कैलाली ।
भजनी नगरपालिका, कैलालीले नगर क्षेत्रमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका किसानहरूलाई लक्षित गर्दै ‘किसान परिचयपत्र (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ लागू गरेको छ । पुसमा बसेको नगर सभाले पारित गरेको कार्यविधि राजपत्रमा प्रकाशित भएसंगै लागु गरिएको हो ।
यस कार्यविधिको उद्देश्य नगरपालिकामा बसोबास गर्ने वास्तविक किसानहरूलाई पहिचान गरी उनीहरूलाई उपलब्ध हुने कृषि अनुदान, सेवा तथा सुविधामा सहज र पारदर्शी पहुँच सुनिश्चित गर्नु रहेको नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) तथा भजनी नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७४ को दफा ३६ बमोजिम तयार गरिएको उक्त कार्यविधिले किसानको हक–अधिकारको संरक्षण गर्नुका साथै कृषि क्षेत्रमा हुने सरकारी लगानीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नगरपालिकाका अनुसार हालसम्म कृषि अनुदान तथा कार्यक्रमहरूमा वास्तविक किसानभन्दा गैर–किसानको पहुँच बढ्दै गएको गुनासो आइरहेको थियो । किसान परिचयपत्रको व्यवस्था लागू भएपछि भने आधिकारिक रूपमा दर्ता भएका किसानहरूले मात्र नगरपालिकामार्फत तथा संघ–संस्थाबाट वितरण हुने कृषि अनुदान, बीउबिजन, मल, औजार तथा प्रविधिमा प्राथमिकता पाउनेछन् ।
कार्यविधिअनुसार भजनी नगरपालिकाभित्र कृषि, पशुपालन, तरकारी खेती, फलफूल खेती, माछापालन लगायतका कृषि व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएपछि किसान परिचयपत्र प्रदान गरिनेछ । किसान परिचयपत्र वितरण तथा नवीकरणको जिम्मेवारी नगरपालिकाको कृषि शाखालाई दिइएको छ ।
नगरपालिकाले किसान परिचयपत्रलाई डिजिटल अभिलेख प्रणालीसँग समेत जोड्ने तयारी गरिरहेको जनाएको छ । यसले गर्दा किसानको तथ्यांक अद्यावधिक गर्न, योजना छनोट गर्न तथा कृषि कार्यक्रमको अनुगमन गर्न सहज हुने विश्वास लिइएको छ । भजनी नगरपालिकाका नगरप्रमुख अध्यक्षता समिति गठन गरि किसान परिचयपत्र प्रणालीले ‘किसानको पहिचान स्थापित गर्ने, अनुदानमा पारदर्शिता ल्याउने र कृषि क्षेत्रलाई व्यवस्थित बनाउने’ कार्यविधिमा उल्लेख छ ।
नगरपालिकाले आगामी दिनमा किसान परिचयपत्रलाई कृषि बीमा, सहुलियत ऋण, तालिम तथा बजार व्यवस्थापनसँग समेत जोड्दै लैजाने योजना बनाएको छ । यस कार्यविधिले भजनी नगरपालिकामा कृषि व्यवसायलाई प्रोत्साहन गर्ने र किसानको जीवनस्तर सुधारमा टेवा पु¥याउने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्