‘हेभिवेट’ नेता खड्काले मैदान खाली गरेपछि बाजी मार्ने प्रतिस्पर्धामा नयाँ अनुहार



नन्दराम जैशी । सुर्खेत ।

तत्कालीन काँग्रेस कार्यवाहक सभापति तथा ‘हेभिवेट’ नेता पूर्णबहादुर खड्काले मैदान खाली गरेपछि सुर्खेत–१ निर्वाचन क्षेत्रमा नयाँ अनुहारहरुबीच बाजी मार्ने प्रतिस्पर्धा चलेको छ । देशको राजनीति र नेपाली काँग्रेस पार्टीको निर्णयमा लामो समयदेखि राम्रो प्रभाव पार्दै आएका तथा राम्रो जनसमर्थन र संगठनात्मक शक्ति भएका नेता खड्काको निर्वाचन क्षेत्रमा नयाँ अनुहारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। यो निर्वाचन क्षेत्र काँग्रेसका नेता खड्काले चुनाव लड्दै आएको ठाउँ हो ।

२०४८ देखि चुनाव लड्दै आएका उनी अहिलेसम्म जम्मा दुईपटक चुनाव लडेका छैनन् । पहिलोपटक उनी २०६४ मा र दोस्रोपटक अहिले (२०८२)को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी प्रतिस्पर्धामा छैनन् । खड्काले यो क्षेत्रबाट ०४८, ०५१, ०५६, ०७०, ०७९ गरी पाँचपटक निर्वाचन जितिसकेका छन् । खड्काले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आफू समानुपातिक कोटामा बसेर पार्टीकै नेता लालबहादुर घलेलाई चुनावी मैदानमा पठाएका थिए ।

त्यो बेला नेकपा (एमाले)की कमला शर्माले यो क्षेत्रबाट कम्युनिस्टको नाममा पहिलो जित दर्ता गरेकी थिइन् । यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गर्दै नेता खड्का यो निर्वाचित क्षेत्रबाट चौथोपटक निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमालेबीच गठबन्धन हुँदा एमालेका ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

खड्काले यो निर्वाचन क्षेत्रबाट पहिलोपटक र काँग्रेसले दोस्रोपटक हार व्यहोरेका थिए । २०४८ यता सुर्खेत–१ मा प्रतिनिधिसभातर्फका सात निर्वाचनमध्ये दुई निर्वाचनमा एमालेले जितेको छ भने बाँकी पाँच निर्वाचन काँग्रेसले जितेको छ । नेकपा एमालेले उम्मेदवारहरू अदलबदल गरिरहेको छ भने काँग्रेसबाट खड्का निरन्तर लड्दै आएका थिए । त्यसैगरी २०७९ को निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो । त्यतिबेला काँगे्रसका तत्कालीन पार्टी उपसभापति उनै खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका थिए भने एमालेका ध्रुवकुमार शाही पराजित भएका थिए ।

यसरी हेर्दा सुर्खेत–१ मा २०६४ बाहेक अरू सबै निर्वाचनमा काँग्रेस नै बलियो देखिँदै आएको छ । ०६४ को निर्वाचनमा एमालेका ध्रुवकुमार शाही तत्कालीन माओवादी केन्द्रको समर्थनमा विजयी भएका थिए भने ०७९ को निर्वाचनमा काँग्रेसका खड्का माओवादी केन्द्रकै समर्थनमा विजयी भएका थिए । यो क्षेत्रमा पूर्वमाओवादी धारका मतदाताले ०७४ र ०७९ का निर्वाचनदेखि आफ्ना उम्मेदवार र चुनाव चिह्नमा भोट हाल्न पाएका छैनन् ।

१३ जनाबीच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ मा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसबाट नेता खड्काका सहोदर भाइ विष्णुबहादुर खड्का, एमालेबाट ध्रुवकुमार शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जितबहादुर राना छन् । एमालेका शाही अहिले तेस्रोपटक चुनावी मैदानमा छन् भने काँग्रेसका विष्णु र नेकपाका राना भने नयाँ अनुहार हुन् ।

यस्तै नयाँ अनुहारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा (माओवादी)बाट हिरू शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा प्रतिस्पर्धामा छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेन्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढामगर चुनावी मैदानमा छन् ।

उज्यालो नेपालका विष्ट ०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचित सांसद हुन् भने उनी पछि माओवादी केन्द्रबाट विद्रोह गरी सांसद पद हुँदा नै एमालेमा प्रवेश गरेका थिए । तत्कालीन एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचन हारेपश्चात् अहिले कुलमान घिसिङको पार्टी (उनेपा)बाट उनी चुनावी मैदानमा छन् ।

