कालीकोट ।
जिल्लामा अवस्थित फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरु गर्न स्थानीयले माग गरेका छन् । यस विषयमा स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएका छन् । आयोजना निर्माण कार्य लामो समयदेखि रोकिएको भन्दै स्थानीयले प्रशासनमार्फत निर्माण कम्पनीको ध्यानाकर्षण गराएका हुन् ।
विद्युत् उत्पादन कम्पनीले २०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट अनुमति लिएर काम सुरु गरेको थियो । यो आयोजना निर्माणपश्चात् ४८० मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । तर आयोजनाको काम दुई वर्षयता ठप्प छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने सम्झौता गरेपछि अदालतमा मुद्दा परेका कारण आयोजना निर्माणको काम रोकिएको थियो ।
तर मुद्दा खारेज भए पनि कम्पनीले काम सुरु नगरेको भन्दै स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका हुन् । यता प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले अदालतको फैसलाको पूर्ण पाठ नआएको र ५१ प्रतिशत सेयर लिएको भारतीय एनएचपिसी इन्डिया लिमिटेडको कम्पनीले पनि काम सुरु नगर्दा आयोजना प्रभावित बनेको बताए । नेपाल र भारतीय कम्पनीबिच केही अन्योलका विषयमा प्रस्ट भएपछि बल्ल काम अगाडि बढ्ने सूचना आफूले पाएको उनको भनाइ छ ।
आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नीत्रिवेणी गाउँपालिका–३ मा पर्छ भने बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका–११ मा पर्छ । मुख्य बाँधको उचाइ जगदेखि १६० मिटर तथा नदीको पिँधको स्तरबाट १०९ मिटर रहेको आयोजनाको अध्ययन प्रतिवेदनमा उल्लेख छ । बाँधको माथिल्लो भागको लम्बाइ ३१३ मिटर र चौडाइ १० मिटर हुनेछ ।
आयोजना निर्माणका लागि भने जग्गा अधिग्रहण भइसकेको छ । ४५ करोड रूपैयाँँ बढी मुआब्जामा खर्च भएको हो । आयोजना निर्माणका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुनेछ । धेरैजसो जग्गा अधिग्रहण भइसकेको छ । तर काम भने अझै अघि बढ्न सकेको छैन ।
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–३, सिस्नेगाडामा ५२० मिटरको परीक्षण सुरुङ खनेर १६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सान्नीत्रिवेणी–१ को भौतेगडामा निर्माण हुने विद्युत् आयोजनामा जोड्ने योजना छ ।
आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । भारतीय कम्पनीलाई दिन नहुने भन्दै परेको मुद्दा खारेज भएपछि आयोजनाको काम अघि बढ्ने बाटो खुलेको छ । तर काम भने अझै सुरु भएको छैन । आयोजनामा ९२ अर्ब रूपैयाँँ लागत लाग्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्