराह क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै आएको उनी बताउँछन् ।
‘चौराहमा ट्राफिक व्यवस्थापन गर्ने दायित्व हामीले पूरा गरेका छौँ,’ उनले भने, ‘तर, हामी सवारीसाधन लखेट्दै हिँड्न सक्दैनौँ ।’ सवारीसाधन चालकहरूले स्वयम् आफँै सचेत भएर ट्राफिक नियम पालना गरे ट्राफिक व्यवस्थापन आफँै हुने उनी बताउँछन् । ट्राफिक प्रहरीले कोहलपुर क्षेत्रमा मात्र नभइ बाँके जिल्लामा ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको उनले बताए ।








प्रतिक्रिया दिनुहोस्