हुम्ला ।
जिल्लाको लिमीमा तोकिएको समयमा आसन्न निर्वाचन गर्न सकस भएको भन्दै त्यहाँका मतदाताहरूले मिति सार्न माग गरेका छन् । जिल्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका तीनै गाउँका स्थानीय मतदाताले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति सार्न माग गरेका हुन् । जाङ गाउँका सबै मतदाता काठमाडौँमा रहेका र अन्य दुई गाउँका अधिकांश मतदाता पनि गाउँबाहिर रहेकाले हिमपातका कारण मतदानमा सहभागी हुन नसकिने अवस्था सिर्जना भएको हो ।
स्थानीयवासीले निर्वाचनको मिति सार्न माग गर्दै आएकोले तोकिएको मितिमा निर्वाचन गर्न सम्भव नरहेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार लिमी जाने नाम्खा गाउँपालिका–५ स्थित चार हजार ६७० मिटर उचाइको नारा लेक र पाँच हजार मिटर उचाइको न्यालु नाका क्षेत्रमा बाक्लो हिमपात जमेकाले हाल आवतजावत पूर्णरूपमा बन्द भएको छ । अझै पनि हिमपात पर्ने समय बाँकी रहेकाले फागुन २१ गतेअगाडि मतदाताहरू लिमी पुग्न सम्भव नरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।
‘लिमीमा स्थानीयहरूबीच बसेको अनौपचारिक बैठकले निर्वाचन आयोगसमक्ष नै निर्वाचनको मिति केही दिन पछाडि सार्न माग गर्ने सहमति गरेका छन्,’ उनले भने, ‘जाङ गाउँको मतदान केन्द्रमा हाल एकजना पनि मतदाता छैनन् भने अन्य दुई गाउँमा पनि थोरै मतदाता मात्र उपस्थित छन् । यस्तो अवस्थामा फागुन २१ गते निर्वाचन सम्पन्न गर्न कठिन छ ।’
निर्वाचनको मिति सार्न वा अन्य वैकल्पिक व्यवस्था गर्न लिमीवासीको साझा माग रहेको उनले जानकारी दिए । लिमीका तीन मतदान केन्द्रमध्ये भृकुटी प्राथमिक विद्यालय मतदान केन्द्रमा २४७ जना, हिमशिखर प्राथमिक विद्यालय (तील) मतदान केन्द्रमा १३२ जना र सुनखनी प्राथमिक विद्यालय हल्जी मतदान केन्द्रमा २९३ जना मतदाता रहेका छन् ।
तीनै मतदान केन्द्र गरी जम्मा ६७२ जना मतदाता रहेका भए पनि हाल गाउँमा करिब २० दशमलव ८८ प्रतिशत मतदाता मात्र उपस्थित रहने अनुमान गरिएको छ । नाम्खा गाउँपालिकाका अन्य क्षेत्र पनि हिमपातबाट प्रभावित भए पनि लिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । उनका अनुसार यस समस्याबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । तर आयोगबाट निर्णय आउन बाँकी रहेको र जस्तो निर्णय आए पनि कार्यान्वयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्