टीकापुर साहित्य महोत्सव थारू विशेष बनाइने



नेपालगन्ज ।

कैलालीको टीकापुरमा आयोजना हुँदै आएको टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणलाई ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष बनाइने भएको छ । आगामी चैत १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवको तेस्रो संस्करणलाई थारू साहित्य तथा संस्कृतिलाई मूल विषय बनाएर सञ्चालन गरिन लागिएको महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी दिएका छन् ।

गत वर्ष भएको महोत्सवको दोस्रो संस्करण नाटककार पहलमानसिंह स्वार विशेष बनाइएको थियो । जम्मा एक एक घण्टा समयका २१ सत्रमा बहस गरिने महोत्सवमा प्रत्येक दिन सात बहस सत्र सञ्चालन हुने शाहले बताएका छन् । महोत्सव उद्घाटनमा १३ चैतमा भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचन रहने पनि शाहले बताए।

थारू बाहुल्य क्षेत्रको सहरमा हुन लागेको महोत्सवमा थारू भाषा, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य लिइएको संयोजक शाहले जानकारी दिए । थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोक साहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयमाथि पनि सम्बन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकबीच छलफल, अन्तक्र्रिया र बहस हुने जानकारी दिइएको छ ।

चार शृङ्खलाहरूमा विभाजन गरिएको महोत्सवको आकर्षक कार्यक्रमका रूपमा सुदूरपश्चिम प्रदेशका सर्जकका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार रूपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने पनि शाहले बताए । महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको संग्रह पनि प्रकाशन गरिने भएको छ ।

अतिथिहरूलाई ‘उडेर, गुडेर, तैरिएर टीकापुर’लाई सार्थकता दिन र टीकापुर भेगको पर्यटन प्रवद्र्धन गर्न कर्णाली नदीमा जलविहार गराइने र महोत्सवको अघिल्लो साँझ थारू संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले ‘थारू सांस्कृतिक साँझ’ आयोजन गरिने पनि शाहले जानकारी दिएका छन् । महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार