काठमाडौँ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिए ।
त्यसका लागि भअल।अयअ२भभिअतष्यल।नयख।लउ मा इमेलमा उजुरी पठाउन सकिने र त्यसरी उजुरी गर्नेको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने उनले बताए । जिल्ला आचारसंहिता अनुगमन समितिले समेत जिल्ला–जिल्लामा यस्ता अलग्गै इमेलको व्यवस्था गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारीअन्तर्गत गत हप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र जिइओसी स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकार भएकाहरूका जिज्ञासा सम्बोधनलगायत कार्यसम्पादन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन
निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही माघ ११ गते केन्द्रको उद्घाटन गरेका थिए । आयोगका सचिवको संयोजकत्वमा सञ्चालन भएको सो केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ ।
केन्द्रले निर्वाचन सम्बन्धमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरबाट प्राप्त सूचना विश्लेषण र समस्याहरू पहिचान गरी समाधानका लागि सहजीकरण गरिरहेको जनाइएको छ ।
तोकियो जिल्ला आचारसंहिता अनुगमन अधिकृत
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेक अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न जिम्मेवारी दिइएको हो ।
यसरी जिम्मेवारी दिइएको आचारसंहिता अनुमगन अधिकृतहरूले सरोकार भएकाहरूलाई आचारसंहिताबारे जानकारी गराउने काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैगरी आचारसंहिता पालनाका लागि प्रतिबद्धता गराउने, जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकार भएकाहरूबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता पालना भए, नभएकाबारे अनुगमन गर्ने, प्राप्त उजुरी तथा सूचनाका आधारमा सम्बन्धित व्यक्ति÷संस्थालाई स्पष्टीकरण सोध्नेलगायत कार्य भइरहेका आयोगका प्रवक्ता भट्टराईले बताए ।
उम्मेदवारका लागि बैङ्क खाता
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति र राजनीतिक दलहरूलाई निर्वाचन खर्च प्रयोजनाका लागि छुट्टै बैङ्क खाता सञ्चालनको व्यवस्था गरेको छ । त्यस लागि नेपाल राष्ट्र बैङ्कलाई पत्राचार र निर्वाचन अभियान बैङ्क खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि तर्जुमा गरिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड ९ख० बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन अभियानका क्रममा गर्ने आम्दानी र खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्क तथा वित्तीय संस्थामा राजनीतिक दल तथा उम्मेदवारले अलग–अलग खाता खोलेर त्यसमार्फत रकम प्राप्त गर्ने र खर्च गर्ने व्यवस्था गरिएको जनाइएको छ ।
खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धमा ‘निर्वाचन अभियान बैङ्क खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२’ तयार गरी सोहीअनुसार सहजीकरणका लागि राष्ट्र बैङ्कमा पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताए । केन्द्रीय आचारसंहिता अनुमगन समितिले दल तथा उम्मेदवारका क्रियाकलाप नजिकबाट हेरिरहेको जनाएको छ ।
प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाइएको पनि आयोगले जनाएको छ । समितिमा हालसम्म प्राप्त भएका २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा १२ वटाको जवाफ प्राप्त भएको जनाइएको छ । समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनका क्रममा रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्