यस्तै रास्वपाका सिंह नेपाली काँग्रेसबाट विद्रोह गरी रास्वपामा प्रवेश गरेका व्यक्ति हुन् । उनी नेपाली काँग्रेसको जिल्ला उपसभापति र ०६४ को निर्वाचनमा प्रदेशसभा सदस्य उमेदवार भइसकेका व्यक्ति हुन् । यता राप्रपाका हमाल कुनै बेला बाबुरामनिकट मानिन्थे भने अहिले राप्रपाका केन्द्रीय सदस्य र जेनजी आन्दोलनबाट चर्चामा आएका व्यक्ति हुन् ।

यसपटक काँग्रेसका तर्फबाट उम्मेदवार बनेका विष्णु खड्का नेपाली काँग्रेस सुर्खेत जिल्ला उससभापतिसमेत हुन् । पञ्चायतकालदेखि नै राजनीतिमा आबद्ध खड्का दाजु पूर्णबहादुरको राजनीतिलाई सहयोग गर्न व्यापारिक लाइनमा लागेका थिए । काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपश्चात् सुर्खेत–१ बाट पूर्णबहादुरको एकल नाम सिफारिसमा परेको थियो ।

तर आफूले विशेष महाधिवेशन गलत भएको भनी अदालतमा रिट दर्ता गराइसकेको अवस्थामा उही नेतृत्वको हस्ताक्षर भएको टिकटबाट निर्वाचन नलड्ने उनले घोषणा गरेका थिए । पूर्णबहादुरको ठाउँमा सभापति थापाले पार्टीको सुर्खेत जिल्ला उपसभापतिसमेत रहेका विष्णुलाई टिकट दिएका हुन् । एमालेका शाही भने २०५४ मा एमालेका तर्फबाट गाविस अध्यक्ष हुँदै २०७१ मा सुर्खेत एमालेको जिल्ला पार्टी अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

उनी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका उनी २०७९ मा पराजित भए । यो क्षेत्रमा प्रत्यक्षतर्फ २०७४ देखि २०७९ सम्म आफ्नो उम्मेदवार नपाएको तत्कालीन माओवादी केन्द्र र अहिलेको नेकपाले नौ वर्षपछि आफ्नै उम्मेदवार लडाकु पृष्ठभूमिका जितबहादुर रानालाई उठाएको छ । राना माओवादीको भूमिगत राजनीतिबाट उदाएका नेता हुन् । रास्वपा उम्मेदवार टेकबहादुर सिंह काँग्रेस पृष्ठभूमिका नेता हुन् । ०७४ को निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्य चिर्वाचन लडेका नेता सिंह नेपाली काँग्रेसको सुर्खेत जिल्ला उपसभापतिसम्म भइसकेका व्यक्ति हुन् । अहिले भने उनी रास्वपाबाट चुनावी मैदानमा छन् ।

यस्तो छ २०७९ को मतभार

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको समर्थन पाएका काँग्रेसका तत्कालीन उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दै एमालेका शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका थिए । शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए । शाही र खड्काको यो दोस्रोपटकको प्रतिस्पर्धा थियो ।

२०७४ मा बेला माओवादी केन्द्रको समर्थन पाएर निर्वाचित भएका शाही ०७९ मा आउँदा माओवादी केन्द्रले काँग्रेसलाई समर्थन गर्दा पराजित भएका थिए । यस्तै २०७९ को निर्वाचनमा रास्वपाका मोहम्मद असरत अलीले ८९७ मात्र मत प्राप्त गरेका थिए भने राप्रपाका छत्रपति थापा क्षेत्रीले ६५३ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै ०७९ को प्रतिनिधिसभा निर्वाचनमा काँगे्रस र माओवादी केन्द्रबीच गठबन्धन भए पनि समानुपातिक मत भने आफ्ना÷आफ्ना पार्टीलाई दिने सहमति गरेका थिए । समानुपातिक मतभारका आधारमा भने यो निर्वाचन क्षेत्रमा कुन राजनीतिक दलको मतभार कति भन्ने आकलन गर्न सकिन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ यो निर्वाचन क्षेत्रमा काँग्रसेको सबैभन्दा बढी मत थियो भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो थिए ।

काँग्रेसले ३३ हजार ६०८, एमालेले २९ हजार ६८७, माओवादी केन्द्रले ६ हजार ४३१ मत प्राप्त गरेका थिए । यसरी हेर्दा अहिले पनि काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाले दुई हजार ८१४, राप्रपाले ८८२ र राष्ट्रिय जनमोर्चाले ३८३ समानुपातिक मत प्राप्त गरेका थिए । तर पछिल्लो समय रास्वपाप्रतिको मतदाताको बढ्दो आकर्षणका कारण यो निर्वाचन रास्वपाले पनि आफ्नो पोल्टामा पार्न सक्ने आकलन छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार