जेनजी आन्दोलनका घाइते पवन पाँच महिनापछि घर फर्के



कालीकोट ।

जेनजी आन्दोलनमा गोली लागेर सख्त घाइते भएका कालीकोटका पवन शाही पाँच महिनापछि घर फर्केका छन् । शुक्रबार घर पुगेका उनलाई गृहजिल्लामा भव्य स्वागत समेत गरिएको छ । खाडाचक्र नगरपालिका–१ का २५ वर्षीय पवन गत भदौ २३ गते काठमाडौँमा भएको आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए ।

काठमाडौँमा उपचार गरेर पाँच महिनापछि उनी घर फर्केका हुन् । उनलाई मान्म बजारका स्थानीयले बाजागाजा, फूलमाला, खादाअबिरले भव्य स्वागत गरेका थिए । आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेका पवन फुटबल खेलाडी हुन् । उनी काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गरेर शुक्रबार कालीकोट पुगेका छन् ।

उनका बुवा ऐनबहादुर शाहीका अनुसार पवन शुक्रबार सुर्खेत हुँदै कालीकोटको मान्म पुगेपछि जिल्लाका राजनीतिक दलका नेता कार्यकर्ता, मान्म, ताडीलगायतका आफन्तसहित बजारबासीले खुसी साट्दै स्वागत गरेका हुन् ।

उनी पनि भलिबलका पूर्वराष्ट्रिय खेलाडी हुन् । जेनजी आन्दोलनका घाइते शाहीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको बन्दसूचीमा राखेको छ । उनले कालीकोटवासीसँग भेटघाट गर्न र भोट माग्न जिल्ला फर्किएको जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार